भ्रामक समाचारप्रति सजग रहन जनमुक्तिको आव्हान « Yalambar Times
८ बैशाख २०८१, शनिबार

भ्रामक समाचारप्रति सजग रहन जनमुक्तिको आव्हान


यलम्वर टाइम्स
२८ फाल्गुन २०७५, मंगलवार ११:२२

काठमाण्डौ । काठमाडौंमा राष्ट्रिय जनता पार्टी नेपालको झण्डा र चिन्ह अंकित ब्यानरमा “राष्ट्रिय जनता पार्टी, नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी बीच एकता घोषणा कार्यक्रम” शिर्षकमा भएको कार्यक्रम र त्यहाँ वितरित मानध्वज ब्लोन र महेन्द्र राय यादव हस्ताक्षरित विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ ।

फागुन २५ गते पार्टी महासचिव केशव सूर्यवंशीले एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।

पार्टीका सहअध्यक्ष मानध्वज ब्लोन तामाङ, खस आर्य उपाध्यक्ष टीकाराम शर्मा र प्रादेशिक उपाध्यक्ष सोमबहादुर थिङले पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनको अभिमत, मर्म साथै पार्टी विधान विपरीत कार्य गर्दै आएकोमा पार्टी नेतृत्वबाट पटक पटक मौखिक रुपमा सचेत गराईएको थियो ।

जे एजेण्डा छ पार्टी बैठकमा ल्याउनुस् छलफल गर्न पार्टी तयार छ भनी नेतृत्वले सम्झाई रहदा समेत वेवास्ता गर्दै राजपा, नेपालकै श्रोत साधन प्रयोग गर्दै निजहरु कृयाशिल रही रहेपछि पार्टी नेतृत्वको तर्फबाट फागुन १५ गते लिखित रुपमा पार्टीले सचेत पत्र दिए पनि नसच्चिदा साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको महासचिव सूर्यवंशीले जानकारी दिए ।

उनीहरुले पार्टीलाई घात गरेको र पार्टीको नाम र झण्डा दुरुपयोग गरी राजपा नेपालसँग राष्ट्रिय जनमुक्ति पार्टी एकीकरण भएको भ्रम फैलाएको र पार्टी एकीकरण भनी दुस्प्रचार गरिनु नियोजित कार्य भएको पार्टीले आरोप लगाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ राष्ट्रिय जनमुक्ति पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनको अभिमत र विधान विपरीत आचरण गर्दै आएकोले पार्टी नेतृत्वले पटक पटक मौखिक र लिखित रुपमा समेत सचेत गराईएका पार्टी सहअध्यक्ष समेत रहेका ब्लोन, टीकाराम शर्मा र सोमबहादुर थिङसहितको केही व्यक्तिको समूह राजपा, नेपाल प्रवेश प्रकरणलाई नियोजित रुपले “दुई पार्टी बीचको एकता घोषणा कार्यक्रम” को रुपमा आयोजना गरिनु तथा विज्ञप्ति मार्फत राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय तहको ४६ जना, २९ जिल्ला समिति र आठ भातृ संगठनहरु राजपा नेपालमा समाहित भएको भन्ने अत्यन्त कपोलकल्पित, झुठो विवरण समेत उल्लेख गरी प्रचार गरिनु भ्रामक, निन्दनीय र खेदजनक छ ।

केही दलाल मनोवृत्तिका व्यक्तिहरुको समूहले पार्टीमा “घात” गरेता पनि “जनमुक्ति विचारधारा” लाई आफ्नो मार्ग निर्देशक सिद्धान्तको रुपमा लिंदै “बहुजातीय लोकतान्त्रिक समाजवाद” को मूल्य, मान्यता र लक्ष्य प्रति अडिग, अविचलित र दृढसंकल्पित रहेको र रहने भनी पार्टीले प्रष्ट पारेको छ ।

यही मिति २०७५ फागुन २४ गतेकै मिति देखि लागु हुने गरी सहअध्यक्ष मानध्वज ब्लोन, टीकाराम शर्मा (खस आर्य उपाध्यक्ष) र प्रादेशिक उपाध्यक्ष सोमबहादुर थिङलाई साधारण सदस्य समेत नरहने गरी पार्टीद्वारा निष्कासन गरी सकिएको छ । मानध्वज ब्लोन समूहले दावी गरेका कुनै पनि नेता कार्यकर्ता राजपा नेपाल प्रवेश गरेका छैनन् बरु यदि कसैको नाम निजहरुले राजपा नेपालमा दलालीका लागि दर्ता गरेका छन् भने त्यस सम्बन्धमा पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताहरुले पार्टीमा सम्पर्क गरी “सफाई” दिईसक्नु भएको छ ।

यसैबीच मिति २०७५ फागुन २२ गते जिल्ला अदालत (कैलाली) ले “टीकापुर घट्ना प्रकरण” बारे आफ्नो फैसला सुनाएपछि पक्ष, विपक्षमा भईरहेको तीव्र ध्र्रुवीकरणले मूलुकमा पुनः द्वन्दको सम्भावना र आशंका बढाएको पार्टीले बताएको छ ।

प्रेस विज्ञप्ति मार्फत सबै न्यायप्रेमी जनतामा अपील गरिएको छ कि “टीकापुर घट्ना प्रकरण” को वस्तुगत र वैज्ञानिक अवतरणका लागि अदालती बाटो नभई राजनीतिक विधि र प्रकृयालाई प्राथमिकता दिनु उपयुक्त हुन्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर र आग्रह छ ।