जनमुक्ति छैठौं राष्ट्रिय महाधिवेशनमा जुट्दै « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

जनमुक्ति छैठौं राष्ट्रिय महाधिवेशनमा जुट्दै


यलम्वर टाइम्स
९ चैत्र २०७५, शनिबार ०५:४९

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी छैठौं राष्ट्रिय महाधिवेशन गर्न जुटेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर धोविघाटमा चैत ५ र ६ गते बसेको बैठकले २०७६ साल मंसीर मसान्तसम्ममा सबै प्रक्रिया पुर्याएर अधिवेशन गर्ने निचोड निकालेको छ ।

बैठकले सहअध्यक्ष मानध्वोज ब्लोन र उपाध्यक्ष टीकाराम शर्मालाई पार्टीको विधान विपरीत कार्य गर्दै राजपामा प्रवेश गरेको हुँदा साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ ।

बैठकले नेत्र विक्रम चन्द ‘बिप्लव’ लाई राजनीतिक प्रतिबन्ध लगाउन उचित नभएको ठहर गर्दै सम्वादमा समाधान खोज्न आग्रह गरेको छ भने शान्ति प्रक्रियामा आएको सीके राउतलाई जनमुक्तिले सकारात्मक रुपमा लिएको बताएको छ ।

सेना परिचालन सम्बन्धमा प्रधानमन्त्रीलाई अधिकार प्रत्यायोजन गर्न बनेको विधेयक प्रति जनमुक्तिको गम्भीर आपत्ति रहेको बताउँदै संसदमा छलफलका लागि पेश गरिएको नागरिकता विधेयक सम्बन्धि राष्ट्रिय बहस सञ्चालन गर्ने निर्णय भएको छ ।

अन्दोलनलाई निरन्तरता

जनमुक्ति पार्टीले जातीय विभेदको अन्त्य गर्न र समानुपातिक निर्वाचन प्रणालीलाई अक्षरस पालन गर्दै जानुपर्नेमा जोड दिएको छ ।

हाल स्थानीय तहमा देखिएका व्याप्त भ्रष्टाचारलाई नातावाद र कृपावादको ढाकछोपले मौलाइरहेको भ्रष्टाचारलाई अन्त्य गर्न देशव्यापी आन्दोलन चर्काउने निर्णय गरेको छ ।

पार्टीको ३९ बुँदे आन्दोलनात्मक स्थान र परिवेश हेरि पार्टी अध्यक्ष केपी पालुङ्वाको निर्देशन जारी गर्ने निर्णय गरेको छ ।

त्यतिमात्र होइन हत्या, हिंसा र बलात्कारले समाज आक्रान्त बनाइरहेको बेला लागू औषध प्रयोगकर्ताहरुको संख्या आम रुपमा देखिदै आएको हुँदा राज्य त्यसमा मौन हुनु दुःख लाग्दो अवस्था भएको छ । त्यसैले सडक आन्दोलन एकमात्र विकल्प भएको ठहर गरेको छ ।

पार्टीले टीकापुरका घटना प्रकरणलाई आन्दोलनको विषय भएकोले सो सम्बन्धमा उचित अवतरणका लगि अदालति÷कानूनी बाटो भन्दा राजनीतिक विधि र प्रक्रिया अपनाउनुपर्ने पार्टीले ठहर गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्न केन्द्रीय कोषाध्यक्ष डवबहादुर गर्बुजा मगरको संयोजकत्वमा आर्थिक अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

पार्टीले २०७६ बैशाख महिनाभित्र प्रदेश २, ३, ६ र ७ को अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीलाई उचाईमा पुर्याउन पार्टी सदस्यता अध्यावदी गर्ने जिम्मा प्रदेश समितिलाई दिएको र ०७६ असोज मसान्तभित्र बुझाउनुपर्ने पार्टी सचिव पदम जवेगुले जानकारी दिए ।