बहिष्कृतको नजरमा दशैं « Yalambar Times
७ पुष २०८१, आईतवार

बहिष्कृतको नजरमा दशैं


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार ११:४२

नरेश खाती

dashain-tika-358x300हिन्दु नेपालीहरुको ठूलो चाड दसैं नजिकै आईसकेको छ । प्राचिनकालमा जब देवता र दानवबीच ठूलो युद्ध भएको थियो । हुँदा–हुँदा महिषासुरले देवताहरुलाई लखेटेर स्वर्गको राजा हुन पुगे । लखेटिएका देवताहरुले हिमालमा गएर दुर्गाको अराधाना गरेपछि दुर्गाले कालीको रूप लिएर आफ्नो आठ वटी सैनिक सरवीहरुका साथमा सारा दानवहरुको बध गरेर देवताको राज्य फिर्ता गरेको, त्यही विजयलाई ‘विजयदशमी’का रुपमा हर्षोल्लाससाथ मनाउने परम्परा शुरु भएको भन्ने मान्यता छ ।

अर्को प्रसङ्ग रामले रावणलाई बध गरी आफ्नी पत्नि सीतालाई फिर्ता ल्याएर विजय उत्सव मनाएको, त्यही विजय उत्सवलाई ‘विजयदशमीको’ रूपमा मनाउन थालिएको । अर्थात् हिन्दु देवी देवताहरु र दानवको लडाइँमा देवताको विजय र दानवको हारको प्रसङ्ग जोडिएको छ । असत्यमाथि सत्यको जीत भएको र त्यो जीत्ने पक्षतर्फको आपूm भएकोभन्दै प्रत्येक वर्ष हिन्दु धर्म मान्नेहरुले दशैं मान्दै आएका छन् ।

दशैं नेपालको क्यालेण्डर अनुसार असोज या कार्तिक महिनामा पर्ने गर्छ । घर–घरमा घटस्थापनाका दिन जमरा राखेपछि कोजाग्रत पूर्णिमासम्म दशैंको रूपमा मान्ने चलन छ । दशमीको दिनदेखि पूर्णिमासम्म आफ्ना मान्यजन कहाँ गएर टीका आर्शिवाद थाप्ने चलन छ । यसै बिचमा नेपालीहरुले धेरै क्षति भोग्नुपर्ने, दशैं पर्व कसको हो । यो पर्व सबै नेपालीको हो कि हिन्दुहरुको मात्र हो ? दशैंसँग आदिवासी जनजाति, दलितको कस्तो सम्बन्ध छ ? आदि–आदि बहस हुन थालेको छ ।

जनजाति र दसैं :

समान्यतय जनजाति भन्नाले ‘आफ्नै मौलिक भाषा, संस्कृति, परम्परा, धार्मिक आस्था, लिखित तथा मौखिक इतिहास, आफूलाई हिन्दू भनी दाबी नगर्ने, निश्चित भौगोलिक क्षेत्रमा बस्ने समूह हो ।’ समाजशास्त्रीय भाषामा जनजाति भन्नाले ‘आफ्नै मौलिक भाषा, संस्कृति, परम्परा भएका आफ्नै किसिमको धार्मिक आस्था भएका आफूलाई हिन्दू भनी कहिल्यै दाबी नगर्ने, आफ्नै लिखित तथा मौखिक इतिहास भएका निश्चित भोगौलिक क्षेत्रमा बस्ने समूह, राज्यको राजनीतिक शक्तिले त्यस्ता समूहको सांस्कृतिक भाषा र धर्मको विकासमा हेल्चेक्र्याइ गरेका हुन्छन् भन्ने आरोप लगाउने समूहलाई जनजाति भनिन्छ ।’

जनजातिहरु गैरहिन्दु भएपनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरुले हिन्दू चाडपर्व मनाउने गरेको पाइन्छ । कतिपयले यस्ता कार्यलाई सद्भावपूर्ण हो भन्ने गरेका छन् । तर जनजातिका अगुवाहरु यसको खुलेरै आलोचना गर्छन । वि.स. २०४६ सालका राजनीतिक परिवर्तनसँगै जनजातिमा दशैं बहिष्कार गर्ने र मनाउने अवधारणको विकास भयो । राणा शासनकालमा किराँतहरुलाई दशैं मान्न उर्दी लगाउँदा धनकुटाका रामसलहाङ्ग र रिदमा किराँतीले बहिष्कार गरेपछि वि.स. १९४२ मा दुवैको हत्या गरिएको थियो । मानवशास्त्री डम्बर चेम्जोङ्गका अनुसार ‘दशैंमा बलि दिएका पशुको रगतको पञ्जाछाप लिम्बुहरुका घर दैलोमा भए नभएको निरीक्षण गर्न गोश्वरा गौंडा अड्डाबाट डोर खटिएर आउँथे । दशैं नमानेको, पशुबलि नदिएको भेटिए सजायको भागीदार हुन्थे लिम्बुहरु ।’ विगतमा राज्यसत्ताले एक जाति, एक भाषा, एक भेष नीति अनुरुप चाडहरु कायम गरिएको हो, भनी जनजाति अगुवाहरु आरोप लगाउँछन ।

दलित र दशैं :

नेपाली समाजमा दलित नै यस्तो समुदाय हो, जुन समुदायका मानिसहरुलाई हिन्दु वर्ण व्यवस्थाले मानवको दर्जा दिएको छैन । वर्ण परम्परामा हिन्दुभित्रै राखेर बहिष्करण गरिएको छ । दलितका लागि दशैं नै यस्तो पर्व हो, जुन समयमा सबैभन्दा बढी अपमानित, अपहेलित हुनुपर्छ । गरिबीले सताउने गर्छ । स्वास्थ्य बिगार्नुपर्छ ।

नेपालका अधिकांश ग्रामीण क्षेत्रमा दलितहरुको परम्परागत सिलाई, फलामका काम गरेबापत गैरदलितले दयाले दिएको बालीले दशैं मनाउनुपर्छ । दशैंमा बालीघरे दलितहरुलाई गैरदलितले मासु दिने गर्छन । अस्वास्थकर मासु अपमानित भएर ग्रहण गर्नुपर्छ । दशैंमा हुने सार्वजनिक निजी पूजापाठका कार्यक्रममा अत्याधिक दलितहरु जातीय भेद्भावको शिकार हुनेगर्छन । हिन्दु परम्परामा चाडपर्वमा दलित समुदायका लागि अपहेलित हुने भूमिका निर्धारण गरेको छ । परियारले शुभकार्यमा बाजा बजाउनु पर्ने, डोम समुदायले सरसफाई गर्नुपर्ने । बाराको गढीमाई मेलामा बलि दिएका पशुको बिर्सजन त्यहाँको डोम जातिले गर्नुपर्छ । गैरदलितहरुसँग सधै मागेर जिविका चलाउनुपर्ने भएकाले दलितहरु हिनता ग्रस्त हुन्छन् ।

दलितको गरिबी (पहाडे दलित ४२.४र तराई ४०.२) प्रतिशत छ । जबकी औसत नेपालीहरु २५ प्रतिशत गरिब हुँदा दलितहरु ४२ प्रतिशत गरिब छन् । प्रत्येक पटक आउने चाडपर्वले दलितहरु झन(झन गरिब भइरहेका छन् ।

बली प्रथा :

नेपाल विश्वमा बुद्ध जन्मेको देश भनेर परिचित हुनुभन्दा सबैभन्दा बढी पशुबलि दिने देशका रूपमा परिचित छ । बाराको गढीमा प्रत्येक पाँच वर्ष हुने मेलामा हजारौं निहत्था पशुको बलि दिइने गरिन्छ । दशैंमा नेपालीहरुले देवीलाई भोग दिने नाममा लाखौं पशुको बलि दिइने गरिन्छ । नेपालीहरु अस्वस्थकर मासु खानेमा पनि अघि नै छन् । सप्तमीमा काटेको मासु सम्भवतः एक हप्तासम्म राखेर खाने गरिन्छ ।

जमराको वैज्ञानिकता र भ्रम :

दशैंंमा राखिने जमराको धार्मिक महत्वसँगै वैज्ञानिक महत्व छ भनी चिकित्सकहरु बताउँछन् । जौँ निकै पौष्टिक खाद्य वस्तु हो । यसमा कार्बोहाइडूेड, प्रोटिन साथै विभिन्न भिटामिनहरु प्रशस्त मात्रमा पाईन्छ । जमराको रस नियमित सेवन गर्नाले उच्च रक्तचाप, क्यान्सर तथा मधुमेह ,पेटको रोग, वायु विकार हट्ने चिकित्सक बताउँछन तर जति वैज्ञानिक महत्व भए पनि दशैंमा टीका लगाएर जमराको रस खान दिइँदैन । कानमा कपालमा सिउरिदिने काम हुन्छ । नेपाली हिन्दुहरुका लागि दशैंको महत्व होला उनीहरुले हर्षोल्लासका साथ मनाउनु नाजायज होइन तर हिन्दु व्यवस्थाले बहिष्करणमा पारेका समुदायका लागि यो पर्व दुःखदायी छ । दलितहरुले वर्ण व्यवस्थाको परिधिमा रहेर अपहेलित हुनुपर्छ । जनजातिले आफ्नो नभनिएको संस्कार मान्नु पर्छ ।