निर्धारित समयमै चुनाव सम्पन्न गर्न नागरिक समाजको अपिल « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

निर्धारित समयमै चुनाव सम्पन्न गर्न नागरिक समाजको अपिल


यलम्वर टाइम्स
१८ बैशाख २०७४, सोमबार ०६:४७

nagarik samajबिर्तामोड / निर्धारित मितिमै स्थानीय तहको चुनावको सुनिश्चितताको लागि देशव्यापीरुपमा दवाब सिर्जना गर्न आमनागरिक समाजमा झापाका नागरिकले अपिल गरेका छन् ।

झापाका विभिन्न सामाजिक संस्था तथा नागरिक अगुवाहरुले सोमबार सबै राजनीतिक दल, नेपाल सरकार र निर्वाचन आयोग समक्ष तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न माग गरेका छन् ।

 संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको झापाली नागरिक समाजसँगको छलफलमा सहभागीले निर्धारित मितिमै चुनाव गर्न माग गर्दै त्यसका लागि नागरिक तहबाट सशक्त दवाबको आवश्यकता औल्याएका हुन् ।
छलफलको निष्कर्ष अनुसार झापाली नागरिक समाजको तर्फबाट उनीहरुले सार्वजनिक अपिल जारी गर्दै मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको भन्दै त्यस्तो माग गरेका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय निर्वाचनबारे अन्यौलसँगै नागरिकमा निराशा बढाएको उनीहरुले ठहर गरेका छन् । ‘चुनाव सार्ने र नगर्ने बाटोमा देशलाई लगियो भने गम्भीर राजनीतिक दुर्घटना निम्त्याउँछ’– अपिलमा भनिएको छ – ‘जनतालाई भोट हाल्ने अवसर दिनुको सट्टा अवसर खोस्नलाई प्रयास भएको देखिनु दुःखद् हो ।’
वर्तमान परिस्थितिमा मुलुकका सबै दलहरुले सहमति र सहकार्य गरी उचित वातावरण बनाएर राजनीतिक संस्कार र असल लोकतान्त्रिक अभ्यासका माध्यमबाट जनताको मताधिकारको सुनिश्चितता र सम्मान गर्न झापाली नागरिकले आग्रह गरेका छन् ।
नेपाल बार एसोसिएसन झापाका उपाध्यक्ष पदम डाँगी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषद्का सहसंयोजक विष्णु खरेल, मानव अधिकार सञ्जाल झापाका संयोजक लालराज सुवेदी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य रुपक खनाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय उपाध्यक्ष कुमार भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष तेजप्रसाद चम्लागाई, राष्ट्रिय उपभोक्ता मञ्च का जिल्ला अध्यक्ष मदनगोपाल सुब्बा, मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीले उक्त सार्वजनिक अपिलमा हस्ताक्षरसहित सबै नागरिकलाई समयमा नै चुनाव गराउन दवावका लागि जुट्न आह्वान गरेका छन् ।
त्यस्तै अन्तरपार्टी महिला सञ्जालकी जिल्ला उपाध्यक्ष गोमा भट्टराई, वीरता जेसीजका अध्यक्ष सञ्जु भारती,  वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, महिला उद्यमी संघकी जिल्ला अध्यक्ष गोमा भट्टराई, अधिवक्ता नारायणप्रसाद पौडेल, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सहसचिव केशव भट्टराई लगायतले समेत अपिलमा हस्ताक्षरसहित अधिकार रक्षाका लागि देशव्यापीरुपमा नागरिक समाजले दवाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
 दवाबका लागि सार्वजनिक अपिल, हस्ताक्षर संकलन, कतिपय क्षेत्रमा सांकेतिक मतदान, धर्ना, जुलुस लगायतका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त हुने नागरिक समाजका प्रतिनिधिहरुले औल्याएको संवाद समूह सचिवालयका संयोजक अभिवक्ता दीपेन्द्र भट्टराईले बताए ।
मुलुकमा निर्वाचनको विकल्प नरहेको जनाउँदै उनीहरुले निर्वाचन नचाहने दल र नेतालाई नागरिकले खबरदारी गर्नुपर्ने कुरामा जोड दिएको संवाद समूह सचिवालयका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।
मुलुकको ठूला परिवर्तनमा झापाको भूमिका निर्णायक रहेको तथा राष्ट्रिय राजनीतिमा निर्णायक तहमा पनि झापाकै नेताहरु रहेको हुनाले झापाबाटै नागरिक समाजले सशक्त दवाब सिर्जना गर्न सके राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन सकिने सहभागीको निष्कर्ष थियो ।