दमक–लारुम्ब–रवि हुँदै पहाडी जिल्ला जोड्ने फाल्गुनन्द मार्ग मुद्दा मात्रै बन्ने, काम कहिल्यै नहुने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

दमक–लारुम्ब–रवि हुँदै पहाडी जिल्ला जोड्ने फाल्गुनन्द मार्ग मुद्दा मात्रै बन्ने, काम कहिल्यै नहुने


यलम्वर टाइम्स
१७ मंसिर २०७४, आईतवार ०५:१७

दमकबाट इलामको लारुम्बा हुँदै पहाडी जिल्ला जोडिने सडक खण्ड । जहाँ मावा खोलाको धारैधार हिंड्नुपर्ने बाध्यता त्यतिकै रहेको छ ।

[विष्णु सुब्बा]

दमक । झापाको दमकदेखि पाँचथरको रवि हुँदै पहाडी जिल्ला जोड्ने फाल्गुनन्द सडक मार्गले हरेक निर्वाचनमा महत्वका साथ चर्चा पाउदै आएको छ । झापा मात्र होइन् इलाम, पाँचथरका संघसंस्थादेखि त्यस क्षेत्रका राजनीतिक दलहरुले चुनावको मुखमा त्यस सडकलाई चुनावी एजेण्डाका रुपमा अघि सारिआएका छन् ।

२३ बर्षदेखि निर्माण शुरु भएको करिब ४७ किलोमिटर लामो दमक–चिसापानी–रवि सडक निर्माण कार्य हालसम्म पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् । पश्चिमी इलाम र पाँचथरका एक दर्जन बढी गाँउपालिकासँग जोडिने त्यस सडक नियमित रुपमा सडक सञ्चालनमा आउन सके त्यस क्षेत्रका बासिन्दाहरुको मुहार फेरिने आशमा छन् । तर पटक–पटक राजनीतिक परिर्वतन भए पनि यस क्षेत्रको सडक निर्माणको काम एजेण्डाभन्दा माथि उठ्न नसकेको स्थानीयहरुको गुनासो छ ।

त्यस्तै दमक–चिसापानी–रवि सडक निर्माण उपभोक्ता समितिदेखि दमक उद्योग वाणिज्य संघको चुनाव ताका पनि यस सडकले नाराका रुपमा प्राथमिकता पाएको थियो । गएको स्थानीय तहको निर्वाचनमा साना तथा ठूला दलहरुले फाल्गुनन्द मार्ग सडक कयौं पटक पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

मंसिर १० मा सम्पन्न पहिलो चरण अन्तर्गतका पाँचथरका उम्मेद्वारहरुले पनि यस सडकको नारा निकै घन्काए । मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यस सडकलाई विकास गर्न अनेकौं योजना प्रचार गर्न भ्याइनभ्याई भएका छन् उम्मेद्वारहरु ।

फाल्गुनन्द मार्ग सडकको नारामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व सभामुख सुवास नेम्वाङ्ग, कांग्रेस केन्द्रीय सदस्य भीषमराज आङ्गदेम्बेलगायतका नेतृत्वले पनि चुनाव ताका यस मुद्दालाई उठाँउदै आएका छन् । फाल्गुनन्द सडकले दमकदेखि इलाम, पाँचथर जोडिने भएकाले पनि चुनावमा यसले महत्व पाउँदै आएको छ ।

उहाँहरु मध्ये ओली झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् भने नेम्वाङ पनि एमालेबाट इलाम–२ मा प्रतिनिधीसभा सदस्यका उम्मेदवार हुन् । कांग्रेसका आङदेम्बे भने पाँचथरबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भएका छन् ।

दमक-इलाम सम्पर्क मञ्चका अध्यक्ष पदमशंकर आङदेम्बे दलहरुले चुनाबमा भोट तान्न यस सडकलाई प्रमुख रुपले उठाउदै आएको बताँउछन् । हरेक चुनावमा यस सडक पूरा गर्ने आश्वासन मात्रै बन्दै आएको गुनासो आङदेम्बे सुनाउछन् । भन्छन् , -‘ दलहरुले मात्र होइन्, यहाँको कतिपय सामाजिक संघसंस्थाको चुनावमा यस सडकलाई भजाएर मत बटुल्ने माध्यम बनेको छ, यस सडक ।’

दमक-१ निवासी आङदेम्बेका अनुसार यस सडकलाई चुनावको मुखमा राजनीतिका लागि अस्त्र गतिलो बनेपनि भने अनुसार काम गर्न भने दलहरु चुकेको छन्  । यतिका लामो समय विते पनि त्यस अनुरुप सडकको प्रगति हुन नसकेको आङदेम्बेको गुनासो छ । उनी भन्छन् , -‘ चुनावमा मात्र प्रयोग गर्ने विषय बनाईनु हुदैन् ।’

यसपटकको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि दलहरुले आफ्नो स्थानीय घोषणा पत्रमा यस सडकलाई महत्वका साथ समावेश गरेका छन् । नेपाली कांग्रेस, वाम गठबन्धनका उम्मेदवारहरुले आफूलाई विजयी गराए यस सडकलाई हिउँद ,वर्षाभरिनै यातायात सञ्चालन हुने गरि सडक बनाउने घोषणा पत्रमा मुख्य एजेण्डा नै बनाएका छन् ।

नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर खगेन्द्रपाण्डव अधिकारी कांग्रेसले यहाँको नेतृत्वको अवसर पाए यस सडकलाई पाँच वर्ष भित्रमा नै कालोपत्रे बन्ने गरि काम थाल्ने बताउछन् । कांग्रेसको स्थानीय घोषणापत्रमा दमकलाई व्यपारिक हवका रुपमा यस सडकलाई पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

‘हामी स्थानीय घोषणापत्रका कामलाई पूरा गर्न चुक्ने छैनौं’ उम्मेदवार डा. अधिकारीले चुनावका मुखमा मात्र यस सडकलाई भजाउने काम गलत भएको बताउछन् । यस सडकको शुरुवातनै कांग्रेसका त्तत्कालीन सांसद स्व.डाक्टर गोपाल प्रसाद कोइरालाको अगुवाईमा भएको दावी उनको छ ।

कांग्रेसले यस क्षेत्रको संसद तथा स्थानीय तहमा नेतृत्वको अवसर नपाउदाँ सडकमा भने अनुरुप काम हुन नसकेको भनाई उनको छ । एमालेबाट प्रतिनिधिसभा सदस्य पदका समानुपातिक उम्मेदवार होमबहादुर थापाले फाल्गुनन्द मार्ग चुनाव ताका मात्र चर्चा पाउनु ठिक नभएको बताउछन् ।

‘एमालेले यस सडकको कामलाई प्राथमिकता राखेको छ ’ निर्वाचन परिचालन कमिटी झापा, क्षेत्र नम्बर ५का संयोजक समेत रहेका थापाले भने -‘ एमाले विकास चाहन्छ, हामी आश्वासन देखाएर मत माग्दैनौं ।’ उनले वामगठबन्धनले सार्वजनिक गरेको स्थानीय घोषणापत्रमा फाल्गुनन्द सडकलाई तीव्र ढंगले काम गरेर पूरा गर्ने प्रतिवद्धता उल्लेख छ ।

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले पनि फाल्गनुन्द सडक पूरा गर्नका लागि आफना उम्मेद्वारहरुलाई निर्वाचित गराउन सार्वजनिक प्रतिवद्धता जनाएका छन् । सो पार्टीबाट झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम जवेगुले फाल्गुनन्द सडक यतिका लामो पूरा नहुनु ठुला दलहरुको विकास प्रति स्पष्टता नभएको आरोप लगाउछन् । ‘हामीले स्थानीय घोषणापत्रमा फाल्गुनन्द सडकलाई प्राथमिकताका साथ उठाएका छौं ’ उम्मेदवार जवेगुले भने –‘ चुनावमा सपनाको खेती बाँढ्ने चलन गर्दनौं । विजयी भएपछि यस सडकलाई तीव्र ढंगले पूरा गर्नें छौ ।’

यसैगरि इलामको माङ्गसेबुङ्ग गाँउपालिकाकी उपाध्यक्ष सुनिता सुब्बाले दक्षिणी पहाडी भेगसंग जोडिने यस सडकको काम अपेक्षाकृत हुन नसकेको बताउछिन् । राज्यको नीति निर्माण तहमा यस क्षेत्रबाट प्रतिनिधित्व भएपनि यस सडकको कामले गति नपाउनु दुखद भएको उपाध्यक्ष सुब्बा ठान्छिन्  । उनले भनिन् , -‘ सडक राम्रो नभएकाले ४७ किलोमिटर सडक यात्रा गर्न आधा दिन लाग्छ ,अहिले यो सडकको आधा भाग रतुवा नदी हुदैं हिड्नुपर्नें बाध्यता रहेको छ ।’

यता दमक-रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले चुनावको मुखमा मात्र यस सडकको कुरा गर्ने र अरु बेला कान नसुन्ने प्रवृतिका कारण यतिका लामो समयसम्म सडक पूरा गर्न नसकिएको बताउछन् । हालसम्म त्यस सडकको डिपीआर मार्फतनै टूयाक खोल्ने काम मात्र सकिएको बताउदै अब द्रुत गतिमा काम अघि बढ्ने उनको दावी गरे ।

दमक बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर नेत्रबहादुर बुढाथोकी दमकदेखि पूर्वी पहाडी भेग जोडिने यस सडकलाई राजनीतिक दलहरुले भोट तान्ने प्रतिबद्धता मात्र बनाईदै आएको जिकीर गर्छन् । दमकको भविष्यसंग जोडिएको त्यस सडक मार्ग पूरा भए मात्र यस क्षेत्रले विस्तारै काँचुली फेर्नें तर्क उनको छ ।

उनका अनुसार यतिका वर्षसम्म फाल्गुनन्द सडकको काम तिव्र रुपले काम नहुनु तथा राज्यको प्राथमिकता पनि कम पाउदैं आएकाले स्वभावले यसले चुनावी मुद्दा बोक्दै आएको छ । उनी थप्छन् , -‘ चुनावी मुद्दा मात्रले यसलाई राजनीति नारा बनाईनु हुदैंन् ।’

झापाको दमकको बेलडागी शरणार्थी शिविर हुदै जाने सो सडकको आधा भाग रतुवा नदीमा पर्छ । वर्षातको समयमा नदीको वहाव बढेपछि त्यो बाटो हुदैं सवारीका साधनहरु आधा वर्षनै आवतजावत गर्न सक्दैनन् ।

सडकको १२ किलोमिटर क्षेत्र चुरेमा पर्छ । दमक-रवि सडक सम्पन्न भए मेची राजमार्गभन्दा ८१ किलोमिटर छोटो दूरी हुने छ । सो सडक निर्माण भए मेची अञ्चलका पहाडी जिल्लाका ५ लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।