दशैं–तिहारमा शान्ति सुरक्षा कडा गरिने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

दशैं–तिहारमा शान्ति सुरक्षा कडा गरिने


यलम्वर टाइम्स
२५ भाद्र २०७४, आईतवार ०७:४२

अर्जुनधारा / अर्जुनधारा नगरपालिका स्थित शनिश्चरे प्रहरी चौकीको आयोजनामा राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्थाका, समाजसेवी र बुद्धिजीविहरु बिचको छलफलले दशैं, तिहारको लागि शान्ति सुरक्षा कायम गरेर अगाडि बढ्ने निचोढ निकालेका छन् ।

महान पर्व दशैं, तिहार र छठ पर्व नजिकिदै गइरहेको समयमा चोरी, डकैती, लुटपाट जस्ता अपराधिक गतिविधिको चलखेल बढ्ने हुँदा यस्ता गतिविधिहरु हुन नदिनका लागि छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

शनिश्चरे प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष अशोक विष्टको सभापतित्वमा सम्पन्न भेलाले होटल तथा पसल बेलुका ९ बजे बन्द गरिसक्ने, जुवा, तास, लङ्गुर बुर्जा कोहीकसैले खेल्ने–नखेलाउने, बजार अनुगमन सम्बन्धित निकायमा नगरपालिकाले पहल गर्ने, खाद्य वस्तुको मूल्य सूची उद्योग वाणिज्य संघले व्यापारीहरुमा जानकारी गराउने लगायतको निर्णय गरेको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, खुदुनाबारी सशस्त्र प्रहरी बेस क्याम्पका निरीक्षक सोमबहादुर श्रेष्ठ, शनिश्चरे प्रहरी चौकीका इन्चार्ज अमर लावती, राजनीतिक दलका नेता कुमार क्षेत्री, लवकुश गिरी, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, अर्जुनधारा जलेश्वरधामका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडा, अर्जुनधारा नगरपालिका वडाध्यक्षहरु भैरवबहादुर खड्का, जीवन भण्डारी, लोकनाथ गौतम, ध्यानबहादुर भारती, जुकेखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिव्य कट्टेल लगायतको उपस्थितिमा शान्ति सुरक्षा मजबुत गर्नुपर्ने बताए ।