सन्देश सुब्बा
पाँचथर / किरात लिम्बू समुदायको प्रमुख पर्व चासोक तङ्नाम धुमधामसँग मनाइने भएको छ । चासोकको अवसरमा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको किरात याक्थुङ चुम्लुङ पाँचथरले यस वर्ष पनि उत्सवको रुपमा चासोक तङ्नाम मनाउँने तयारी गरेको हो ।
फिदिममा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै चुम्लुङले यो वर्ष पनि झण्डै एक महिनासम्म विविध कार्यक्रमका साथ चासोक तङ्नाम मनाउँने तयारी गरेको जनाएको छ । मंसीर २७ गते शुभकामना आदान–प्रदानसँगै साँझमा घर–घरमा दीपावली गरेपछि चासोक उत्सव सुरु हुने चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङले बताए ।
त्यस्तै मंसीर २८ गते ‘जहाँ ऐतिहासिक स्थल, त्यहाँ अन्तरक्रिया छलफल’ भन्ने नाराकासाथ जिल्लाको नागी, पञ्चमी र अमरपुर गाविसको त्रिकोणात्मक संगम स्थल ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रमा ताम्भुङ्भा (बनभोज) कार्यक्रम गरिने बताइएको छ । सो अवसरमा चासोक तङ्नाम पर्वको विषयमा कार्यपत्र प्रस्तुतिसँगै बृहत छलफल गरिने चुम्लुङ पाँचथरका सचिव सुरेन शिशिर केरुङ्ले बताए ।
चासोक उत्सवकै अवसरमा मंसीर २९ गते सदरमुकाम फिदिममा पालाम् तथा ख्याली प्रतियोगिता गरिनेछ । त्योसँगै पुष १८ गतेसम्म जिल्लास्थित विभिन्न संघ–संस्थाहरुसँगको समन्वयमा चासोक रमाइलो मेला लगाइने अध्यक्ष केरुङले जानकारी दिए । त्यस्तै हाल सगरमाथा आरोहणको क्रममा रहेका पाँचथर माङ्जाबुङका सुशिल शेर्माको सहयोगार्थ जिल्लास्थित विभिन्न संघ–संस्था, व्यक्ति र मातहतका शाखाहरुसँग समन्वय गरी पहल गर्ने समेत पत्रकार सम्मेलनको क्रममा बताइएको छ ।
प्रकृति पुजक लिम्बू जातिमा वर्षाद्को सिजनमा लगाएका अन्नवाली पाकेपछि आफूले खानुृ अघि कुनै किसिमको दुःख–बिमार नहोस, अन्नपातको सह रहोस् भनि सबैभन्दा पहिले विधिपूर्वक प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रचलन छ । यहीं न्वागी पूजालाई नै चासोक तङ्नाम भन्ने गरिएको किरात याक्थुङ चुम्लुङका राष्ट्रिय परिषद सदस्य बुद्धराज लिम्बू बताउँछन् । लिम्बू जातिले प्रत्येक घरमा गर्ने र मनाउँने यो कार्यविधि तथा पर्वलाई पछिल्लो समय चुम्लुङले सामूहिक रुपमा मनाउँने सुरुवात गरेको हो ।
यो पर्वलाई उभौली पर्व पनि भन्ने गरिन्छ । यो अवशरमा प्रत्येक वर्षको मंसीरे पूर्णिमाको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । यो पर्वलाई हालसम्म आफूलाई किराँतीको रुपमा चिनाउँदै आएका लिम्बूहरुले चासोक तङ्नाम, राईहरुले साकेवा उभौली, सुनुवारहरुले साँदर र याख्खाहरुले चासुवाको नामले आ–आफ्नै तरिकाले मनाउँदै आएका छन् ।