मजदुर दिवसका झलक « Yalambar Times
६ पुष २०८१, शनिबार

मजदुर दिवसका झलक


यलम्वर टाइम्स
२४ बैशाख २०७४, आईतवार ०७:२१

naresh-dai-11

नरेश खाती

मे १ तारिक अर्थात विश्व मजदुर दिवस, विश्वका मजदुरहरुले एकसाथ मनाएका छन् । नेपालमा यो दिवसमा नेपाल सरकारले सर्वजनिक बिदा दिएर विभिन्न कार्यक्रम गरेर मनाएको छ । नेपालमा सरकारी, तथा गैरसरकारी संघसंस्थामा कार्यरत लाखौ कर्मचारीहरुले आफ्ना हक अधिकारको माग गर्दै सडकमा ¥याली, जुलुस गरे । उनका नेताले सभा समारोहमा चर्का भाषण गरे । सहभागीले ताली पिटे, उनीहरुको रोजीरोटीमा थप सेवा सुविधाका बुदाँ तयार गर्दै आ–आफ्ना निकायमा ज्ञापन पत्र बुझए । यी र यस्तै झलक बिच विश्व मजदुर दिवस सम्पन्न भयो । तर यी झलकहरुमा धेरै अभाव देखिए । धेरै मजदुरहरु छुटे ।

घरेलु श्रमको मूल्य छैन  :

नेपालको जम्मा जनसंख्याका आधाभन्दा बढी महिला छन् । उनीहरु १० घण्टाभन्दा बढी घरको काम गर्दछन् । तर उनीहरुको श्रमको मूल्याङ्कन छैन । घरमा महिलाले खाना पकाउन्, बच्चा हेर्ने, लुगा धुने, लगायत बिहान उठेदेखि बेलुकासम्म लगातार काम गर्नुपर्छ । उनीहरु पारिश्रमीक बिनाका श्रमिक भएका छन् । उनीहरुको श्रमलाई नत समाजले मूल्याङ्कन गर्छ ,नत राज्यले नै ।

श्रमको इज्जत छैन :

एक जना व्यक्ति शनिश्चरेबाट बिर्तामोड जनालाई सवारी साधन खोजिरहेका थिए । त्यत्तिकैमा सिटी रिक्सा अलि पर आईरहेको थियो । उनले ‘ओ सिटी’ भन्दै बोलाए । सिटीवाला दाईले नजिकै आएर यात्रुसँग गुनासो गर्दै भने ‘दाई म त सिटी होइन त, मैले कुदाउने सवारी साधनको नाम पो ‘सिटी’ हो त ।’ यात्रुले केही पनि भनेनन् । हाम्रो समाजमा श्रम गर्ने व्यक्तिलाई सम्मानका साथ हेर्न दृष्टिीकोण छैन । सिटी कुदाउनेको नाम, ‘सिटी’ भयो । ट्याम्पो कुदाउनेको ‘ट्याम्पो’ भयो । उ पनि आफ्नो कामको सम्मान होस् भन्ने चाहन्छ । तर नेपालीको मनोविज्ञान त्यस्तो बनेका छैन । सफा लुगा लगाएर अफिसमा बसेकालाई बरु दोहो¥याएर नमस्ते गरिन्छ र धुलो मैलो भएर श्रम गर्नेलाई हेप्ने चलन छ ।

मजदुरले मजदुरको इज्जत गर्दैनन्  :

एकजना महिला सडक पेटीमा बसेका मोचीकोमा चुडिएको चप्पल सिलाइ माग्न आएकी थिइन् । उनले रुखो बोलीमा आदेश दिए झै गरी भनिन् ‘ए भैया मेरो छिटो चप्पल सिलाई दिउ त’ केही समयपछि चप्पल सिलाएर उनी आफ्नो बाटो लागिन् । केही दिनपछि मैले उनलाई एउटा अफिसमा कर्मचारीको रुपमा पाए । उनी आफ्नो हकिमलाई हजुर, हजुर भन्दै बोलीरहेकी थिइन् । अफिसमा काम गर्ने र सडक पेटीमा काम गर्ने दुवै मजदुर हुन् । तर एउटा मजदुरले अर्को मजदुरलाई हेप्ने गर्छन् । मनसिक श्रम गर्नेले आफूलाई ठूलो मान्छे ठान्छन् र इज्जत खोज्छन् र शारीरिक श्रम गर्नेलाई सानो मान्छे ठानेर हेप्न पछि पर्दैनन् । यी दुवै मजदुर भए पनि मनसिक श्रम गर्नेले आफूलाई मलिक र शारीरिक श्रम गर्नेलाई दास जस्तो बुझ्ने चलन छ ।

कति मनाए होलान मे १ तारिकः

नेपालमा करिब ८० प्रतिशत जनता कृषि पेशा गर्छन् । लाखौ सवारी साधन चलाउँछन् । रिक्सा चलाउँछन् । घरको काम गर्छन् । खोला, बगरमा गिटी कुट्छन् । बेल्चा चलाउँछन् । अर्काको घरमा ज्यालदारी काम गर्दछन् । कतिलाई थाहा होला मे १ तारिक विश्वका मजदुर दिवस भनेर ? उनीहरुले आफ्नो हक हितका लागि मजदुर दिवस मनाउँदै गरेको कुरा । यदि मजदुर दिवसका दिन घरमा महिलाले भात पकाउन छाड्ने हो भने । भातै खान बन्द गर्नु पर्छ । अधिकांश मजदुर जो मजदुरी गर्छन् , उनीहरुका लागि के त्यस्तो प्रावधान गर्न सकेको छ राज्यले ? उनीहरुको रोजी रोटीको ग्यारेन्टी हुने ? यो त सरकारी गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारी जसको रोजगारको ग्यारेण्टी छ, उनीहरुका लागि थप सेवा, सुविधाका लागि बार्गेनिङ्ग गर्ने अवसर मात्र त बनेको छैन ?