पान खेतीमा भविष्य खोज्दै सुवास « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

पान खेतीमा भविष्य खोज्दै सुवास


यलम्वर टाइम्स
३ बैशाख २०७६, मंगलवार ०९:४१

[केशवराज भण्डारी]

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानका २४ वर्षिय सुवास खरेल काली बङ्ला जाहाजी जातको पान खेतीबाट भविष्य खोज्दै छन् ।

२०७४ सालबाट करिब ३ कठ्ठा क्षेत्रफलमा सुरु गरेको व्यवसायिक पान खेतीबाट खरेल लाभान्वितको चरणमा पुगेका छन् ।

भारतको कलकत्ता स्थित कागदीपबाट विरुवा र सोही स्थानबाट प्राविधिक समेत ल्याएर सुरु गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित काली बङ्ला जहाजी पान खेती झापा जिल्लाका लागि मात्र हैन नेपालमै पहिलो र नमूना खेती बनेको छ ।

नेपालमा खाइने विभिन्न स्वादको पानका लागि पत्ताहरु भारतबाट आउने गरेको अवस्थामा सुवासले नेपालमै उत्पादन गरेर एक चरणको बिक्री समेत गरिसकेका छन् ।

व्यवस्थापन संकाय तर्फ बीबीएस चौथो वर्षमा अध्ययन गरिरहेका सुवास भन्छन् ‘पढाइ व्यवस्थापन संकायको भए पनि कृषि कर्म गर्ने सोच बनाएर पान खेतीको सुरुवात गरेको हुँ । यसबाट केही गर्न सकिने सम्भावना देखेको छु ।’

सुवासका बुबा त्रिलोचन खरेलले सुरुवात गर्नु भएको पान खेतीबाट उत्पादित पानले बजारको माग धान्न नसकेको बताउदै उनी भन्छन्, ‘अरु कृषि उपजका लागि बजारको समस्या सुन्ने गर्छु तर मलाई पान बेच्न न कसैलाई गुहार्नु पर्छ नत हाट बजार धाउनु नै पर्छ घरमै व्यापारीहरु आउनुहुन्छ घरबाटै जाडो सिजनमा प्रति पत्ता रु ५ र गर्मी याममा प्रति पत्ता ३ रुपैयाँका दरले बेच्ने गरेको छु ।’

बजारमा ताजा पानको माग अत्याधिक रहेको हुँदा बजार माग अनुसार यसको खेती विस्तार गर्ने योजना रहेको बताउँछन् युवा उद्यमी सुवास ।

सुरुमा भारतबाट ११ सय विरुवा ल्याएर खेती प्रारम्भ गर्दा रु. ५ लाख लगानी भएको बताउदै उनी भन्छन् ‘नेपाल सरकारले कृषकका लागि अनुदान दिने गरेको बताए पनि हालसम्म कुनै पनि अनुदान पाएको छैन भारतबाट विरुवा ल्याउदा उल्टै चर्को भन्सार तिरेर ल्याउनु पर्यो ।’

भारतबाट विरुवा ल्याउदा प्रति विरुवा नेपाली रु. १५ परेको बताउँदै सुवास भन्छन्, ‘११ सय विरुवा रोपेको १ वर्षमै लगभग १० हजार विरुवा बनाउन सफल भएको छु ।’

यो जातको पान खेती गर्नका लागि मुख्य गरी विरुवालाई खाद्य तत्वका लागि पिना र समय–समयमा सिंचाइसँगै भिटामिन दिनुपर्ने हुन्छ ।

पान खेती गरिएको स्थानमा कुनै पनि झारपात तथा अन्य वनस्पति उम्रन दिनु नहुने साथै रजश्वला भएका महिलाहरुले समेत पान खेती गरिएको ठाउँमा जानु नहुने, दैनिक सफाइमा ध्यान दिनु पर्ने, हावाहुरीबाट जोगाउनु पर्ने लगायतका सावधानीहरु अपनाउनु पर्ने पान खेतीमा सहयोग गरिरहेका लिलाप्रसाद खरेल बताउँछन् ।

साधारणतया झापा जिल्लामा सुपारी, आँप, लगायतमा पान खेती गर्ने गरिएको भए पनि यो पान भने त्यसरी अन्य बोटमा लगाउने पानभन्दा फरक जात तथा गुणस्तरको भएका कारण काली बङ्ला जाहाजी जातको पान खेतीले बजार राम्रोसँग लिने तथा बजारको समस्या नहुने देखिन्छ ।