चैत २८ बाट ‘मेची नेत्रालय मेचीनगर गोल्डकप’ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

चैत २८ बाट ‘मेची नेत्रालय मेचीनगर गोल्डकप’


यलम्वर टाइम्स
२५ फाल्गुन २०७५, शनिबार ०१:४२

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा गोल्डकप आयोजक समितिले चौथो संस्करणको तयारी सुरु गरेको छ ।

गोल्डकप सम्पन्न गर्न आयोजक समितिले सरोकारवालासँग छलफल गरेको थियो । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गर्ने गोल्डकप यस वर्षदेखि ‘मेचीनगर गोल्डकप’ हुने भएको छ ।

सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतका अनुसार काँकरभिट्टामा मात्र सीमित रहेजस्तो देखिएको काँकरभिट्टा गोल्डकपलाई सिँगो मेचीनगर नगरबासीले अपनत्व महसुस गरुन् भनेर यस वर्षदेखि मेचीनगर गोल्डकप बनाइएको हो । मेचीनगर नगरपालिका गोल्डकपको संरक्षक रहेको छ ।

गोल्डकप चैत २८ गतेदेखि सुरु हुनेछ । गोल्डकपको प्रथम पुरस्कार १० लाख एक हजार रहनेछ । यस्तै, गोल्डकपको मुख्य प्रायोजक मेची नेत्रालयसँग पुनः तीन वर्षका लागि सम्झौता भएको छ ।

मेची नेत्रालयका तर्फबाट डा. शरदचन्द्र राई र सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर भइ आदान–प्रदान भयो ।

सम्झौताअनुसार मेची नेत्रालयले वार्षिक १० लाख नगदसहिद खेलाडीलाई जर्सी, खेल सामग्री उपलब्ध गराउने छ ।

सेन्टरले मेची नेत्रालयको नामबाट प्रतियोगितामा सहभागिता जनाउनेछ । यसैबीच, छलफलबाट सेन्टरका अध्यक्ष बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय मेचीनगर गोल्डकप मूल आयोजक समितिसमेत गठन भएको छ ।

छलफलमा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायत खेलप्रेमीहरुको सहभागिता थियो ।