सर्वदलीय बैठकमा प्रमुख रानाले भने –‘सबैलाई मिलाएर नगरको विकास गर्ने’ « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

सर्वदलीय बैठकमा प्रमुख रानाले भने –‘सबैलाई मिलाएर नगरको विकास गर्ने’


यलम्वर टाइम्स
३१ श्रावण २०७४, मंगलवार ०७:१३

अर्जुनधारा /

नगर प्रमुख हरिकुमार रानाले सबैलाई मिलाएर नगरको विकास गर्ने बताएका छन् ।

निर्वाचित भएपछि नगरका राजनीतिक दल, संघसंस्था बिच भएको पहिलो सर्वदलीय बैठकमा रानाले आफू एमालेबाट निर्वाचित भएतापनि नगरमा सबै राजनीतिक दलहरुको हैसियत एउटै भएको हुँदा नगर विकासको लागि सबै राजनीतिक दलको दस्तावेज उतिकै आवश्यक भएको औंल्याए ।

नगर सभाहलमा भएको सर्वदलीय भेलामा प्रमुख रानाले भने –‘निर्वाचनताका समयमा जनतामाझ दलहरुले राख्नु भएको दस्तावेज ल्याउनुस् सबै मिलेर जनतामाझ गर्छु भनेका कामहरु मिलेर गरौं ।’

भेलामा उपप्रमुख कमला आचार्यले नगर निर्माण गर्न तपाई हाम्रो काँधमा जिम्मेवारी थपिएको बताउँदै सबै मिली नगरलाई सुन्दर र विकसीत नगरको रुपमा परिचय दिन आवश्यक भएको बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले विकासका कार्यमा आफ्नो सक्दो सहयोग रहने बताए । सर्वदलीय भेलामा एमालेका प्रेमसागर सापकोटा, माओवादी केन्द्रका रोशन कन्दङ्वा, हरि दाहाल, जनमुक्तिका दिलीप राई, नयाँ शक्तिका देवकला प्रसाई, मालेका धर्म भट्टराई लगायतले नगरका विकासका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

सर्वदलीय भेलाले तत्काल नदी नियन्त्रण र शनिश्चरे बजारलाई वरिपरि छुने पहिलो रिङरोड र नगरपालिकालाई समेट्ने गरी दोस्रो प्रकारको रिङरोड बनाउनु पर्ने जस्ता कार्य निर्णय भएको नगरपालिकाका त्रिवेन्द्र अधिकारीले जानकारी दिए ।

रोङ र माई नगरपालिकालाई जोडौं

अर्जुनधारा नगरापलिकाको बिहीबार बसेको बैठकले छिमेकी जिल्ला इलामको रोङ गाउँपालिका र माई नगरपालिकालाई अर्जुनधारासँग जोडिए यसको विकास चाँडो हुने निचोड निकालेका छन् ।

पूर्व प्रधानमन्त्रि तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको उपस्थितिमा बसेको बैठकले रोङ गाउँपालिका र माई नगरपालिकासँग अर्जुनधाराले बाटो निर्माण गरी यातायात सञ्चालन गरे कृषि प्रवद्र्धनसँगै आर्थिक समृद्धिका बाटाहरु बलियो भएर जाने निचोड निकालेका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्रि खनालले त्यस्ता रचनात्मक कार्यमा आफ्नो साथ रहने बताए । बैठकमा झापा क्षेत्र नं. ४ का सांसद प्रेमबहादुर गिरीको समेत उपस्थिति रहेको थियो । बैठकमा प्रमुख हरिकुमार रानाले नगरपालिकाको एक्लै बजेटले नभ्याउने त्यसको लागि रोङ र माङ नगरपालिकाको पनि सहयोग आवश्यक भएको बताए ।

त्यसमा माई नगरपालिकाका प्रमुख दिपक थेवेले सकरात्मक प्रतिक्रिया दिएका थिए ।