कला, संस्कृतिलाई कञ्जुस्याँई गर्ने दिन गएः प्रमुख राना « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

कला, संस्कृतिलाई कञ्जुस्याँई गर्ने दिन गएः प्रमुख राना


यलम्वर टाइम्स
१८ मंसिर २०७४, सोमबार ०८:२६

अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले अब विभिन्न जातजातिका कला, पर्व र सांस्कृतिक परम्परालाई कञ्जुस्याँई गर्ने दलहरु आफै पछि पर्ने भएको बताएका छन् ।

किराँत याक्थुम चुम्लुङ अर्जुनधारा नगर समितिद्वारा टाङटिङ नदिको किनारमा चासोक पूजासँगै उक्त पर्वको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका रानाले त्यो बेला ४ जात ३६ वर्णको फूलबारी किताबमा त लेखियो तर, व्यवहारमा उतारिएको थिएन । अब लोकतान्त्रिक गणतन्त्रको पूर्ण सरकारले ३६ वर्णको फूलबारीलाई व्यवहारमा उतारेर सबैको सम्मान गरिने दिन आउने बताए ।

प्रमुख रानाले वर्षेनी चासोक पूजा गरिने ठाउँ र माङहिम निर्माण गर्ने स्थल शिलान्यास गरेका थिए । उक्त निर्माण स्थलाका लागि आवश्यक सहयोग नगरले गर्ने वचन दिएका थिए ।

सोही कार्यक्रममा लिम्बू जातिबाट नगरपालिकाको स्थानीय निर्वाचनमा विजयी भएका वडा नं. ७ का नगर सदस्य सन्तोष नेम्वाङ (ऐतराज), वडा नं. ४ का नगर सदस्य राधिका जवेगू, वडा नं. १० का नगर सदस्य फिवराज लिम्बूलाई प्रमुख रानाले सम्मानपत्र, चुम्लुङका चित्रा फागोले खादा र नगर अध्यक्ष तिलसिंह माङ्मुले अविर लगाई सम्मान गरेका थिए भने सम्मानपत्र युवा समाजसेवी नरेन्द्रदेव इङ्नामले वाचन गरेका थिए ।

कार्यक्रममा झापा क्षेत्र नं. २ प्रदेश ‘ख’का वाम गठबन्धनका उम्मेद्वार बृख प्रधानले जातिको सम्मान र अधिकारका लागि आफू सक्रिय रहने बताए । कार्यक्रममा जनमुक्तिका प्रदेश नं. १ का समानुपातिक उम्मेद्वार मीना पन्धाकले अधिकार सहित पहिचान स्थापना गरेर अगाडि बढे सबै जातिको विकास हुनेमा दुईमत नहुने बताए । समाजसेवी नरबहादुर कन्दङ्वाले चुम्लुङले सिकाएको र दिलाउन खोजेको अधिकार एक नभएसम्म प्राप्ति नहुने बताए ।

कार्यक्रममा सशस्त्र वेश क्याम्प खुदुनाबारीका प्रमुख सोम श्रेष्ठ, मेची जीप व्यवासयी संघका उपाध्यक्ष महेन्द्र आङ्दाम्बे, राष्ट्रिय जनमुक्ति पार्टीका सचिव पदम लिम्बू, विशिष्ट अतिथि महागुरु फाल्गुनन्दका जीवित चेला बलिराज इङ्नाम, खगेन्द्र इङ्नाम, मदनपुर युवा क्लबका राजेश जवेगू लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा लिम्बू जातिहरुले खल्दै आएका पुराना छेलो हान्ने, हेन्ड बल र लठ्ठाडोरी तान्ने प्रतियोगिता समेत भएको थियो । छेलोमा प्रथम राजेश जवेगू, दोस्रो विजय सेन्दाङ भएका थिए भने महिला तफै दिलमाया श्रेष्ठ र आरती लिम्बू प्रथम र दोस्रो भएका थिए । यसरी नै हेन्ड बलमा आरती लिम्बू र साईमा लिम्बू प्रथम र दोस्रो भएका थिए ।

लठ्ठा तान्ने प्रतियोगितामा भने राजेश जवेगू र रुपेश नेम्वाङको टिम विजयी भएका थिए । निकै उत्साहका साथ भएको कार्यक्रममा बिहानीपख टाङटिङ नदीको किनारमा किराँत धर्मका गुरुहरुबाट गालीश्राप बहन गर्नका साथै नयाँ अन्न चढाउने काम भएको थियो । कार्यक्रमलाई रोचक बनाउनका लागि सारेग कला केन्द्र खुदुनाबारीले मनोरञ्जनात्मक सांगीतिक पस्केका थिए भने पुराना कलाकार अम्मर नेम्वाङले लिम्बू भाषाबाट जागरण गीत गाएका थिए ।

चुम्लुङ अध्यक्ष तिलसिंह माङ्मुको सभापतित्वमा भएको तङ्नाम कार्यक्रममा स्वागत रामकुमार इजमले गरेका थिए । कार्यक्रमलाई सफल बनाउन यस क्षेत्रका चुम्लुङमा आवद्धहरुको सक्रिय उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन खगेन्द्र लिङ्देनले गरेका थिए ।