लिम्बूवान नामाङ्कन गरेरै छाड्छौं: अध्यक्ष पन्धाक « Yalambar Times
१५ पुष २०८१, सोमबार

लिम्बूवान नामाङ्कन गरेरै छाड्छौं: अध्यक्ष पन्धाक


यलम्वर टाइम्स
९ मंसिर २०७४, शनिबार ०६:०३

अमरबहादुर पन्धाक (एवी) लिम्बूवान राज्य परिषदका अध्यक्ष हुन् । राष्ट्रिय जनमुक्ति पार्टीको १२ वटा संघीय प्रदेश मध्ये लिम्बूवान राज्य परिषद एउटा पार्टीले उठाउँदै गरेको स्वायत्त प्रदेश हो । बहुदलीय प्रजातन्त्र स्थापनापछि संघीय वा प्रान्तीय राज्यको आवाज उठाउँदा लिम्बूवान प्रान्तीय राज्य हुनुपर्छ भन्दा नेपाल सरकारले जनमुक्तिलाई विखण्डनकारीको संज्ञा समेत दिन खोजेको थियो । अन्तोतगत मुलुक ७ वटा संघीय राज्यमा रुपान्तरण त भयो, लिम्बूवान भनेर ओकल्न सकेन ।

शान्तीपूर्ण आन्दोलनमा अगाडि बढ्दै आएको जनमुक्ति पार्टीले यो मुलुकमा पार्टीले उठाएको १२ वटा प्रान्तीय राज्य निर्माण गरेरै छाड्ने अध्यक्ष पन्धाक ठोकुवा गर्छन् । जातीय मुक्तिको बाटोमा लागेका पन्धाक यो मुलुकमा संघीय राज्य पूर्णता नभएसम्म र सबै वर्ग, जातिलाई राज्य वा संघीय राज्यमा समानुपातिक प्रतिनिधित्व नगराएसम्म शान्तिको दीयो नबल्ने उनको अडान छ । उनी प्रदेश नं. १ अन्तर्गत प्रदेश सभाको लागि समानुपातिक उम्मेद्वारका रुपमा उभिएका छन् ।

विभिन्न जातीय तथा सामाजिक संघसंस्थामा लामो अनुभव बटुलेका पन्धाक डिपो मावि धरानका सल्लाहकार, याक्थुम पन्धाक संघका केन्द्रीय अध्यक्ष, किरात याक्थुम चुम्लुङ सुनसरीका कोषाध्यक्ष, राष्ट्रिय परिषद जिल्ला सल्लाहकार, ल्याबोटोरी विद्यालयका सल्लाहकार, सिद्धार्थ लाइबेरीका सल्लाहकार, बुढासुब्बा सहकारीका सदस्य, भूतपूर्व सैनिक टेनजीआरका सल्लाहकार र आफ्नै टोल मेङछेयाम टोल सुधार समितिका अध्यक्ष भएर काम गरिसकेका छन् । उनी एक दर्जनभन्दा बढी संगठनबाट सम्मानित भईसकेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी, ललित–अमर डिपोकप, डिपो मावि, टेनजीआरका साथै बिटिस आर्मीमा कार्यरत हुँदा अमेरिकाको ६ महिने तालिममा उत्कृष्ट सम्मान पाइसकेको बताउँछन् ।

शान्त स्वाभावका अमर अध्ययनशिल र पार्टीभित्र कर्मठ व्यक्तिको रुपमा उनी चिनिन्छन् । २००५ साल कात्र्तिक ६ गते ताप्लेजुङको साँघु ताम्ब्राङ–९ मा जन्मेका पन्धाकका दुई श्रीमती एक छोरा र तीन छोरी छन् । उनी धरानमा बसी राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान क्षेत्रका ९ जिल्लामा संगठनका काम गर्दै बसेका छन् । उनीसँग यलम्वर टाइम्सले गरेको चुनावी वार्ता तल उल्लेख छ :

तपाईको पार्टी राष्ट्रिय पार्टी बन्न सक्छ त ?

– यो पार्टीको विचार र चरित्र राष्ट्रिय पार्टी हुन लायककै छ । राज्यले राष्ट्रिय पार्टी हुन नदिएतापनि यस पार्टीले उठाएको दर्शन यो बेला राष्ट्रिय पार्टी हौ भन्नेहरुका लागि बहस बनेको छ । त्यसैले पनि यो पार्टी यस पटक राष्ट्रिय पार्टी भएरै छाड्छ । हिजो हामी चुनाव लड्दा ५५ जिल्लामा सीमित थियौं । अहिले हामी मेची–महाकालीका ६७ जिल्लामा केन्द्रीत छौं । त्यति मात्र होइन, स्थानीय चुनावमा धेरै प्रतिनिधिहरु निर्वाचित भएको हुनाले पनि हामी अतिवादले निर्माण गरेको थे्रसहोल्ड काटेरै छाड्छौं ।

अतिवाद भनेको के हो ?

– जो आफू मात्रै सर्वोसत्ता ठान्छ, सानालाई मुल्य र मान्यताबाट बाहिर राख्छ, त्यति मात्र होइन यहाँका आदिवासी जनजाति, उत्पीडनमा परेका वर्ग, सम्प्रदायलाई राज्यको मूल धारमा ल्याउन चाहँदैन, नचाहने दल वा व्यक्तिलाई अतिवाद सोच भएको भन्न खोजिएको हो ।

तपाईहरु चाँही ?

– हामी सबै वर्ग, सम्प्रदायलाई समान अधिकार दिन्छौं र दिनुपर्छ भन्ने पहिलो दल भएको हुनाले उत्पीडन वर्गका आवाज उठाउँदै सत्तामा पुराएरै छाड्छौं ।

तपाईको पार्टीको आधार इलाका कुन क्षेत्रलाई ठान्नुभएको छ ?

– पूर्वमा हामीले लिम्बूवानको संगम थलो इलामको लारुम्बा (माङसेबुङ) लाई जनमुक्ति पार्टीको उद्गम थलोको रुपमा हेरेका छौं । जहाँ हाम्रा पार्टीका कार्यकर्ताले वडाध्यक्ष सहित प्यानल नै जितको ठाउँ हो । त्यस ठाउँमा पार्टीका राष्ट्रिय अध्यक्ष केपी पालुङ्वा उठ्नु भएको छ । सम्भवत हामी त्यहाँ जितेरै छाड्ने छौं । हाम्रो उम्मेद्वारीले त्यस क्षेत्रका जनता उत्साहित पनि हुनभएको छ । भने प्रदेश सभा सदस्यमा इलाम क्षेत्र नं. २ ‘क’ मा भक्तिदास राई र ‘ख’ जयकुमार केरुङ उठ्नुभएको छ । उहाँहरुको उम्मेद्वारीले त्यस क्षेत्रको विकास अवश्य हुनेछ भन्ने मलाई लागेको छ ।

यसरी नै पश्चिममा हामीले रुपन्देही जिल्लालाई पार्टीको उद्गम थलोको रुपमा लिएका छौं । त्यहाँ हामीले थोरै मतान्तरले मेयर र उपमेयर पदमा पराजय भोग्नु परेको थियो ।

तपाईहरुको चुनावी नारा चाँही के हो त ?

– हामीले ३८ बुँदे पार्टीको प्रतिवद्धता सार्वजनिक गरिसकेका छौं । देश भ्रष्टाचारले खाइसकेको हुँदा भ्रष्टाचारलाई देश निकाला, युवाहरुलाई स्वदेशमै भत्ता सहितको रोगजार, वृद्ध, असाहय, अपाङ्ग, एकल महिला वा पुरुषलाई बाँच्न सक्ने भत्ता दिने हाम्रो नारा छ । त्यो कुरा अवश्य पुरा गरेर छाड्छौं ।

वृद्ध भत्ता पनि ?

– यो पार्टीको उदयसँगै वृद्ध भत्ताको पहिलो आवाज उठाउने राजनीतिक दल भएको हुनाले हामी सरकारमा पुगे अहिले खाँदै आएका वृद्ध भत्तालाई सम्मान साथ बढाएर लानेछौं । बेरोजगार, शिक्षित बेरोजगारहरुलाई पनि भत्ताको व्यवस्था गरेर बाहिर खाडी मुलुक जानबाट रोक्ने प्रयासमा हाम्रो ध्यान जानेछ ।

लारुम्बावासीलाई तपाईको सन्देश नि ?

– त्यस क्षेत्रबाट अन्य दलहरु पटक–पटक विजय हाँसिल गरेर जानुभयो तर, त्यहाँका विकासमा उहाँहरुको ध्यान पटक्कै गएन । अहिले पनि लारुम्बामा बर्खाको समयमा गाडी पुग्न सकेको छैन । त्यहाँ गाडी नपुग्नु भनेको दुःख लाग्दो र त्यो भन्दा अर्को अन्याय लारुम्बावासीलाई के हुन सक्छ ? त्यसैले लारुम्बा मात्र होइन, क्षेत्र नं. २ को चौतर्फी विकासको लागि हाम्रो पार्टीको ध्यान पुगेको छ । सारा किराँत धर्मावलम्बीहरुको उद्गम थलोको रुपमा विकास गरेर हामी लानेछौं । त्यसैले हामी त्यस क्षेत्रबाट जितेर गएमा मुन्धुमी विश्वविद्यालय, शाहकारी नमूना गाउँपालिका र संसारका किराँतीहरु त्यस क्षेत्रमा आउने वातावरण बनाउनका साथै त्यस क्षेत्रको आर्थिक उन्नति र रोजगारको उचित व्यवस्था गर्ने लक्ष्य रहेको छ ।

लिम्बूवान क्षेत्रमा कति उम्मेद्वारी परेका छन् त ?

– लिम्बूवान क्षेत्रका ९ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभामा हाम्रा सशक्त उम्मेद्वारी परेको छ । चुनाव चिन्ह घर भएको हुँदा यस पटक लिम्बूवानी जनताले घरलाई माया गरेर आफ्नो मत जाहेर गर्ने छन् । स्थानीय चुनावमा लिम्बूवान पार्टीलाई पनि हामीले आफ्नो चुनाव चिन्हमा लड्न सहयोग गरेका थियौं । अब संघीय लिम्बूवान राष्ट्रिय मञ्च लिङ्देन समूह र संघीय लिम्बूवान पार्टी पालुङ्वा समूहले पनि आफ्नो मातृ पार्टीको रुपमा जनमुक्तिको चुनाव चिन्ह घरलाई माया गर्ने छन् । त्यसकारणले पनि हाम्रो पार्टी राष्ट्रिय पार्टी बनेर छाड्ने छ ।

अन्त्यमा केही छ कि ?

– हामी सोझा छौं । इमान्दारिताका साथ राजनीति गर्छौ । भ्रष्टाचार अन्त्यका लागि उठ्नुपर्छ । देश बचाउँन जनमुक्ति पार्टीको चुनाव चिन्ह घरमा भोट दिन जुट्नुपर्छ भन्ने लाग्छ ।

३६४ दिन अरुका कुरा सुन्यौं । निर्णायक एक दिन हुनेछ । त्यो मतदान गर्ने दिन त्यस दिन घर चिन्हमा मत जाहेर गर्यौं भने ३६४ दिन हाम्रो विजय हुनेछ । यही अनुरोध गर्छु ।