यले सम्वत ५०७७ लाई सम्बोधन गर : यायोक्खा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

यले सम्वत ५०७७ लाई सम्बोधन गर : यायोक्खा


यलम्वर टाइम्स
२ माघ २०७३, आईतवार ११:५२

शनिअर्जुन / किरात राई यायोक्खा शनिअर्जुनले यले सम्वत् ५०७७ विविध कार्यक्रमका साथ मनाएको छ । आफ्नै भवनमा यायोक्खा जिल्ला सचिव केवलराम राईले यले सम्वत ५०७७ आजबाट सुरु भएको हुँदा राज्यबाट यले सम्वतलाई सम्बोधन गर्न समेत नसकेकोले वर्तमान सरकार आदिवासी जनजातिको पक्षमा नभएको बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका राईले नेपाल निर्माणमा ९ लाख किराँतीहरुले खेलेको भूमिका देशका शासकहरुले विर्सिएको हुँदा किराँत राई जातिलाई दुःख लागेको बताए । उनले अधिकारसँगै किराँत राज्यको लागि सम्पूर्ण राईहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि किरात साहित्यकार नवल फाइवालीले संघीयतालाई मजबुद बनाएर लान यहाँका आदिवासी जनजातिहरुलाई विर्सन नहुने बताए । यायोक्खा पाँचथर जिल्ला उपाध्यक्ष देवकुमार राई, बिर्तामोड प्रासका अध्यक्ष अर्जुन राई, पूर्व अध्यक्ष भोजबहादुर राई, सुम्नीमा महिला संघकी कमला राई लगायतले मन्तव्य राखेका थिए ।

सोही दिन शनिअर्जुन क्षेत्रबाट प्रवेशीका परीक्षामा उत्कृष्ट अंक ल्याउने कविता राई र सन्देश राईलाई सम्मान गरिएको थियो ।
नगर अध्यक्ष क्या. मानबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत क्या. शिवकुमार राईले गरेका थिए । सोही दिन किराँतीहरुको मौलिक खेल छेलो, बाघ चाल, हाडी फोर, थलोमारी खेलको प्रतियोगिता भएको थियो । सचिव सरिता राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार भरतसिंह राई, राई पत्रकार जिल्ला अध्यक्ष अमित खम्बू, जिल्ला सदस्य राजन साम्पाङ, राई चलचित्रकर्मी संघ जिल्ला अध्यक्ष भुवनसिंह राई लगायतको आतिथ्य रहेको थियो ।