बढी विरिङबाटै क्षति « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बढी विरिङबाटै क्षति


यलम्वर टाइम्स
३१ श्रावण २०७४, मंगलवार ०८:२०

अर्जुनधारा ।

लगातार ३ दिन आएको वर्षाले झापाका धेरै क्षेत्रहरु अस्तव्यस्त बनाउनुको साथै ११ को मृत्यु र ४ जना बेपत्ता भएको छ भने १ हजार ८९६ परिवार विस्थापनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जनाकारी अनुसार कनकाई माई र झिलझिलेको खोलाले ११ जनाको ज्यान लगेको छ भने ४ जना बेपत्ता भएको जनाकारी प्राप्त छ । बाढीले ज्यान गुमाउने झापा गाउँपालिका–२ सडकबारीकी ३५ वर्षीय धनमाया धोर्सा, शिवसतासी नगरपालिका–१ धरमपुरका २८ वर्षीय विजय पाण्डे, झापा गाउँपालिका–७ सिमलबारीकी कमला दलार्मी र उनकी छोरी खुशी दर्लामी रहेका छन् ।

यसरी नै चकचकी गाउँपालिका–३ डाँगीबारीका २२ वर्षीय पवन राजवंशी, दमक–५ का २६ वर्षीय तपोस मण्डल, झापा गाउँपालिका–२ का ६० वर्षीय नाम नखुलेका एक वृद्ध, हल्दीबारी–१ गोलधापका चम्पामणि सतार, झापा–२ का पहिचान नखुलेका एक जना, कमल–५ का ३५ वर्षीय विवश राई, झापा गाउँपालिका–४ का १० वर्षीय कुलशन खातुन रहेका छन् । तिनीहरुलाई विरिङ, रतुवा र झिलझिले खोलाले बगाएको प्रहरीले जनाएको छ ।

झापाका खोलाहरु मध्ये धेरै क्षति विरिङ, कमल, झिलझिले र कनकाईले पुर्याएको छ । यसरीनै झापा गाउँपालिका–२ का प्रलिप्रसाद राजवंशीका श्रीमती र बच्चा, सोही गाउँपालिका वडा नं. ७ का टेकबहादुर दर्नाल बेपत्ता भएको रेडक्रस अध्यक्ष लोकराज ढकालले जानकारी दिए । बेपत्ता भएकाहरुको खोजीकार्य भईरहेको जनाइएको छ । बाढीको उद्धार र बेपत्ताहरुको खोजिको लागि नेपाल प्रहरी, सशस्त्र र सेना परिचालन गरिएको छ भने बिस्थापित भएकाहरुका लागि मानवीय सहयोग आवश्यक भएको जनाएका छन् ।

यता अर्जुनधारा नगरपालिकामा भने मानवीय क्षति नभएतापनि निर्माण भएका धेरै पुलपुलेसा, ठूला पक्की पुलहरु भत्काइदिएको छ । विरिङ खोलाको कटानले अर्जुनधारा–७ का केही भाग क्षति पुर्याएको छ भने सोही वाडको नारायण चोक खण्डमा फुलमति बाढीले त्यहाँको कल्भर्ट बगाइदिँदा आवतजावत बन्द भएको छ ।

आवतजावत बन्द भएपछि खुदुनाबारी र साधुटारका लागि विरिङ खोलाको ७ नं. मा निर्माण भएको पुल मार्फत रमाइलो बस्ती हुँदै आवतजावत भएको छ । वडा नं. १ सिस्नेमा पनि विरिङ खोला र टाङटिङ खोलाले खोती योग्य जमिन कटान गरी क्षति पुर्याएको छ । केही काठको पुलहरुमा क्षति पुर्याएर आवतजावत अवरोध गराएको छ ।

यसरी नै वडा नं. ५ मा पनि विरिङ खोलाको कटानले क्षति पुर्याएको छ भने बाह्रदशीको उर्लिदो भेलले बैशावाडीमा बैद्य राजवंशीको घर बगाइदिएको छ । यसरी नै खुदुनाबारी, दहिझोडा र साठ्ठीमुरेमा पनि खोलाले क्षति पुर्याएको छ ।

२७ गते शुक्रबार बजार मध्येका बिर्तामोड शहरको अतिथि सदन पूर्ण रुपमा डुबान हुन पुगेको छ । उक्त स्थानमा रहेको पूर्वाञ्चल दैनिक पत्रिकाको कार्यालयमा पनि बाढी पसेर क्षति पुर्याएको छ । अतिथि सदन र त्यस बाटोमा रहेका पसलहरु पूरै क्षति गरेको छ । प्रत्यक्षदर्शी संगीतकार शिवशंकर थापाका अनुसार बिन्दुली फुटेर बिर्तामोड पसेको अनुभव भएको बताए ।

यस वर्ष झापा जिल्लाको बाटोघाटोहरु पूरै क्षति भएको देखिन्छ भने तिनलाई कसरी मर्मत, सम्भार गर्ने भन्ने विषयमा छलफल भईरहेको अर्जुनधारा नगरपालिका वडा नं. ९ का अध्यक्ष लोकनाथ गौतमले जानकारी दिए । अर्जुनधाराका सबै जनप्रतिनिधिहरु आ–आफ्नो वडामा भएको क्षतिका विवरण लिन नगरपालिकाका इन्जिनीयर निरज अधिकारी र छविरमण पोखरेललाई लिएर खटेको वडा नं. १० का अध्यक्ष बलदेव गोम्देनले जानकारी दिए ।

आफ्नो नगरमा के कति क्षति भयो भन्ने विषयलाई लिएर आफू लगायत सबै जनप्रतिनिधि परिचालन भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।