हङकङको साम्सुइपो नेपाली परिवारबाट बाढी पीडितलाई राहत « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

हङकङको साम्सुइपो नेपाली परिवारबाट बाढी पीडितलाई राहत


यलम्वर टाइम्स
१८ पुष २०७४, मंगलवार ११:००

भद्रपुर । गत असारमा परेको अविरल वर्षाका कारण मेची खोलामा आएको बाढीले विस्थापित बन्न पुगेका भद्रपुर नगरपालिका–३ भैसावाडीका १३२ परिवारलाई हङकङको साम्सुइपोमा बसोबास गर्दै आएका नेपालीहरुले राहत प्रदान गरेका छन् ।

श्री आदर्श प्राविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै साम्सुइपो नेपाली परिवारले उक्त क्षेत्रका बाढी पीडितहरुलाई रु. १ लाख ४५ हजार २ सय सहयोग प्रदान गरेका हुन् । आदिवासी समुदायका १३२ घरपरिवारको बसोबास रहेको उक्त गाउँ मेची खोलाको छेउमा अवस्थित छ ।

भद्रपुर वडा नं. ३ राप्रपा नेपालका संयोजक मोहन खरेलको सभापतित्वमा भएको राहत वितरण कार्यक्रममा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य तथा राप्रपा नेपालका महामन्त्रि माननीय राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लिङ्देनले हङकङमा रहेर पनि नेपालीहरुको पीडामा सहयोग प्रदान गरी मल्हम पट्टी लगाउने काम गरेकोमा साम्सुइपो नेपाली परिवारलाई धन्यवाद प्रदान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लिङ्देनले यस क्षेत्रमा वर्षेनी मेची खोलाले दुःख दिने भएको हुँदा त्यसको निवारणमा आफू सक्रिय हुने बताए । उनले भने –‘खोलाले यो वर्ष दुःख दिहाल्यो अब आउने वर्षदेखि दुःख दिने छैन ।’

कार्यक्रममा महामन्त्रि लिङ्देनले पीडितहरुलाई राहत वितरण गर्नु प्रशंसनीय कार्य भएको बताउँदै आगामी दिनमा बाढीको समस्या नै आउन नदिने आफ्नो सोच रहेको बताए । प्रमुख अतिथि लिङ्देनले मेची खोलालाई गाउँ छिर्न नदिनका लागि खोलाको अवलोकन गरिसकेको र बाँधको लागि आवश्यक छलफल गर्दै जाने बताउँदै यस क्षेत्रका जनताले पनि चासो दिएर साथ र सहयोग प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष नवराज पनेरु, प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष राधा कार्की, नगर उपाध्यक्ष पूर्ण राना, ताजु कार्की कौशिला अधिकारी, महेशलाल गणेश, कचनकवल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष महेशलाल गणेश, साम्सुइपो नेपाली परिवार हङकङका हिमालजङ राई लगायतको आतिथ्य रहेको थियो ।

स्थानीय राजवंशी भाषाबाट सुरु गरिएको कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश पार्दै समाजसेवी कुमार राईले बाढी, पहिरो जस्ता प्रकृतिक विपत्त फेरी पनि आउन सक्ने भएको बताउँदै सतर्क रहनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन आदर्श प्राविका शिक्षक बसन्त गणेशले गरेका थिए ।