स्वच्छ र स्वास्थ खानेपानी खुवाउने हाम्रो दायित्वः नगर प्रमुख राना « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

स्वच्छ र स्वास्थ खानेपानी खुवाउने हाम्रो दायित्वः नगर प्रमुख राना


यलम्वर टाइम्स
१९ माघ २०७४, शुक्रबार ०७:४३

अर्जुनधारा । खुदुनाबारी अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १३ औं साधारणसभा उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले स्वच्छ र स्वास्थ खानेपानी खुवाउन आउने समितिको दायित्व भएको हुँदा त्यसमा नगरपालिकाले सक्दो सहयोग गरेर लाने बताएका छन् ।

अर्जुनधारा–१ सिस्ने स्थित कार्यालय परिषरमा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख रानाले पानीको मुहानलाई सुरक्षित राख्दै जनताको हितका लागि चुस्त समिति निर्माण गरी सर्वहितायको पक्षमा लाग्न शुभकामना दिएका थिए । उनले १४ सय ४ जना उपभोक्ता रहेको यस संस्थामा सबैको उत्तिकै सहभागि हुने आवश्यक रहेको बताए ।

कार्यक्रममा सभापति कमल भण्डारीले संस्थाको गतिविधि बारे जानकारी गराउँदै आउने दिनमा यस संस्थाले अझ वृहत रुपमा सेवामुखी काम गरेर जाने बताए । उनले साधुटार र अर्जुनधाराका लागि एक–एक वटा मुहान र सिस्नेका लागि दुई वटा मुहान प्रयोग भएको हुँदा अर्जुनधारा क्षेत्रमा अझ विस्तार गरेर स्वच्छ पानी वितरण गरेर लाने बताए ।

अध्यक्ष भण्डारीले थपे इलाम जिल्लाको रोङ गाउँपालिका अन्तर्गत बढारे भन्ने ठाउँमा यसै संस्थाको पानीको मुहान निर्माण हुँदै गरेको बताउँदै उक्त पानी सफलतापूर्वक ल्याउन सके यसले लक्ष्मीपुरसम्म पुर्याउन सकिने बताए ।

कार्यक्रममा लेखा प्रमुख त्रिवेन्द्र काफ्लेले वार्षिक आय–व्यय र मलेप, आलेप वाचन गरेका थिए । कार्यक्रममा वडा नं. १ का अध्यक्ष गजाधर खतिवडा, व्यासाचार्य गुरु लक्ष्मीप्रसाद खतिवडा, समाजसेवी सरस्वती सिटौला, केदार पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सहसचिव खिलकुमारी भट्टराईले स्वागत गरेको कार्यक्रममा नयाँ समितिका लागि निर्वाचन आयोग समेत निर्माण भएको समितिले बताएको छ । निर्वाचन मण्डलीमा चिरञ्जीवि शिवाकोटीको संयोजकत्वमा विष्णु प्रसाई, विजेन्द्र एक्तेन, खिमकुमारी भट्टराई, रुद्र श्रेष्ठ लगायत रहेका छन् ।