[कुमार भट्टराई]
अहिले देश चुनावमय भएको छ । शान्त मनले सम्झने हो भने देशमा अब राजनीतिक आन्दोलन सकिएको छ । अहिले देशका नागरिकले कुनै तानाशाहका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छैन । पूर्णरुपमा जनता आफै देशको मालिक हुने अवसर सिर्जना भएको छ । यस सुनौलो अवसरमा बनेको संविधानले थ्रेसहोल्ड राखेपछि साना दलहरु आँत्तिएर ध्रुविकरण भएका छन् भने ठूलै दलहरु समेत लोकतान्त्रिक तथा बामका नाममा संगठित भएका छन् । संगठित हुनु राम्रो हो तर विउ जोगाउने निहुँमा मात्र संगठित हुनेहरुले यो देशमा कहिल्यै स्थिर सरकार बन्न दिने छैनन्, त्यो पनि पक्का हो ।
धु्रविकरण हुनेहरुका आआफ्ना पक्का एजेण्डाहरु होलान्, भोलि गर्लान् पनि । तर अहिलेसम्मको अवस्था हेर्दा कसैले पनि चुनावका बेला लेखेको घोषणापत्र चुनावपछि पल्टाएर पढेको जस्तो देखिंदैन । त्यसैले त होला विकासको गति सुस्त छ । २०४६ सालको आन्दोलन पश्चात् प्रजातान्त्रिक सरकारका लागि ०४८ सालमा भोट हालेदेखि हालसम्म पाँच जना सांसदहरु बनाइएको छ । उनीहरुले गरेको विकासलाई लिपिवद्ध गर्ने हो भने मेरो क्षेत्र भने शुन्य छ । यस शुन्यताका बीच पनि केही त विकास भयो, तर त्यो सांसदहरुले गरेको भन्दा पनि समयचक्रले गराएको विकासक्रम हो भन्दा अतियुक्ति हुँदैन ।
म अर्जुनधारा नगरपालिकाको बासिन्दा । यसभन्दा अघि शनिश्चरे गाउँ पंचायत, शनिश्चरे गाविस, शनिअर्जुन नगरपालिका र हाल अर्जुनधारा नगरपालिका भएको छ मेरो घरको ठेगाना । राजनीतिक परिवर्तनले पंचायतकाल, प्रजातान्त्रकाल र हाल लोकतान्त्रिक गणतन्त्रकाल पनि भोगिसकेको छ यो जीवनले । क्षेत्रगत भोट हाल्न समेत झापा क्षेत्र नं. २, ४ र हाल फेरि २ नं. क्षेत्रका रुपमा यो परिवर्तन भएको छ । हरेक पटक क्षेत्र परिवर्तन हुँदा बेग्लाबेग्लै गाउँ र नगरहरु यसमा जोडिएका छन् । तर यत्रो महान् परिवर्तन र उपलब्धि पश्चात् मैले र मेरो गाउँले पाएको परिवर्तन भने मेरो बढ्दो उमेर मात्र छ ।
प्रजातन्त्र पश्चात् तीन पटकको स्थानीय चुनावमा एमालेका प्रतिनिधि मेरो गाविस प्रमुख भए भने चार पटक एमालेका र एक पटक माओवादीका उम्मेद्वार मेरो क्षेत्रका सांसद भए । विजयी पाँच मध्ये चार सांसद त मन्त्री भए । देवी ओझा, केपी ओली, सिपी मैनाली, धर्मशीला चापागाई मेरो क्षेत्रका विजयी सांसद सहित मन्त्री भएको नाम हो भने पछिल्लो पटक सभासद् हुँदै सांसद बनेका प्रेम गिरी मात्रले सो सौभाग्य प्राप्त गर्न सकेनन् । कुनै बेला मेरो क्षेत्रबाट विजयी हुने केपी ओली त इतिहासको कालखण्डमा एमालेका अध्यक्ष तथा देशकै प्रधानमन्त्री भए । मेरो क्षेत्रबासीले गर्व गर्ने ठाउँ छ, इतिहासमै केपी ओलीलाई जनताबाट अनुमोदित हुने अवसर यसै क्षेत्रबासीले दिएका हौं ।
अब प्रश्न उठ्छ – उनीहरुलाई भोट जिताएर हामीले के पायौं ?
मेची अंचल नै कुनै बेला लालकिल्ला थियो । कतिपय ठाउँ अन्य पार्टीले जित्दै गएपछि लालकिल्ला हराउँदै आयो । तर मेरो क्षेत्र वा भनौं मेरो नगर आजसम्म लालकिल्लाको बनेरै बसेको छ । त्यो साख यस क्षेत्रका नागरिकले जोगाउँदै आएका पनि छन् । अब प्रश्न उठ्छ –त्यो साख जोगाए वापत् यस क्षेत्रका नागरिकले के पाए ? जब चुनाव लाग्छ, हिजो जित्ने पार्टी मेरो गाउँ फर्किन्छ र फेरि जनतालाई आश्वासन बाँड्छ र भन्छ( ‘हामी गरिबको पार्टी, अवसर पायौं भने जनताको पक्षमा काम गरेर देखाउँछौं ।’ हामी सोझा छौं, फेरि ढाँटिन तयार छौं । ‘काम किन गरेनौं’ भनी कसैले प्रश्न गरे एउटा तयारी उत्तर हुनेछ, ‘अधिकांश समय कांग्रेसले सरकार बनायो, त्यसैले केही गर्न सकेनौं, हाम्रो बहुमतको सरकार बनाउन दिनुहोस्, काम गर्ने छौं ।’ अब प्रश्न गर्न मन लाग्छ( तपाई आफै मन्त्री हुनु भयो, के त्यो सरकार तपाईको थिएन ? सोध्न मन लाग्छ कांग्रेसले गर्न दिएन भन्नेहरुलाई( ‘अहिलेको बाम गठबन्धनभित्र मात्रै चार जना प्रधानमन्त्री भएका मान्छे छन्, त्यस बेला यस क्षेत्रको काम गर्न नसक्ने सांसदज्यू ! अब कस्तो सरकार चाहिएको हो ?’ ढाँटिनुको पनि सीमा हुन्छ । छब्बीस बर्ष नाघेको छ मेरो क्षेत्रमा कम्युनिष्टहरुले राज गरेको । अब फेरिने बेला आएको छ ।
हामी आफूलाई बौद्धिक ठान्छौं । हरेक नागरिक राजनीतिक रुपमा सचेत भयो । अहिलेसम्मको कालखण्डलाई हेर्दा राजनीतिक रुप विद्रोहयुक्त रहेछ । जहिले पनि क्रान्तिसँग मात्र जोडिएर आएछ । त्यसैले हामीलाई नकरात्मक कुराहरु मात्र सुन्ने बानी भएछ । त्यसैले हाम्रा घरमा आउने नेताहरुले जति अरुलाई गाली गर्छन्, त्यसलाई नै राजनेता मान्ने बानी बसेछ । आफूलाई बौद्धिक ठान्ने हामीहरुको पार्टीप्रतिको अतिवादी सोचले कतिपय विकासक्रमलाई गति दिन सकेको छैन । प्रक्रियागत राज्य संचालन विधिभित्र छिर्न देशलाई अझै केही बर्ष लाग्छ । किनकि हाम्रो देशमा नीतिभन्दा ठूला नेता छन् । जबसम्म नेता ठूला हुन्छन्, विकासको विनियोजन उनीहरुको सोचमा भर पर्छ । यस्तो बेलामा हामी मान्छे असल त खोज्छौं तर हाम्रो अतिवादी सोचले व्यक्ति छनौटमा गरेको गलत निर्णयले हाम्रो क्षेत्र कहिल्यै विकास हुन दिएको छैन ।
मेरो क्षेत्रमा बामहरुले गरेको एउटै राम्रो काम हो, सुखानीलाई ल्याएर नमूना सामुदायिक वनमा प्रतिस्थापन । हुन त आम नागरिक बीच केही असन्तुष्टि सँगै आएको छ । सार्वजनिक वन एउटा संस्थाले कब्जा गरेको छ, त्यसको करोडौंको हरहिसाब कहिल्यै स्थानीय नागरिकले सूसुचित हुने गरी सार्वजनिक गरिएको छैन । न त त्यसबाट प्राप्त आम्दानी कर नगरपालिकाले लिने गरेको छ । त्यति हुँदाहुँदै पनि त्यसबाट स्थानीय धेरैले रोजगारी पाएका छन् । व्यवसाय चलाएका छन् । यातायात सहज भएको छ । सरकारले त्यस क्षेत्रमा भौतिक पूर्वाधारहरु बिस्तार गर्दैछ । त्यसैले यो हुनु मेरा लागि गर्व गर्न लायक नै भएको छ । त्यस बाहेक मेरो क्षेत्रमा बाँकी विकासको सूची खोई ?
अहिले मेरो क्षेत्रमा बाम गठबन्धनको विरुद्ध कांग्रेसले उद्वव थापालाई उम्मेद्वार बनाएको छ । उनले वार्डबाट राजनीति गरेर झापा कांग्रेसको सभापति भएर यस क्षेत्रको नाम राखे । विकासका लागि सधैं गाउँ बसे र गाउँकै राजनीति गरे । विकासका लागि आफू जिम्मेवार पदमा नभए पनि ठूला र देखिने योजनाहरु भित्र्याए । त्यति मात्र होइन, लोकतन्त्रको पक्षमा आन्दोलन गरिरहँदा निरंकुशताबादीले सेनाको बंकरमा राखेर मरणासन्न हुन गरी शारीरिक यातना दिए, तर उनी डग्मगाएनन् । लोकतन्त्र संस्थागत हुनुपर्छ, गाउँ विकास हुनुपर्छ भनेर लागिरहँदा हालै अर्का निरंकुशतावादीले घरमा बम पड्काए । तर पनि उनी अटल छन् ।
अब हरेक पार्टी आर्थिक तथा सामाजिक विकासका पक्षमा अघि बढ्नु पर्छ भन्ने योजना लिएर आएका छन् । किनभने सिद्धान्तत न त कम्युनिष्ट नाम धारण गर्नेहरु कम्युनिष्ट रहे ? न त त्यसको नेतृत्व गर्नेहरु अब सर्बहारा रहेका छन् ?
आम नागरिकलाई चाहिएको सामाजिक सुरक्षा, ग्रामीण विकास र अन्यायको विरुद्ध न्यायिक सरकारको अभिलाषा हो भने किन त्यसैका लागि जीवन अर्पण गरेर बसेका उम्मेद्वार नछान्ने ? अब बेला भएको छ परिवर्तनको ।
भगवान्ले हरेक मान्छेलाई आफ्नै किसिमका स्वभावहरु दिएका छन् । त्यसैले त व्यक्तिगत कमजोरी कसका हुँदैनन् ? हरेक मान्छे आफ्ना कमजोरीबीच राम्रो हुने प्रयास गरिरहेको छ । तीहरु माझ यतिखेर मलाई मेरो क्षेत्रको समग्र सुन्दर विकास चाहिएको छ । त्यसैले यो छब्बिस बर्ष पुरानो पर्खाल भत्काएर विकासमा उद्वव थापालाई जोड्न सके पाँच बर्षमा मेरो गाउँले रुप फेर्छ भन्ने लागेको छ । जो जहाँ जहाँ छौं, त्यहींबाट माटो उठाएर छातीमा हात राखौं र विकासका लागि योग्य उम्मेद्वार छानौं ।