विरिङ : नदीजन्य सामग्री संकलनमा कतैबाट अवरोध नगर्ने « Yalambar Times
८ बैशाख २०८१, शनिबार

विरिङ : नदीजन्य सामग्री संकलनमा कतैबाट अवरोध नगर्ने


यलम्वर टाइम्स
४ चैत्र २०७५, सोमबार १०:४१

अर्जुनधारा । अर्जुनधारा वडा नम्वर १ र बुद्धशान्तिसँग जोडिएको विरिङ नदीमा नदीजन्य सामग्री संकलन गर्ने कार्यमा कतैबाट अवरोध नगर्ने भन्दै सात बुँदे सहमति भएको छ ।

हलुवागढ सामुदायिक वनको सभाहलमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेश भुजेल र खोलाधार नजिकका जनता, स्थानीय राजनीतिक दलबीच भएको गम्भीर छलफलपछि उक्त निर्णय आइतबार गरेका हुन् ।

यस अघि पनि सात बुँदे सहमति नगरपालिकामा भएतापनि कार्यान्वयन पक्ष नभएको भन्दै वडा नम्वर १ वासिहरुले विरिङ नदीमा उत्खनन् गर्ने कार्य रोकेका थिए ।

तर, आईतबार भएको छलफलले विरिङ नदी प्रभावित क्षेत्रमा जनताको मागलाई पूरा गर्न आफू बुद्धशान्तिको प्रमुख भएर पनि अर्जुनधारा वडा नम्वर १ लाई विकास कार्यमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेपछि
सहमतिको बाटो नजिक आएको स्थानीय सहभागिले बताएका छन् ।

अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले वडा नम्वर १ अन्तर्गत विरिङबाट हुने सम्भावित क्षतिलाई न्यूनिकरण गर्न नगरपालिका लागि पर्ने त्यतिमात्र होइन पानीका अभावले वडावासीहरुलाई समस्या परे पिउने पानीको व्यवस्था मिलाई दिने भनेपछि उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय सरकारबाट यस्ता सकारात्मक कार्य हुन्छ भने खोलाजन्य सामग्री उत्खनन् गर्न अवरोध पुर्याउनु नहुने बताएका थिए ।

नेकपाका प्रतिनिधि विजेन्द्र एक्तेनले विकासका कार्यमा कुनै पनि राजनीतिक दलबाट दुइ जिब्रे भएर बोल्न नहुने बताउँदै वडा नम्वर १ को विकासमा नगरको ध्यान केन्द्रीत हुन्छ भने अवरोध उत्पन्न गर्न नहुने बताउँदै सबै राजनीतिक दलको भनाई एक भएर जानुपर्ने बताए ।

नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले नगरको उन्नति र प्रगतिमा नेपाली कांग्रेस बाधक नहुने बताउँदै ठेक्का लगाउने कुरामा सबैको भावना एक हुनुपर्ने जोड दिए ।

आम भनाई आएपछि उपस्थितबाट विरिङ नदीबाट नदीजन्य सामग्री व्यवस्थापन गर्ने सम्बन्धमा सार्वजनिक सहमति जनाइएको थियो ।

सहमति अनुसार नदी क्षेत्रका खानेपानी तथा सिचाईंका मुहानहरुको संरक्षण तथा व्यवस्थापन गर्ने, नदीको अति संवेदनशील र जोखिम स्थानको पहिचान गरि प्लम वाल, जनताको तटबन्धन, बाँध निर्माण जस्ता कार्य अगाडि बढाउने । उक्त कार्यमा बुद्धशान्ति गाउँपालिकाले सहयोग गर्ने, मजदुरको सूचिकरण यथार्थ परक हुने गरि परिमार्जन गर्ने आवश्यक मापदण्ड बनाउने, आगमी दिनमा दीर्घकालिन रुपमा तटबन्धनका लागि चेक ड्याम डीपीआरको कार्य प्रारम्भ गर्ने, खोलामा आश्रित मजदुरहरुलाई यथास्थानमा कार्य गर्न अवरोध नगर्ने भनी सर्वसम्मत निर्णय गरिएको छ ।

अन्तरक्रियामा नेपाली कांग्रेसकी महिला नेतृ सरस्वती सिटौला गोले, उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल, वडा नं. १ का अध्यक्ष गजाधर खतिवडा, २ का रघुनाथ खनाल, ३ का जीवन भण्डारी, हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङ, ४ का वडाध्यक्ष दुर्गा दाहाल, ५ का ध्यानबहादुर भारती, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, राप्रपाका प्रतिनिधि खेम चापागाई, संघीय लिम्बूवानका विशाल सुब्बा, संघीय समाजवादी फोरमका आकाश राई, भक्ति कोइराला, नयन अधिकारी, खानेपानीका अध्यक्ष बीरबहादुर राई, वडा सदस्य माधव आचार्य लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यसअघि वडा नम्वर १ मा सर्वपक्षिय राजनीतिक दलबीच भएको छलफल अनुसार केही दिनअघि बुझाएको ज्ञापनपत्रमाथि गम्भीर छलफल भएको थियो ।

छलफलमा वडा सदस्य माधव आचार्यले अर्जुनधारा १ मा रहेको विरिङ खोलामा नगरपालिका (स्थानीय सरकार)को पहलमा खानेपानी र नहरको सुरक्षाको लागि जोरसखुवाको फेदमा एउटा चेक ड्यामको प्रक्रियालाई अगाडि बढाउने र खोलाको बाँधलाई वा तटबन्धन निर्माण कार्य गरेर मात्र विरिङ खोला उत्खनन् गर्ने । स्थानीय विकास निर्माणको रकम आवश्यक प्रक्रिया अनुसार काम गर्ने भनी निर्णय भएको अन्तरक्रियामा बताएका छन् ।