ओली थाइल्याण्ड उड्नुअघि बालकोटमा बैठक « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

ओली थाइल्याण्ड उड्नुअघि बालकोटमा बैठक


यलम्वर टाइम्स
२६ पुष २०७४, बुधबार ०६:१४

काठमाडौं / एमाले अध्यक्ष केपी ओली  स्वास्थ्य उपचारका लागि थाइल्याण्ड उड्नुअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित कार्यदलको बैठक बसेको छ ।

ओली निवास बालकोटमा बसेको संयुक्त बैठकले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न संयुक्त कार्यदललाई निर्देशन दिइएको छ ।

बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा निर्देशन दिएको छ ।
बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश गरेको  प्रचण्डका  प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

नेताहरुका अनुसार कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ।

रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए ।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिए ।

कार्यदलमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।

रातोपाटीबाट