जनकऋषि राई (चाम्लिङ)
जम्माजम्मी सेनाको बंकरमा रहेको सात दिनको बयान हो, संस्मरण पुस्तक–बंकर । साँच्चैभन्दा सात दिन केही पनि होइन स्वतन्त्रतालाई मिहिन ढंगले नबुझ्नेहरुका लागि । तर, कलम बोकेर स्वतन्त्रताको वकालत गर्दै हिँड्ने झापाका पत्रकार दीपिन राई (दीपेन्द्र) जी आफै नै सात दिनसम्म सेनाको बंकरभित्र पर्नु स्वतन्त्रताको भयानक उपहास थियो । त्यो पनि तत्कालिन नेकपा(माओवादी) ले सुरु गरेको जनयुद्धको उर्वर समयतिर । समयको कहर एकदिन पनि कति लामो हुन्छ भन्ने कुरा ‘जापानको सबैभन्दा लामो दिन’ भन्ने पुस्तक पढ्दा थाहा लाग्छ । अमेरिकाले जापानको नागासाकीमा बम पड्काएको एक दिनलाई ‘लामो दिन’ भनेर बयान गरिएको सो पुस्तकले त्यो दिन किन लामो भयो ? भन्ने प्रश्नको जवाफ दिएको छ । जापानले बिताएको त्यो एक दिन जापानकै सबैभन्दा लामो दिन भयो । अनि, किन नहोस् त दीपिन राईजीले सेनाको बंकरमा बिताएका उच्चाटलाग्दो सात दिन सात वर्षजस्तो । त्यही उच्चाटलाग्दो जीवनको संस्मरण नै बंकर हो ।
राज्य त्यसबेला कलमसँग कति आतंकित थिएछ भन्ने कुरा बुझ्न दीपिनजीको संस्मरण ‘बंकर’ले बयान गर्छ । कलमलाई हतियार देख्ने तत्कालिन सरकारले ०६१ फागुन १२ मा सेना लगाएर दीपिन राईलाई पक्राउ गरेपछि संस्मरणको रचनागर्भ तयार भएको कुरा स्रष्टाले ‘केही आफ्ना कुरा’मार्फत व्यक्त गरेका छन् । दीपिन राई पत्रकारिता पेसामा जति आदर्श र इमान्दार देखिएकाछन्, उत्ति नै मात्रामा संस्मरणहरुमा पनि आदर्शवान र इमान्दार देखिएकाछन् । लेखकले ‘भाषा र शैलीमा म कमजोर छु ।’ भनेर पुस्तकमा स्वीकारेजस्तै लेखनमा निर्दोषपन देखिनु सुन्दर पक्ष भएको छ । विषय वा घटना जे हो वा जति हो त्यति नै मात्रामा लेखिएको छ, कुनै पनि लेखकीय अतिरञ्जना छैन । सायद, दीपिनजी भाषा र शैलीमा पोख्त हुनु भएको भए संस्मरण अतिरञ्जना हुन्थ्यो वा भएको घटनाभन्दा बढी बयान भएर आफ्नो नायकीपन देखाउने प्रयास हुन्थ्यो ।
संस्मरण पढ्दै जाँदा यस्तो लाग्छ कि सेनाको बंकरलाई जसरी चित्रित गर्नु पथ्र्याे, त्यसरी गरिएन । बंकरभित्रका गतिविधिलाई जसरी उदाङ्गो पार्नु पथ्र्याे पारिएन । एउटा आदर्शवान र इमान्दार कलमलेमात्र जस्तो छ त्यस्तै वयान गर्छ, जुन कुरा संस्मरण बंकरमा भेटिन्छ । जस्तो कि बंकरमै भेटिएका जुँगे बा, रोशन सुब्बा, पौडेल बा, मदन गौतमको बंकर यात्राको बारेमा अलि स्पष्ट ढंगले व्याख्या गरिएको भए संस्मरणमा रोमाञ्चकता थपिने थियो । पाठकले दीपिनजीकोमात्र एकोहोरो बयानबाट मुक्ति पाउने थियो । यसको साथै पक्राउ पर्नाको पृष्ठभूमिमा पत्रकारिता गर्दाको गतिविधि थपिएको भए पाठकले शाहीकालको सत्तालाई अझ बिर्सने थिएन । किनकि, त्यसबेला पत्रकारहरुको साझा संगठन नेपाल पत्रकारमहासंघ पनि आन्दोलनमा उभिएको थियो । अझ, दीपिनजीलाई बयान लिने सेना वा प्रहरीको हाकिम वा तल्लो दर्जाको सेनाहरुको हुलिया बंकरभित्रका अन्य थुनुवाहरुको बयानअनुसार राखिदिएको भए संस्मरण लेखनमा सजिवता झल्कन्थ्यो ।
‘बयान सुरु गर्नुअघि ‘त्यहाँ पत्रकार महासय छन्, तिनलाई आँखामा पट्टि बाँधेर बाहिर निकाल ।’ मलाई बयान लिने इन्स्पेक्टरले भनेपछि एक सैनिक जवानले ‘पत्रकार भनेको को हो’ भन्दै बंकरभित्र पसेर मलाई आँखामा पट्टि बाँधि बाहिर निकाले ।’ (पेज १८) ०६१ फागुन १४ गतेको यो घटनाको बयान गर्दा स्रष्टाको मनमा के खेल्यो, जतिबेला सेनाले आँखामा पट्टि बाँधिदिएको थियो । पट्टि बाँधिदिने सेनाको अनुहारलाई स्रष्टाले कसरी पढ्यो ? बंकरमा सँगै रहेका साथिहरुको अनुहारमा के भाव देख्यो ? जस्ता कुरालाई वर्णन गरेको भए त्यही जीवन्त भावमा पाठकले स्रष्टालाई पाउने थियो ।
सात दिनको बंकर बसाईलाई मितिअनुसार लिपिबद्ध नगर्नुले पाठक हैरानीमा पर्छ । अघिल्लो प्रसङ्गसँग मिलाएर पाठकले कुन मितिको घटना रहेछ भनेर आफै जान्नु पर्ने समस्या छ । यसको अर्थ अन्ने फ्रेन्कले लेखेको ‘द डायरी अफ अ योङ्ग गर्ल’को जस्तो प्रत्येक दिनको मिति लेखेको हुनुपर्छ भन्ने होइन । (यद्यपि फ्रेन्कको पुस्तकसँग दीपिनजीको संस्मरण के अर्थमा मिल्छ भने दुवैको संस्मरण सेनासँग जोडिएका छन् । जर्मनी नाजी सेनाले हल्याण्डमा आक्रमण गरेर कब्जा जमाएपछि त्यसबेला १३ वर्षकी यहुदी केटी फ्रेन्कले कस्तो समय बिताए त्यसको बयान गरिएको छ, जसरी दीपिनजीको संस्मरण सेनाको बंकरसँग सम्बन्धित छ ।) स्रष्टाले संस्मरणका कुनै शब्दावलीमा मिति राखेर पाठकलाई सहजता दिएको भए हुन्थ्यो भन्नेमात्र हो ।
संस्मरण बंकर सपाट छ, कति ठाउँ त लाग्छ–स्रष्टाले किन सेनाको ज्यादतिलाई माया गरेको होला ? अर्थात, जति लेखिनु पथ्र्याे, लेखिएन । संस्मरणमा विषयहरु समाचारजस्तो मात्र देखिन्छ कतिपय अवस्थामा । यो बेला बंकरसँगै दलाइ लामाको जीवनी ‘फ्रिडम इन एक्जाइल’ पढ्न सुरु गरेकोले होला लामाको पुस्तकमा पनि त्यस्तै लेखिने पर्ने कुरा लेखिएका छैनन् । दलाइ लामाले बौद्धवादलाई सिद्धार्थसँग जोडेर सो पुस्तकमा लेखेका छन्–‘सिद्धार्थ नै बुद्ध शाक्यमुनी हुन् । उनी २५ सय वर्ष अगाडि जन्मेका थिए ।’ दलाइ लामाले बुद्धको जन्म मिति तोकेपनि जन्म स्थानबारे पुस्तकमा केही बताएका छैनन् । शान्तिकोलागि नोबेल पुरस्कार पाएका दलाइ लामाले बुद्धको जन्म स्थानबारे नलेख्नुको पछाडि नजानेर भन्दा पनि जानेर नै नलेखेको हो । तर, दीपिनले नजानेर नै कतिपय कुरा नलेखेका हुन्, दलाइ लामाको सस्मरणमा जसरी जानेरै पनि लेखिएन ।
बंकर आफैमा शैन्य क्षेत्रको प्राविधिक शब्द भएकोले बंकर भन्नासाथ सत्रुको होस् वा आप्mनै पक्षको एउटा विरसिलो चित्र मस्तिष्कमा आउँछ । त्यो चित्रले सिमान्त बनेको मृत्युको भय र जीवनप्रति धमिलो आशालाई प्रतिविम्बित गर्छ । बंकरमा सरकाराद्धरा आतंककारी शंकामा बन्दी बनाइएका दीपिन राईजस्ता इमान्दार कलमको थुनिदाँ गर्विलो इतिहास बन्यो । त्यही बंकरमा शासन चलाउने तत्कालिन चारआली ब्यारेकका कर्णेल सुरेशकुमार कार्कीको बढुवालाई यो गर्विलो इतिहासले कति कुल्चन्छ भविष्यले बताउँला । तर, स्रष्टाले कृतिका ‘मुख्य’ पात्र कर्णेल सुरेशकुमार कार्कीलाई मानेर एकसाथ सयौं बौद्धिक झापट हानेका छन् ।