रातेखाललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पुराण « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

रातेखाललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पुराण


यलम्वर टाइम्स
२ मंसिर २०७४, शनिबार ०८:११

 

अर्जुनधारा । शनिश्चरे बजारबाट करिब ३ किलोमिटर पश्चिममा रहेको रातेखाललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मंसीर ६ गते बुधबारबाट श्री ब्रम्हाण्ड महापुराण एवम् धान्याञ्चल ज्ञान महायज्ञ गरिने भएको छ ।

विरिङ र टाङटिङ नदीको बिचमा रहेको अर्जुनधारा–४ रातेखाल स्थित सिंहबाहिनी देवी मन्दिर भद्रकाली शक्ति पीठमा पुराणको आयोजना गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउन खोजिएको बताए ।

मन्दिरको १६ औं अनुष्ठानको बारेमा जानकारी दिँदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले दुवै तिरबाट खोलाले घेरिएको र भौगोलिक हिसाबले पीछडिएको ठाउँ भएको हुँदा यस क्षेत्रको विकासमा धार्मिक गतिविधिको ठूलो महत्व रहेको बताए । अध्यक्ष अधिकारीले रातेखाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि नेपालमै पहिलो पटक शेष नारायणको मन्दिर निर्माण कार्य गरिँदै आएको बताए ।

उनले अगाडि भने –‘रातेखाललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनको लागि ५ वर्षभित्र निर्माण गरिसक्ने उद्देश्यले १ करोडको लागतमा शेष नारायण मन्दिर निर्माण हुँदैछ ।’

आकर्षक र कलात्मक रुपमा निर्माण गरिने उक्त मन्दिरको बारेमा बताउँदै अध्यक्ष अधिकारीले थपे –‘मन्दिरका वरिपरी विभिन्न देवीदेवताको मूर्तिहरु राखिनेछ, चारवटा मूल ढोका रहनेछ र मन्दिरभित्र आकर्षक पोखरी र पोखरीमा शेष नागमाथि नारायण विराजमान भएको कलात्मक प्रतिमा हुनेछ । त्यो हेर्नकै लागि भए पनि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु आउने छन् ।’

यस पटकको अनुष्ठानलाई सभ्य र भव्य बनाउनका लागि देवराज बुढाथोकीको संयोजकत्वमा १५१ सदस्यीय पुराण मूल आयोजक समितिका साथै विभिन्न उपसमितिहरु गठन गरिएको बताए ।

राजेन्द्र अधिकारीको संयोजकत्वमा टेण्ड, साउण्ड सिस्टम तथा मण्डप उपसमिति, कोशी राईको

संयोजकत्वमा आर्थिक उपसमिति, तुलसी श्रेष्ठको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, रञ्जीत डाँगीको संयोजकत्वमा खाद्यन्न तथा प्रसादी उपसमिति र विकास भट्टराईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति निर्माण गरिएको व्यवस्थापन समितिका कोषाध्यक्ष कोशी राईले बताइन् ।

मंसीर ६ गते बुधबारबाट सुरु भई १२ गते समापन हुने उक्त पुराणमा आचार्य डा. केशवशरण लुईंटेलले कथा श्रवण गराउने छन् भने उपवाचकका रुपमा पं. श्री रामचन्द्र दाहाल रहेका छन् ।

पुराण उद्घाटन समयमा दानबीर दाता लगायत अन्य सहयोगीहरुलाई सम्मान गरिने बताउँदै आयोजक समितिका संयोजक बुढाथोकीले पुराण सम्पन्न गर्नका लागि अनुमानित ३ लाख खर्च हुने र १० लाख बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

निर्माधिन शेष नारायण मन्दिर ।