उभाैली सुरूः घरैमा चुला पूजा, अर्काे साल सिली नृत्य « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

उभाैली सुरूः घरैमा चुला पूजा, अर्काे साल सिली नृत्य


यलम्वर टाइम्स
१९ बैशाख २०७७, शुक्रबार १०:१३

अर्जुनधारा / किराँत समुदायकाे उभौली पर्व बैशाख २५ गतेबाट सुरु हुँदैछ ।

प्राकृतिक पूजक भएका कारण धर्तीलाई सेवा गर्दै घरभित्र राखिएका ईष्ट देवतालाई मुन्धुमी शैलीबाट पूजापाठ र आशिर्वाद माग्दै पर्व हर्षाेल्लासका साथ मनाईने गरिन्छ ।

उभौली पर्व आउनु अघि किरात समुदाय अन्तर्गत संगठित संगठन किरात राई यायाेक्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार सेवा समाज र किरात याख्खाछुम्मा आदिले आआफ्नै कूल थानमा सांस्कृतिक नृत्यसहित ईष्ट-मित्रलाई बाेलाएर नाच्ने, मीठाे-मसिनाे खाने-खुवाउने, एक अर्कामा शुभकामना आदन-प्रदान गर्ने चलन छ ।

स्वदेशमा मात्र हाेईन देश विदेशमा बसाेबास गर्ने किरातीहरुले पनि आआफ्नै तरिकाले उभौली मनाउने गरेका छन् ।

पछिल्लाे पटक २ सय १० देशभन्दा बढी मुलुकमा काेराेना महामारी फैलिएका कारण स्वदेशमा मात्र हाेईन विदेशमा पनि उभौली पर्व हर्षाेल्लासका साथ मनाउन नसक्ने भएका छन् ।

मुन्धुममा उल्लेख छ – “उभौली लागेपछि तराईमा गर्मी चढ्न सुरु हुन्छ र चेलीहरु माईती राजालाई भेट्न माईती घर जाने र कूलपूजा गरी आशिर्वाद मागि फर्केर आउने चलन छ ।”

वर्ष दिनकाे भेटघाट अनि माईती गाउँमा भएकाे उभौली पूजा र मीठाे-मसिनाे खानाले वर्ष दिनकाे दु:ख, पीडालाई बिर्साईदिने भएकाले याे पर्व विशेष गरि किरातीहरुले मान्दै आएको हाे ।

उभौली पर्वदेखि नयाँ अन्न लगाउने, प्रकृतिकाे पूजा गर्ने, राेग, महामारी घर परिवार र आफन्तजनमा नफैलियाेस् भनी शक्ति माग्ने चलन छ ।

तर याे वर्ष झापामा मात्र हाेईन नेपालभरी उभौली पर्व घर-घरमा चुला पूजा गरे पनि चण्डी (सिली) नृत्य कतै नहुने भएकाे छ ।

किरात संगठनले काेराेना महामारीकै कारण संयुक्त वक्तव्य जारी गर्दै अर्काे साल भने भव्य रूपमा मनाउन भनी सम्झाएका छन् ।

काेभिड-१९ले संसार हल्लाएका बेला आफूहरु प्रकृतिक पूजक हौं भन्दै भेटघाट र जमघट बढाउँने कार्य गर्नु ठीन नहुने निर्ष्कष निकाल्दै उभौली धुमधाम नगर्ने भएका हुन् ।