स्वास्थ्य जाँचसँगै पुराण श्रवण गर्नेहरुको बाक्लो उपस्थिति « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

स्वास्थ्य जाँचसँगै पुराण श्रवण गर्नेहरुको बाक्लो उपस्थिति


यलम्वर टाइम्स
२ फाल्गुन २०७४, बुधबार १०:४६

अर्जुनधारा । दुर्गा शक्ति समाज कल्याण संघद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरसँगै श्रीमद् देवी भागवत पुराणमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेहरुको संख्या बढेको छ ।

बिहान स्वास्थ्य शिविर सञ्चालन र १२ बजेपछि कथा वाचन गरिने भएको हुँदा स्वास्थ्य जाँचसँगै पुराण श्रवण गर्नेहरुको संख्या बढेको हो । शिवरात्रीको अवसर पारेर उद्घाटन भएको पुराणमा अधिकांश महिलाहरुको उपस्थिति रहेको थियो । बिहान १० बजेबाट स्वास्थय शिविर सञ्चालन हुने हुँदा बुधबार आयोजित शिविरमा ५० भन्दा बढी महिलाहरुले स्वास्थ्य जाँच गरेका थिए ।

वीएण्डसी टिचिङ हस्पिटलको विशेष सहयोगमा सञ्चालित शिविरमा महिला विशेषज्ञ डा. सुनिलकुमार शाहले स्वास्थ्य जाँच गरेका थिए । डा. शाहका अनुसार केही जटिल जस्ता देखिएतापनि शिविरमा आउने अधिकांश महिलाहरु सचेत भएकै कारण त्यस्तो खतरा रोग नभेटिएको बताए ।

शिविरमा स्टार्फ नर्स सोना राई र दिपन राजवंशीको विशेष सहयोग रहेको छ भने प्राथामिक स्वास्थ्य चौकीका अनमी विनु अर्याल र संगीता राजवंशीको प्राविधिक सहयोग रहेको वीएण्डसीका मार्केटिङ म्यानेजर लक्ष्मीप्रसाद पौडेल विवसले जानकारी दिए ।

शिविरलाई सफल पार्न अर्जुनधारा नगरपालिकाको विशेष सहयोग रहेको आयोजक कमिटिका अध्यक्ष अमर कटुवालले बताए । शिविर सञ्चालन गर्न र पुराण सुरु गर्न स्थानीयवासीहरुको ठूलो सहयोग रहेको जनाएका छन् ।

दुर्गा शक्ति समाज कल्याणसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण कार्य भएको हुँदा पहिलो पटक मानवीयताको स्वास्थ्यमा ख्याल गर्दै शिविरसँगै ज्ञान आर्जनका लागि पुराण सुरु गरिएको संस्थाका संरक्षक केदार पराजुलीले जानकारी दिए । शिविर आउने ७ गतेसम्म रहनेछ भने शिविरभरी डा. स्मृति मुल जोशी, डा. किशोरकुमार शाहको उपस्थिति रहनेछ ।

शिविरमा स्वास्थ्य जाँच गरेका बिरामीका लागि वीएण्डसी टिचिङ हस्पिटलले अन्य उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको म्यानेजर विवसले जानकारी दिए ।

किसानको फुर्सदिलो समय भएको कारण र गाउँमा पुराण लगाइएको हुँदा श्रवण गर्नेहरुको संख्या बढेको छ । व्यासाचार्य गुरु लक्ष्मीप्रसाद खतिवडाको प्रमुख वाचकत्व, उपवाचक पं. सुरेन्द्र घिमिरे रहेको पुराणमा वरिष्ठ भजन गायक किशोर ढुंगानाको सुमधुर भजन भएको हुँदा स्थानीयहरुको बाक्लो उपस्थित रहेको आयोजक समितिका तुलसी श्रेष्ठले बताए ।