रामकुमार अछामेको मृत्युले सहासी बस्ती र साधुटार स्तब्ध « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

रामकुमार अछामेको मृत्युले सहासी बस्ती र साधुटार स्तब्ध


यलम्वर टाइम्स
९ चैत्र २०७५, शनिबार ०५:१२

अर्जुनधारा । चेतनाको मुख्य विन्दू शिक्षा नै हो भन्ने भावना बोकेर आफू प्रअ भएको विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलो बनाउन आहोरात्र खटिरहने एउटा तारा आज बिहान ४ः३० बजे कानेपोखरीको जंगलमा अस्ताउन पुगेका छन् ।

कुरो गणेश आधारभूत विद्यालयका प्रअ रामकुमार अछामेको हो । विद्यालयको कामले काठमाण्डौ पुगेका उनी फर्कने क्रममा शनिबार बिहान ४ः३० बजे उनी चढेको टाटा सुमो बा १७ च ७९४८ मालबाहक ट्रक ना ३ ख ६९१८ सँग ठोकिन पुग्दा घटना स्थलमै उनको मृत्यु भएको थियो ।

उनीसँग गौरादह निवासी प्रकाश मगरको पनि निधन भएको छ । २०५१ सालबाट शिक्षण पेशामा आवद्ध रामकुमार अर्जुनधारा–१ साधुटारस्थित गणेश आधारभूत विद्यालयलाई स्तरोन्नति र गाउँमा रहेर पनि प्राविधिक शिक्षा प्रदान गर्न उनको ठूलो भूमिका रहेको थियो ।

विद्यालयको भवन निर्माणका लागि जापानीज नागरिकसँग सम्झौता भई नयाँ भवनको काममा अगाडि बढ्दै गर्दा स्थानीयवासीहरुले गणेश आधारभूत अब माविमा रुपान्तरण हुन्छ भन्दै आशा राखेका थिए । तर, उनको सडक दुर्घटनाको मृत्युले साधुटारवासीहरुलाई नरमाइलो बनाएको स्थानीयहरुले प्रतिक्रिया दिए ।

प्रष्ट विचार राख्ने मिजासिल रामकुमार अर्जुनधारा ४ सहासी वस्तीमा बस्दै आएका हुन् । उनका बुबा हर्कबहादुर माता फुलमाया छोराको मृत्युमा विश्वास नलागेको बताउँछन् । बुबा हर्कबहादुरका अनुसार एउटा चम्किलो तारा अस्ताएको खबरले अछामे परिवारमा ठूलो बज्रपात भएको गहभरी आँशु पार्दै बताउँछन् ।

रामकुमारका जेठा छोरा विशेष अछामे कोहेड कलेज कक्षा ११ मा पढ्छन् भने कान्छा छोरा प्रतिक अर्जुनधारा स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत् छन् । श्रीमती कुमारी अछामे अर्जुनधारा माध्यमिक विद्यालयका बालशिक्षकका रुपमा कार्यरत् छिन् ।

३ बहिनी, १ भाइका धनी रामका कान्छा भाइ सन्जोग अछामे ताप्लेजुङको ढुंगेसाँघु माविमा अध्यापन गराउँदै आएका छन् ।

शिक्षकहरुको पीर मार्काप्रति मसिनो गरि निकास निकाल्न सक्ने अछामे नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष, नेपाल शिक्षक महासंघ संघीय महाधिवेशन प्रतिनिधि भएर काम गर्दै आएका उनका सहयात्री पुण्य सुवेदीले जानकारी दिए ।

यो समाचार तयार पारिन्जेल स्व. अछामे र मगरको शव मंगलबारे अस्पताल मोरङमा पोष्टमार्टमको लागि राखिएको छ भने उनको शव बुझ्नका लागि शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, वडा नं. ४ का अध्यक्ष दुर्गा दाहाल, स्थानीय पार्टीका नेता तुलसी खतिवडा, युवा नेता टीका शिवाकोटी, उनकी श्रीमती कुमारी र जेठा छोरा पुगेका छन् ।