जनप्रतिनिधिलाई प्रशिक्षणको खाँचो « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

जनप्रतिनिधिलाई प्रशिक्षणको खाँचो


यलम्वर टाइम्स
२९ माघ २०७४, सोमबार ०५:२७

बिर्तामोड । जननिर्वाचित प्रतिनिधिहरुले प्रशिक्षण अभावले जनातको काम गर्न असहज भइरहेको बताएका छन् । ऐन कानूनभन्दा पनि स्थानीय तहमा काम गर्न व्यवहारिक ज्ञानको आवश्यकता औल्याएका छन् । जिल्ला समन्वय समितिलाई त्यसको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्दै कानून नबाज्ने गरी काम गर्न प्रशिक्षणको माग गरिएको हो ।

जिसस झापाले माघ २१ गतेदेखि शुरु गरेको स्थानीय तहको अनुगमनमा आइतबार हल्दिवारी, बाह्रदशी र कचनकवलमा गरिएको थियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, उपप्रमुख मिना पराजुली, समन्वय अधिकारी खेमराज ओझाले अनुगमन गर्दै स्थानीय तह सञ्चालनमा सहजीकरण समेत गरेका छन् । सोही कार्यक्रममा जनप्रतिनिधिले यस्तो माग गरेका हुन् ।

जनप्रतिनिधिबाट धेरै अपेक्षा भएकाले सबै समस्या स्थानीय सरकारले समाधान गर्नुपर्ने बताइएको छ । जिल्ला समन्वय समिति झापाको अनुगमनका क्रममा हल्दिवारी गाउँपालिकाका जनप्रतिनिधिले नागरिकको सबै खाले समस्या समाधानमा स्थानीय सरकार क्रियाशिल भई लागेको बताएका छन् ।

हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले गाउँपालिका सञ्चालनमा जिससको चासो रचनात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले नागरिकको समस्यामा स्थानीय सरकार हुनुको नाताले सुविधा उपलब्ध गराउन कञ्जुस्याँइ नगरेको बताए । लिङदेनले स्थानीय तहको निर्वाचन अन्तिममा भएको भए सञ्चालनमा माथिल्लो निकायबाट प्राप्त हुने निर्देशनले सहज हुने विश्वास गरे । पहिले स्थानीय तहको निर्वाचन भयो, उनले भने –‘केही व्यवहारिक कठिनाइ छन् ।’

गाउँपालिका र जिससबिच भएको छलफलमा कार्यालयले गरेका केही रचनात्मक कामका बारेमा चर्चा भएको थियो । नागरिकको उपचारमा सहयोग गर्न जनता उपचार कोष बनाइएको जानकारी दिइएको छ । गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले विपन्न नागरिकलाई स्थानीय सरकारको अनुभूति गराउन यस्ता प्रकृतिका धेरै कार्यक्रम बनाइएको जानकारी दिए ।

उनले हरेक वडामा एक÷एक ट्याक्टरको व्यवस्था गरेर किसानलाई सुविधा उपलव्ध गराउने योजना रहेको सुनाएका छन् । सडकको वर्गीकरण गरेर मात्र राज्यको लगानी गरिने पोर्तेलको भनाई छ । उनले जनप्रतिनिधिले पाउने सुविधामा एक रुपमा कायम हुनुपर्ने बताए ।

गापाका उपाध्यक्ष डम्बर गिरीले समृद्धका लागि कर निधारण गर्दा समस्या आएको बताएका थिए । उनले भने –स्थानीय सरकारको अभ्यास हुन समस्या लाग्छ, नागरिकको बुझाईमा फराकिलो नभए कार्यान्वयनमा समेत समस्या हुने छ । नागरिकको हितभन्दा बाहिर गएर कुनै काम नगर्ने उनको भनाई छ ।

यस्तै बाह्रदशीका अध्यक्ष खड्गप्रसाद राजवंशीले समृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधि लागि परेको सुनाए । उनले काममा लाग्न जनप्रतिनिधिलाई आवश्यक प्रशिक्षण प्रदान गरिनुपर्ने बताए ।

यस्तै, कचनकवलका जनप्रतिनिधिले विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । नयाँ संरचना भएकाले केही कठिनाई भएको बताए थिए ।