धुलाबारीमा आयोजित विराट सत्संग आजबाट सुरु « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

धुलाबारीमा आयोजित विराट सत्संग आजबाट सुरु


यलम्वर टाइम्स
२३ फाल्गुन २०७५, बिहीबार ०६:५७

फाइल फोटो

धुलाबारी । झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने भनिएको विराट सत्संग समारोह आज –बिहीबार) बाट सुरु भएको छ ।

बिहान शोभायात्रा गर्दै धुलाबारीको नन्दागंगा नदी तटमा सुरु भएको समारोह भोली २४ गते शुक्रबारसम्म हुने छ ।

समारोहमा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

समारोह स्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिइन् ।

समारोहलाई व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिले काम गरिरहेको आयोजक नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले बताए ।

‘समारोहमा सहभागी हुन देशविदेशका भक्तजन आउने क्रम शुरू भइसकेको छ, स्वयंसेवकहरूले विगत एक महिनादेखि तयारी गरिरहेका छन्,’ उनले भने ।

समारोहमा टाढाटाढाबाट आएका भक्तजनलाई खानपान र बसोबासको व्यवस्था गरिएको छ भने स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समारोहकै क्रममा धुलाबारीस्थित श्रद्धेय आश्रमको भवन प्रवेश समेत गरिने छ । भवन प्रवेशका क्रममा १३ जना ब्राह्मणबाट यज्ञ हवन समेत गरिने छ ।

स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन् ।

कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ ।