पहाडमा दशैं « Yalambar Times
११ पुष २०८१, बिहीबार

पहाडमा दशैं


यलम्वर टाइम्स
७ आश्विन २०७४, शनिबार ०४:१६

लक्ष्मीप्रसाद सुब्बा

पहाडमा छँदा जब जब नैरथा लाग्थ्यो तब तब बाटा घाटाहरु सबै गाउँले मिलेर फाँडफुँड गरेर खोस्रीखास्री गरेर सम्याएर ढुंगाहरु अन्साई पन्साई गरेर चिटिक्क पार्ने गथ्र्यौ । धारा (पँधेरो) हिटी सबै घर वरिपरी आँगन खुर्कीखार्की पारेर बडारेर सिनिक्क पार्ने गथ्र्यौं । दिदीहरु टाढाटाढाबाट रातो माटो, कालो माटो, सेतो माटो (कमेरो) खनेर ल्याएर गारे घरहरु रातो माटोले पोतेर, कतै सेतो कमेरोले पोतेर, अझ कालो माटोले पेटारे पारेर पोतेर, अझ ठाउँठाउँमा फूल बुट्टा बनाएर घरलाई बेहुली झैं सिंगारेर चिटिक्क पार्थे । त्यति गरेर भदैया धान, नभए बासमति धान भिजाएर ढिकिमा डङ डङ कुटेकोले गाउँनै चिउराको मगमग बासनाले मगमगाउँथ्यो । त्यो बासनाले सबैको मुखबाट ¥याल चुहिन्थ्यो ।

ओल्लो घर, पल्लो घर के, गाउँ भरि नै त्यही चलन चल्थ्यो, पहाडमा त्यो नियम आज पनि चलेकै छ । बालबालिकाहरु दशैं कहिले आउँछ भन्दै प्रत्येक दिन ठूला बडालाई सोध्ने गथ्र्यौं । खोज मेल गरेर केराका घरीहरु पहेलै पकाएर चिउरासँग मुछेर खान्थ्यौं, केराको बासनाले पनि गाउँघरै मगमगाउँथ्यो । पहाडमा यसरी नै नियमहरु चलेरै आउँदैछ । उता नयाँ लुगा दशैंमा लगाउनु पर्ने ठानेर लुगा सिउने दमाईलाई कल सहित घरैमा बोलाएर लुगा नाप्तै छोराहरुलाई दौरा सुरुवाल, दिदीबहिनीलाई चोलो (फरिया) दिने चलन थियो । जमरे औंसीका दिन दिदीहरुले एका बिहानै नुहाईधुवाई गरेर रातो माटोले घर पोटेर अरु ठाउँ गोवरले लिप्थे । दमाईहरु आफै आएर आफूसँग भएका बाजा नरसिङ्गा, सनाई, ट्याम्की, करनाल बजाएर नौरथा जनाउँथे ।

कालान्तरमा परिवर्तन भएर पहाडमा केही फरक परेको छ । आमाले घटस्थापना गरेर जमरा राख्नुहुन्थ्यो । जमरा त पहाडमा आज पनि राख्ने चलन छँदैछ । दाजुहरु सकेदेखि ४ पिरे, ६ पिरे रोटे पिङ हाल्ने तरखरमा लाग्थे, त्यसो नभए बाबियो ल्याएर लठारो बाटेर पायक पर्ने ठाउँमा लिङ्गे पिङ हाल्थे । अहिले पनि पहाडमा त यस्तो चलन चलेकै छ । उस् बेलाको नियम अनुसार जमरे औंसीका दिनदेखि गाउँका सुब्बाहरुले राजाको अनुमति अनुसार नौरथा भरि नगरा बजाएर दशैंको खुसीयाली मनाउने चलन थियो, यो नियम सरकारबाटै खारिज भयो ।

यसरी नौरथा भरी पहिले गाउँनै बाजा बजेर गुञ्जयमान हुन्थ्यो तर देशकाल परिवर्तन भएपछि आजभोलि पहाडमा दशैं सुनसान जस्तै भएको छ । सुन्दरता के मा देखिन्छ भने गाउँ भरी यसपत्री फूल पहेंलै भएर फूल्न लागेको, गाउँ घरका बाटाघाटा, धारा पँधेरा, हिटी सबै सफासुग्गर गरेको, नयाँ नयाँ लुगा लगाएर निधार भरी अक्षेताको रातो टीका लगाएका, पहेंला जमरा सिउरेर ठूलाबडाहरुबाट आशीर्वाद लिएर हुलका हुल आउने जानेहरुको लर्कोले पहाडै रमाइलो देखिन्छ । साँच्चै भनौं भने यो दशैं नेपालीहरुकै महान चाड हो भन्ने बुझिन्छ ।

उस् बेलाको नियम अनुसार घरघरमा जे जस्तो नियम गरे पनि परदेशमा भएका छोराहरु दशैं मान्न भनेर घर आउने र दशैंको टीको लाउने उत्साह मरेको छैन । घुमेर डुलेर हेर्ने हो भने दशैंको आनन्द पहाडमा आफ्नै किसिमको छ । पहाडमा दशैं मनाएको दृष्य यी नयनहरुमा अहिले पनि झझल्को छँदैछ । यो मनले दशैं मान्न त पहाड तिरै जाउँ भन्छ । पहाडमा दशैं मनाएको किसिम देख्दा दशैं त नेपालीहरुको महान पर्व पो रहेछ भन्ने बुझिन्छ । यसमा दुई मत छैन ।