थ्री स्टारलाई ट्राइब्रेकरमा रोक्दै झापा मगमग झापा गोल्डकपको फाइनलमा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

थ्री स्टारलाई ट्राइब्रेकरमा रोक्दै झापा मगमग झापा गोल्डकपको फाइनलमा


यलम्वर टाइम्स
२५ फाल्गुन २०७५, शनिबार ०१:३४

बिर्तामोड । मगमग झापा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा आयोजक झापा बिजयी भएको छ ।

झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ ।

झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यद्यपी झापाले हालसम्म उपाधी रक्षा भने गर्न सकेको छैन ।

निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो । थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो ।

टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सकेका थिए । बुद्ध लिम्बुको प्रहार रोकियो भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरियो ।

झापाका हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए भने पुजन उपरकोटी, देबेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गरका थिए ।

खेलको २० औं मिनेटमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गरेको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

८२ औं मिनेटमा काजिम बुखासरीको हेडर बार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।

थ्री स्टारका सुशिल राईले मिलाएको पासलाई अजयी मार्टिनले डि बक्सबाट गरेको हेडर बाहिरियो ।

गोलरक्षक दिनेश थापामगर बीट भइसकेको अवस्थामा ३० औं मिनेटमा शुसिल राइको हेडर झापाका मिड दिलेन लोक्तामले जोगाए । ७३ औं मिनेटमा अजय मार्टिनको कडा प्रहार बारमा लागेर फर्कियो ।

खेलको म्यान अफ द म्याच मगमग झापा ११ का गोलरक्षक दिनेश थापामगर घोषित भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबारको अन्तिम सेमीफाईनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ ।

बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका देवेन निरौलाले पाएका छन् ।

टिकट काटेर खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्र बाट निरौलाले टेलिभिजन हात पारेका हुन् ।

जितपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापाका प्रशिक्षक प्रवेश कटवालले नतिजाप्रति सन्तोष ब्यक्त गरे । मार्क गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको उनले बताए । फाइनलमा आउने टीम हेरेर नयाँ रणनीति बनाउने उनले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा स्कोर गर्न नसक्दा हार ब्यहोर्नुपरेको बताए । उनले दर्शकले उत्कृष्ट खेल हेर्न पाएको भन्दै खेल व्यवस्थापनको प्रशंसा समेत गरे ।