यसपालीको निर्वाचनमा वृद्ध, असाहयहरु नै मतदान गर्न उत्साहित « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

यसपालीको निर्वाचनमा वृद्ध, असाहयहरु नै मतदान गर्न उत्साहित


यलम्वर टाइम्स
२३ मंसिर २०७४, शनिबार ०२:०७

मतदान गर्न आएका एक असाहय छिमेकीलाई सहयोग गर्दै स्थानीय युवा दिपेन्द्र कटुवाल । उनले आफ्नो क्षेत्रका असाहयहरुलाई ठेलामा बोकेर मतदान केन्द्र पुर्याएका थिए ।

अर्जुनधारा । यसपाली सम्पन्न भएको चुनावमा मतदान गर्न आउनेहरुको संख्यामा वृद्ध, असाहय, असक्त बढी भएको देखिन्थे ।

युवा शक्तिहरु स्थानीय चुनावमा उत्साहित देखिन्थे भने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा वृद्धहरुको संख्या उल्लेखनीय थियो । सायद आउने साल यो ज्यान रहने हो कि होइन भन्दै हलुवागढमा एक वृद्ध आफन्तसँग भोट हाल्न आएका थिए । बिहीबार उल्लासमय ढंगठबाट भएको निर्वाचनमा ७१.५५ प्रतिशत मत झरेको बताइएको छ ।

बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानको प्रारम्भिक बिवरण अनुसार झापामा ७१.५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए ।

५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली कांग्रेस र बाम गठबन्धनकै उम्मेद्वारहरु बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बिहीबार भएको मतदानमा कांग्रेस नेता तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका वडा नं. १० को कलबलगुडीमा रहेको मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरे भने काग्रेस केन्द्रीय सदस्य झापा १ का प्रतिनिधि सभा उम्मेद्वार बिश्वप्रकाश शर्माले मेचीनगर वडा नं. ९ स्थीत कविशिरोमणि माबिमा रहेको मतदान केन्द्रबाट बिहान ८ः१५ मा मतदान गरे ।

भने क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वार उद्धव थापाले ८ः४५ बजे आफ्नै स्थान अर्जुनधारा वडा कार्यालयमा मतदान गरेका थिए । झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेको एमाले स्रोतले जनाएको छ । त्यस्तै माओबादी नेता तथा झापा १ बाट बाम गठबन्धनका उम्मेद्वार सुरेन्द्रकुमार कार्कीले मतदान गरेनन् । काठमाण्डौमा मतदाता नामवली रहेका कार्की झापा १ मा नै रहेकाले उनले मतदानमा सहभागि हुन पाएनन् ।

त्यस्तै झापा ३ बाट बाम गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले हल्दीबारीबाट मतदान गरे । झापामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । झापामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले जानकारी दिए ।

शुक्रबार बिहान मत गणना गरिने भनिएतापनि १२ बजेपछि मात्र मत गणना सुरु गरिएको थियो । मत गणनाको पछिल्लो परिणाम अनुसार सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता हाँसिल गरेको थियो भने क्षेत्र नं. १ र २ मा भने कडा प्रतिस्पर्धा हुँदै आएको थियो ।
यसरी नै प्राप्त जानकारी अनुसार ताप्लेजुङमा वाम गठबन्धनका तर्फबाट योगेश भट्टराई र पाँचथरमा वाम गठबन्धनकै बसन्त नेम्वाङ अग्रपन्थीमा रहेका थिए ।