सिंहदरबारको अधिकार गाउँमा आइपुग्यो « Yalambar Times
२ माघ २०८१, बुधबार

सिंहदरबारको अधिकार गाउँमा आइपुग्यो


यलम्वर टाइम्स
८ चैत्र २०७३, मंगलवार ०७:१४

ngpअर्जुनधारा / यहाँका राजनीतिक दलहरुद्वारा अर्जुनधारा नगरपालिका संयुक्त रुपमा घोषणा गर्दै सिंहदरबारको अधिकार गाउँसम्म आईपुगेको बताएका छन् ।

होली पूर्णिमाका दिन (फागुन २९ गते) शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीका राजनीतिक दल, विभिन्न संघसंस्था र सचेत नागरिक बीच अर्जुनधारा नगरपालिका घोषणा गरिएको थियो ।

घोषणा सभामा नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाले बल्ल जनताले लोकतन्त्रको अनुभूति गर्ने मौका पाएको बताएका थिए । सभापति थापाले अब विकासका कार्यमा केन्द्रको मुख ताकिरहनु पर्ने दिन गएको बताए । ०६२÷६३ को जनआन्दोलन र सहीदको सपना पुरा हुने बताउँदै प्रजातन्त्रमै जनता रमाउने र देश विकास हुने बताए । कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष हरि रानाले नगरको विकासमा नगरबासीको अह्म भूमिका हुने बताउँदै सबै मिलेर अर्जुनधारा नगरपालिकालाई सुन्दर र विकासित नगरपालिकाको रुपमा उभ्याउनु पर्ने बताए । अध्यक्ष रानाले जनता जागे परिवर्तन सम्भव छ भन्ने भनाई राख्दै विकासको गतिविधिमा सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताए ।

उद्घाटन सभामा माओवादी केन्द्रका भुपेन्द्र न्यौपानेले जनताको बलिदानबाट आएको लोकतन्त्र सबै नेपालीहरुको साझा सम्पत्ति भएको बताए । उनले यो सम्पत्तिलाई सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिए । राप्रपाका प्रतिनिधि लवकुश गिरीले आमजनताको भावना अर्जुनधारा नगरपालिकाले बुझ्ने बताउँदै सिंहदरबारको अधिकार नगरमा आईपुगेको हुँदा यसलाई व्यवहारमा उतारेर जनता माझ अनुभूति गराउँनु पर्ने बताए । नगर विकास बोर्डका अध्यक्ष कुमार भट्टराईले नगरपालिकाको सबै विकासे कार्यमा एक भई नमूना नगरपालिका निर्माणमा उभिनु पर्नेमा जोड दिए ।

नगर अधिकृत मनोज राउतको सभापतित्वमा भएको कार्यक्रममा माओवादी केन्द्र खुदुनाबारीका नेता तुलसी खतिवडा, एमाले नेता प्रेमसागर सापकोटा, माओवादीका नेता हरि दाहाल, राष्ट्रिय जनमुक्ति पार्टीका दिलीप राई, झलक याम्फु, नयाँ शक्तिका श्याम घिमिरे, देवकला प्रसाई, दलित नेता भोला परियार, रमेश त्रिखत्री, शनिअर्जुन वाणिज्य संघका महासचिव चतुर्भुज काफ्ले, महिला सञ्जालकी पुनम सुवेदी, राप्रपाका सूर्य खतिवडा, विरिङ्ग जलाधारका मानबहादुर कार्की लगायतको आतिथ्य रहेको थियो ।

खुदुनाबारी गाविस सचिव तुलसी भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सौजन कटुवालले गरेका थिए । सोही दिन शनिश्चरेको वडा कार्यालय पनि उद्घाटन गरिएको थियो ।

यसरी नै खुदुनाबारीको गाविस भवनमा अर्जुनधारा नगरपालिकाको बोर्ड राखि वडा कार्यालय उद्घाटन गरिएको थियो । कार्यक्रममा नगर अधिकृत मनोज राउत, जनमुक्तिका मीना पन्धाक, राप्रपाका इन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादीका नरेश खनाल, नयाँ शक्तिका बुद्ध बराईली, एमालेका बमबहादुर कार्की, नेपाली कांग्रेसका जीवन भण्डारी, जिल्ला सदस्य सरस्वती सिटौला, एमाले नगर समितिका संयोजक प्रेमसागर सापकोटा लगायतले नगरपालिका घोषणा गरेर स्थानीय स्तरमा अधिकार प्रत्यायोजन गरेकोले जनता यसबाट लाभान्वित हुन पुगेको बताए ।

वडा सचिव तुलसीप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत चुडामणि खनाल र सञ्चालन खगेन्द्र लिङ्देनले गरेका थिए । नगरपालिका भनी उद्घाटन गर्दा स्थानीय बासिन्दा हर्षित मुद्रामा देखिन्थे ।