असाहय तथा बिपन्नलाई दमक नगरपालिकाले स्वास्थ्य उपचार गर्ने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

असाहय तथा बिपन्नलाई दमक नगरपालिकाले स्वास्थ्य उपचार गर्ने


यलम्वर टाइम्स
१९ माघ २०७४, शुक्रबार ०२:००

दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका असाहय तथा अति बिपन्न परिवार कोहि आर्थिक अभावले उपचार नपाएको तथा समस्यामा रहेको भए त्यस्ताको उद्धार गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

नगरपालिकाको पहलमा दुई साताको अवघिमा तीन बालबालिकाको उद्धार तथा उपचार गरेको स्मरण गर्दै त्यस्ता बालबालिका तथा सर्वसाधरण रहे उनिहरुको साथमा नगरपालिका रहेको ओलीले बताएका हुन् ।

लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले दमक ७ की टाँउको ठूलो भएकी बालिकाको उपचारमा सहयोग जुटाउने बिषयमा गरेको लायन्सकर्मीहरुको भेलामा ओलीले यस्तो जनाएका थिए ।

क्लबका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा भएको कार्यक्रममा लायन्स क्लव अफ श्री अन्तुका गोपाल अग्रवालले ११ हजार, लायन्सकर्मी टंकबहादुर श्रेष्ठले ५ हजार नगरपालिकाले बनाएको कोषमा दिएका छन् । नगर प्रमुख ओली र क्लब अध्यक्ष गौतमको रोहवरमा उक्त रकम प्रदान गरिएको थियो ।

यसभन्दा अगाडि नै लायन्स क्लब अफ माउण्ट एभरेष्टले नगरपालिकाको कोषमा क्लबको तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबको पहलमा नै थप ११ हजार रुपैयाँ पनि कोषमा हालेको थियो ।

यसैगरी लायन्सका पूर्व डिस्ट्रिक गर्भनर भीम घिमिरेले ५ हजार १ सय र लायन्स क्लब अफ स्वीट सिटीले पनि ५ हजार १ सय रुपैयाँ कोषमा जम्मा गर्नका लागि दिएको बताईएको छ । लायन्स क्लबका डिस्ट्रिक सेकेण्ड भाइस गभर्नर राजन खत्रीले लायन्स क्लब अफ माउण्ट एभरेष्ट र नगरपालिकाको कामको खुलेर प्रसंशा गरेका थिए ।

अढाइ बर्षिया बालिकाको नोवेल अस्पताल बिराटनगरमा टाँउको शल्यक्रिया भएको छ । मंगलवार बिहान नगर प्रमुख ओली, क्लबका अध्यक्ष गौतम, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ र मनोज अग्रवाल गएर बालिकाको अवस्थबारे जानकारी लिदै उपचारका लागि सहयोग पनि गरेका थिए ।

बालिकालाइ आइसियूबाट झिकिएको र बालिका हाँस्न तथा खेल्न थालेको खबर प्राप्त भएको लायन्सकर्मी बुद्धिशेखर भट्टराइले बताए । बालिकाको अप्रेसन सफल भएको चिकित्सकहरुले बताएको पनि जनाइएको छ ।