मेची नेत्रालय जनताको सेवामा समर्पित छ « Yalambar Times
२ माघ २०८१, बुधबार

मेची नेत्रालय जनताको सेवामा समर्पित छ


यलम्वर टाइम्स
५ असार २०७४, सोमबार १०:४०

 

madam interiew

पुनम प्रधान मेची नेत्रालय आँखा अस्पतालका प्रबन्धक हुनुहुन्छ । उहाँ आफै पनि नेत्र रोग सम्बन्धि काम गरिसकेका सिनियर नर्शका रुपमा परिचित  हुनुहुन्छ । अस्पतालको प्रशासनिक फाँट सम्हालेर दिनरात अस्पताललाई जनताको माझ विश्वसनीयता र यहाँसम्म ल्याउन उहाँको ठूलो योगदान रहेको छ । एक छोरा एक छोरीकी धनी पुनम १९ वर्ष अघि डा. शरदचन्द्र प्रकाश राईसँग लगनगाँठोमा बाँधिएपछि दुवै जनाको प्रयासबाट अस्पताल यहाँसम्म आउन सफल भएको छ । हसिलो स्वाभाव, नम्र विचार भएका प्रधानसँग १० औं वर्ष प्रवेशको विषयलाई लिएर गरिएको कुराकानी:

मेची नेत्रालयको स्थापना कहिले गर्नुभयो ?

– २०६४ साल असार १४ गतेदेखि हामीले मेची नेत्रालय सञ्चालनमा ल्याएका हौँ । दर्ता त्योभन्दा अघि नै भएको थियो । सुन्दर नगरी र बौद्धिक व्यक्तित्व बसोबास गरेको ठाउँ मेचीनगर काँकरभिट्टा भएको हुँदा यहाँ पहिलो पटक आँखा अस्पताल खोलिएको हो ।

यहाँ नै मेची नेत्रालय खोल्ने सोच कसरी बन्यो ?

– डाक्टर साब यहीँ कै स्थानीयबासी भएको हुँदा यस क्षेत्रमा एउटा आँखा अस्पताल खोल्नुपर्छ र समाजमा केही योगदान पु¥याउनुपर्छ भन्ने लागेर नै मेची नेत्रालयको स्थापना गरेका हौं । कति अर्काको संस्थामा काम गर्नु अब आफैले पनि केही नयाँ संस्था स्थापना गरेर अरुलाई पनि रोजगारी दिनु पर्छ भन्ने सोँच डाक्टर साबमा पलाएको हुँदा मेची नेत्रालय स्थापना गरेका हौं ।

के–के सेवाहरु प्रदान गर्दैछ मेची नेत्रालयले ?

– यस नेत्रालयले मुख्यतः मोतियाविन्दुको धेरै संख्यामा उपचार गरिरहेका छौँ । किनकि आँखा उपचारमा आउने अधिकांश मानिस मोतियाविन्दुकै समस्या लिएर आउने गर्छन् । यसको अलवा डाक्टर साब रेटिना विशेषज्ञ भएकाले रेटिनाका विरामी धेरै मात्रामा आउँछन् । मेची नेत्रालय आँखा कम्प्लिट उपचार गर्ने अस्पताल भएकाले यहाँ आँखा सम्बन्धी सबै किसिमको समस्याको उपचार गर्दै आएका छौं । आँखाको पावर जाँचेर चश्मा लिन, आँखाको एलर्जीको उपचार गर्न, आँखा पाकेमा र चोटपटक लागेमा उपचार गर्न दिनहुँ मानिसहरू आउने गर्छन् । यो अस्पताललाई जनतामा समर्पित अस्पतालको रुपमा विकास गर्दै लैजानेछौं । आँखाको सीटी स्क्यान गर्ने थ्रीडी ओसीटी मेशिन झापामा यस अस्पतालमा मात्र छ । आँखा टेढो भएका बालबालिका र वयस्कको आँखा सोझो पार्ने उपचार पनि यहाँ हुन्छ । मोतियाविन्दु, जलबिन्दु, रेटिना आदिका ठूला समस्या हुँदा भरपर्दो उपचारका लागि धेरै टाढाका मानिसहरूले मेची नेत्रालयलाई विश्वास गरेर आइरहेका छन् ।

नेपालमा रेटिनाको उपचार गर्ने डाक्टरको अभाव छ भन्ने सुनिन्छ नि ?

– हामी भन्छौं –‘रेटिना एकदमै ठूलो च्यालेञ्ज हो । एमबीबीएस पढ्नेहरु धेरै छन् । अरु विषयमा पनि विशेषज्ञता हासिल गर्ने धेरै हुन्छन् । रेटिनाका विषयमा कम डाक्टरले विशेषज्ञता पाउनु स्वाभाविकै हो । किनकि यसका लागि अध्ययनमा धेरै मिहेनत, लगाव र समय खर्चिनुपर्ने हुन्छ । पढ्दा पढ्दै बुढो हुन कसैलाई मन लाग्दैन । चेन्नाईको शङ्कर नेत्रालय एशियाकै टप हस्पिटल हो । त्यहाँ आजसम्म ३ सय जनाले नेत्र रोगको विशेषज्ञता पाएका छन् । जसमध्ये ३ जनाले मात्र नेपालबाट पढेका छन् । एक जना डा. अनिल । उहाँ अस्ट्रेलियामा हुनुहुन्छ । अर्को डा. बेन्जो र एक जना चाहीँ यसै अस्पतालका फाउण्डर डा. शरद चन्द्र प्रकाश राई हुनुहुन्छ । उहाँले नेत्र रोगमा विशेषज्ञता पाइसके पछि पनि ३ बर्षसम्म रेटिना सम्बन्धी अध्ययन पूरा गर्नुभएको छ । अहिले केही केहीले सर्ट टर्मको दुई तिन महिने कोर्स गरेर आएका भेटिन्छन् । यसैकारण पनि नेपालमा रेटिना विशेषज्ञता प्राप्त डाक्टर पाउन गाह्रो भएको हो जस्तो मलाई लाग्छ ।

डा. राईको अध्ययन कहाँ कसरी भयो तपाईलाई थाहा छ ?

– उहाँले भने अनुसार उहाँको विद्यालय तहको पढाई दार्जीलिङको नर्थ पोइन्ट सेन्ट जोसेफमा पूरा गरेर इलेभेन, टुवेल मुम्बईमा । एमबीबीएस कर्नाटकामा गरेको हो । रेटिनाको फेलोसिफ भने शङ्कर नेत्रालय चेन्नाइमा गरेको बताउनु हुन्छ ।

पढेर आइसकेपछि उहाँले उपचार सेवा कहाँबाट थाल्नु भयो ?

– शुरुमा उहाँले लायन्सबाट आँखाको उपचार थालेको हो । यस अघि काठमाडौँमा पनि काम गर्नु भयो र त्यसपछि मेची आँखा अस्पतालमा सेवा गर्ने मौका पाउनुभयो । त्यसपछि हामीले पारिवारिक सल्लाह ग¥यौ र मेची नेत्रालय स्थापना गरेका हौं ।

स्थानीय समाजको सहयोगमा कस्तो अनुभूति पाउनु भएकोछ त ?

– हामीलाई मेचीनगरबासीबाट सकारात्मक सहयोग मिलेको छ । यहाँका अग्रज मान्यजन, राजनीतिक दलहरू, बुद्धिजीवी, व्यवसायी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट पाएको सहयोग, सद्भाव र हौसलाले नै मेची नेत्रालय आज १० औं वर्षको पाइला टेक्दै छ । स्थानीय काँकरभिट्टाका समाजले मेची नेत्रालय आफ्नै हो भन्ने ठानिदिनु भएको छ । हामी स्थानीयबासीको सद्भाव र मायाप्रति सदैव आभारी छौँ ।

मेचीनगरमा आँखा अस्पताल खुल्ने क्रम बढेको छ नि ?

– आँखा अस्पताल खुल्नु राम्रो हो । जनताको सेवा गर्न जो कोही मानिस आउँछन् भने त्यसलाई स्वागत गर्नै पर्छ । तर, प्रतिस्पर्धाको नाममा स्थापित भएका संस्थालाई धमिल्याउने खेल खेल्नु चाहीँ नीति संगत नहोला । कुनै पनि संघसंस्थाको आ–आफ्नै नियम हुन्छ । राज्यले नीति, मापदण्ड बनाएको छ । त्यसमा रहेर आँखा अस्पताल खोल्नु नराम्रो भन्ने होइन ।

राज्यको नीति कस्तो छ त ?

– स्वास्थ्य निर्देशिका २०७० र संशोधन २०७३ मा प्रष्ट उल्लेख छ, कुनै पनि अस्पताल वा स्वास्थ्य सम्बन्धि कार्यालय खोल्दा यस अघि खोलिएका अस्पतालबाट १ किलोमिटर टाढा मात्र अर्को अस्पताल खोल्ने प्रावधान छ । अस्पताको शैया र जनतालाई दिइने सुविधाको मापदण्डको पनि उल्लेख हुनुपर्छ । त्यो मानेमा मेची नेत्रालय ठीक रहेको राज्यले नै स्वीकारेको छ । भविष्यमा यस नेत्रालयले सेवा विस्तार गर्नका साथै जनतालाई दिने सेवा सुविधामा महत्वपूर्ण योगदान दिन चुक्ने छैन ।

नेत्रालय त भव्य बनाउनु भएको छ, कति लगानी भयो होला ?

– नेत्रालयलाई यहाँसम्म ल्याउन बैंक मार्फत १० करोड ऋण लिएका छौं । त्यतिले मात्र नपुगेर अन्य थुप्रै खर्चहरु पनि भएका छन् । सरकारी निर्देशिका अनुसार अस्पताल निर्माण गरिएको छ । आँट गरेका छौं । बैंकलाई पनि समय–समयमा त्यसको मापदण्ड अनुसार व्याज लगानी तिर्दै आएका छौं । सबैको स्नेहताबाट यो अस्पताल यहाँसम्म आइपुगेको हो ।

समाजमा नेत्रालयको भूमिका ?

– यस अस्पतालले विभिन्न स्थानमा गएर शिविर चलाएको छ । हामीले निःशुल्क रुपमा कतिपय विरामीको जाँच गरिरहेका छौँ । १० बर्षमुनि र ६० बर्ष माथि उमेरका विरामीको ओपीडी जाँच फ्रि गरेका छौँ । स्थानीयबासीलाई १० प्रतिशत छुट दिएका छौँ । मेडिसिन हाम्रो नभएको हुँदा केही गर्न सकिन्न । अप्टिकल र सर्जरीमा छुट गरिरहेका छौँ । फ्रि स्व्रिmनिङ क्याम्प गरिरहेका छौँ । स्कूलमा जनचेतना फैलाइरहेका छौँ । हाम्रोमा अर्थोप्टिक डिपार्टमेन्ट छ । साना बच्चाको उपचार गर्न हामीले छुट्टै विभाग खडा गरेका छौँ । बच्चाको आँखा टेडो छ भने आँखाको पावर कम छ भने हामीले उपचार गर्दै आएका छौं ।

खेल क्षेत्रमा पनि नेत्रालयको भूमिका देखिन्छ नि ?

– हो हामीले खेल क्षेत्रमा पनि हात हालेका छौं । समाजमा खेलाडीहरुको उच्च मनोबल पार्नका लागि यस नेत्रालय मार्फत खेलकुदलाई प्रोत्साहन दिएका छौं । त्यतिमात्र होइन भविष्यमा पत्रकारिता क्षेत्रलाई पनि अगाडि बढाउन प्रोत्साहन र सम्मानका कार्यक्रम राख्ने जमर्को गरेका छौं ।

अरु निजी अस्पताल महङ्गा छन् अरे, मेची नेत्रालय नि ?
– एक पटक मेची नेत्रालयमा आएर उपचारको सेवा प्राप्त गर्नुहोस्, त्यसपछि उहाँहरुले नै भन्नु हुनेछ उपचार पद्धती महंगो छ कि सस्तो ।
धेरै आँखाका रोगी मानिसहरु अरु अस्पतालमा महंगो छ भन्दै आउनु भएको छ । हामीले सस्तो छ भनेर प्रचार गर्नु भन्दा व्यवहारले देखाउनु राम्रो होला भनी चुपलागेर सरल सेवा प्रदान गरेका छौं ।

के उपचार गर्न भारतबाट मात्रै बढी बिरामीहरु नेपाल आउँछन् त ?

– हो, नेपालको उपचार पद्धतिमा विश्वसनीयता बढ्दै गएको कारण धेरै बिरामीहरु भारतबाट नेपाल आउने गरेका छन् । हुन त भारत सरकारले सबै कुरामा सहुलियत दिएतापनि किन हो नेपालमा आएर उपचार गर्नेहरुको संख्या धेरै छ । सुरु सुरुमा झापामा आँखा अस्पताल नहुँदा लाहान र काठमाण्डौंसम्म भारतीयहरु उपचार गर्न जाने गरेका थिए ।

हामी सबै थोक नेपालमा नै हुन्छ भनेर भनेका छौं । त्यसैले मेची नेत्रलायमा भारतका कुना कन्दराबाट उपचार लिन आउने गरेका छन् । सस्तो उपचार र रमणीय दृश्य हेर्न दार्जीलिङ जाने भन्दै भारतका विभिन्न प्रान्तबाट आउने गरेको हामी पाउँछौं ।

असार १४ गतेबाट १० वर्षमा लाग्दैछ नि ?

– सबैको सहयोग र सद्भावको आधार बनेको छ मेची नेत्रालय त्यसैले १० औं वर्षको प्रवेशमा छौं । हामी १० औं वर्षको उपलक्षमा ज्येष्ठ नागरिक सम्मान, रक्तदान, काँकरभिट्टा माविका गरिब छात्रछात्राहरुलाई स्कुल व्याग वितरण, रिक्सा चालकहरुलाई निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क टिसर्ट वितरण, अस्पतालका स्टार्फहरुलाई सम्मान र उनका अभिभावकहरुलाई पनि सम्मान, नेत्र रोगीहरुलाई निःशुल्क उपचार र असार ११ गतेदेखि १६ गतेसम्म सबै सेवामा २५ प्रतिशतको छुटको व्यवस्था गरिएको गरिने छ ।

यत्रो लगानी गरेर नेत्रालय स्थापना गर्नु भएको छ । देशको माहोल चाहिँ कस्तो लाग्छ ?

– बन्द हड्ताल ज्यादा हुँदा नरमाइलो लागेर आउँछ । कसले र किन बन्द गरेको समेत थाहा पाउन सकिँदैन । यस्तो माहोलमा विरामीले सेवा पाउन सक्दैनन् । मानिसहरू उपचारमा आउनु पर्ने थियो, बन्द छ कि खुला भनेर फोन गर्छन् । खोइ बन्द कसले र कहिले गर्छ हामीले भन्न सक्दैनौँ ।

स्थानीय चुनाव बारे तपाईको धारणा ?

– सबै दल मिलेर स्थानीय चुनाव सम्पन्न गर्न सफल हुन् । स्थानीय स्तरबाट देशको धेरै विकास हुने र संविधान कार्यान्वयमा टेवा पुग्ने भएको हुँदा शान्तिपूर्ण ढंगबाट स्थानीय चुनाव होस् भन्न चाहन्छु । र मेरो विचारलाई आम जनतामाझ पु¥याई दिनुभएकोमा यलम्वर टाइम्स परिवारलाई धन्यवाद दिन चाहन्छु ।