नवजान कल्याण कोष पत्रकारिता पुरस्कार घोरसाइने र खनाल पत्रकारिता पुरस्कार खड्कालाई प्रदान गरिने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नवजान कल्याण कोष पत्रकारिता पुरस्कार घोरसाइने र खनाल पत्रकारिता पुरस्कार खड्कालाई प्रदान गरिने


यलम्वर टाइम्स
१ फाल्गुन २०७४, मंगलवार ०५:४१

कलैया । बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ ।

२०७२ सालबाट स्थापना गरिएको उक्त पुरस्कारबाट नेपाल समाचारपत्र सहित विभिन्न संचारमाध्याममा आवद्ध घोरसाइनेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्याय, काब्य प्रकाशन समूहका प्रवन्ध निर्देशक दुष्यन्त चौधरी सञ्चालक सबिता चालिसे सहित बाराका बरिष्ठ पत्रकारहरुको उपस्थितिमा सोमबार सम्पन्न भएको बैठकले यो बर्षको उमादेवी(जानकी) पत्रकारिता पुरस्कारबाट घोरसाइनेलाइ पुरस्कृत गर्न लागिएको हो ।

कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी एवम् कृपा दैनिक पत्रिकाका सम्पादक कमलकुमार उपाध्यायकी ममतामयी माता स्वर्गीय उमा(जानकी)देवी उपाध्यायको नामबाट स्थापना गरिएको नवजान कल्याण कोषले रु.३० हजार नगद सहित सम्मान गर्न लागेको हो ।

उक्त पुरस्कार मोसफल र प्रदेश नम्बर २ को नै सबैभन्दा बढि धन राशी भएको पुरस्कार हो । जानकी उपाध्यायको २०७१ साल श्रावण १५ गते निधन भएपछि उहाँकै सम्झनामा कृपा दैनिक पत्रिकाले स्वर्गीय उमा(जानकी)देवी पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

यसैबीच कृपा दैनिक पत्रिकाले नै स्थापना गरेको स्वर्गीय चन्द्रप्रसाद खनाल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार एवम् समाजसेवी बिदुर खड्कालाई प्रदान गरिने भएको छ । कृपा दैनिकका संस्थापक सहसम्पादक कृष्णउदास खनालका पिता चन्द्रप्रसादको स्मृतिमा कृपा दैनिकले २०६८ सालमा उक्त पुरस्कार स्थापना गरेको हो ।

रु. पाँच हजार राशी रहेको सो पुरस्कार पनि खड्कालाई प्रदान गर्ने निर्णय सोमबार नै काब्य प्रकाशन समूहले गरेको कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसेले जानकारी दिइन् । २०५८ साल मंसिर १६ गते तत्कालिन शाही नेपाली सेनाले चन्द्रप्रसाद खनाललाई बेपत्ता बनाएको थियो ।

कृपा दैनिक पत्रिकाको १५ औं बार्षिकोत्सवको अवसरमा यही फागुन १२ गते बाराको सिमरामा बृहत कार्यक्रम आयोजना गरी दुबैजना पत्रकारलाई पुरस्कृत गरिने पत्रिकाकी प्रकाशक चालिसेले जानकारी दिइन् ।

कृपा दैनिक पत्रिकाको १५ औं बार्षिकोत्सव फागुन ४ गतेबाट शुरु भइ १२ गतेसम्म मनाइने निर्णय पत्रिका परिवारले गरेको छ ।