झापा ११ लाई स्तब्ध पार्दै आर्मीले पुनः चुम्यो झापा गोल्डकपको उपाधि « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

झापा ११ लाई स्तब्ध पार्दै आर्मीले पुनः चुम्यो झापा गोल्डकपको उपाधि


यलम्वर टाइम्स
२८ फाल्गुन २०७५, मंगलवार ०५:४८

झापा । बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले उचालेको छ ।

सोमबार बिर्तामोडको डोमलाल राजवंशी रंगशालामा सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पा¥यो भने उपविजेतामै चित्त बुझाएको झापाले नगद ६ लाख ५ हजारसहित ट्रफि प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्धात्मक रुपमा भएको फाइनल खेलमा आर्मीले जीतका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो भने प्रतिउत्तरमा झापाले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो ।

पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङ फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

उनले व्यत्तिगत २ गोल गरे । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो ।

झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधी रक्षा गर्न सकेन ।

दर्शकको भरपुर समर्थन पाएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो ।

आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर झापाका दिलेन लोक्ताम घोषित हुँदै एक थान मोटरसाइकल पाए ।

बेस्टद डिफेन्स झापाकै देवेन्द्र तामाडले २१ हजार, राइजिड प्लेयर निशान्त खड्काले १५ हजार, बेस्ट कोच आर्मीका चुनबहादुर थापाले २१ हजार, बेस्ट किपर विकेश कुथुले २१ हजार र म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाडले नगद १५ हजार पाए ।

त्यस्तै, सर्वा्धिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले ३ गोल गर्दै नगद २१ हजार पाउन सफल भए ।

बेस्ट मिडफल्डर झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भए ।