अर्जुनधारा । अर्जुनधारा–७ जरुवाटोलका दिवस तिरुवालाई विद्यालय जाँदा साथीको जस्तै पोशाक लगाउन पाए हुन्थ्यो भन्ने थियो । घरको आर्थिक अवस्थाले गर्दा उनी बिना पोशाक विद्यालय जान्थे ।
साथीभाइलाई विद्यालय पोशाकमा देख्दा उनलाई नरमाइलो लाग्थ्यो । पढ्न भने औधी रुचि राख्छन् । तर, विद्यालय जाने बेला उनको शरीरमा पोशाक हुँदैन्थ्यो । समय अहिले फेरिएको छ । कक्षा ६ मा पढ्ने दिवस तिरुवामा अहिले स्कुल जाँदा उर्जा भरिएको छ ।
स्कुल जाँदा–आउँदा साथीसँग हाँसखेल गर्दै गरेको भेटिन्छन् । पहिलेभन्दा अहिले उनी निकै खुसी छन् । उनी हाँसीखुसी पढिरहेका छन् । गएको चैत १ गते विद्यालयमै आएर विद्यालय पोशाक दिइएपछि उनको मुहार उजालिएको छ ।
स्थानीय अरुणोदय आधारभूत विद्यालयमा मंगलबार पोशाकमै भेटिएका उनले हाँस्दै भने, ‘ड्रेस पाएकोमा खुसी छु ।’जरुवाटोलकै मिलेन्द्र लिम्बू पनि कक्षा ३ मा पढ्छन् । उनले पनि नयाँ पोशाक पाएका छन् । उनीहरु चार जना दाजुभाइ छन् । तर, आर्थिक अवस्था कमजोर भएकै कारण दाजु मौसमले बीचैमा पढाइ छाडेको विद्यालयकी शिक्षिका उमा खनाल बताउँछिन् ।
‘जेहेन्दार विद्यार्थी थियो मौसम’, उनले भनिन्, ‘हामीले पढाउनलाई धेरै करकाप ग¥यौँ तर मानेन ।’ उनका अनुसार मौसम अहिले ट्याक्टरमा काम गरेर घरमा सहयोग जुटाउँछ ।
मिलेन्द्रको शरीरमा पनि विद्यालय पोशाक थिएन । शिक्षकशिक्षिकाले नै खोजेर पोशाक जुटाइदिएका थिए । ‘नयाँ नभए पनि सफा ड्रेस म्यानेज गरेर धेरैलाई दिने गरेका छौँ’, अर्की शिक्षिका सन्तनु ढकालले भनिन् । अरुणोदयमा विपन्न, दलित, सिमान्तकृत समुदायका छोराछारीले पढ्दै आएका छन् ।
यहाँ पढ्ने निम्नस्तरका, मजदुरी गर्ने र विशेष गरेर खोलामा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका परिवारका सदस्य छन् ।पूर्वविद्यार्थी कमल पोखरेलको सक्रियतामा विद्यालयमा ४५ थान विद्यालय पोशाक बाँडिएको थियो । त्यसमा दिवसजस्तै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालयले छनौट गरेर प्रदान गरिएको थियो ।
पूर्वविद्यार्थी पोखरेलको अगुवाइमा विद्यालय पोशाक वितरण भएपछि अहिले ९० प्रतिशत विद्यार्थी पोशाकमा आउने गरेका छन् । ‘अझै पनि १० प्रतिशतसँग विद्यालय पोशाक छैन’, शिक्षिका राधा अधिकारी सुनाउँछिन् । बाँकी विद्यार्थीलाई पनि पोशाक उपलब्ध गराउने पोखरेलको दाबी छ ।उनका अनुसार विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रधानाध्यापक श्याम थापामगरले सहयोगका लागि अपिल गरेका थिए ।
विद्यालयमा पुग्दा पाँच जना विद्यार्थी पोशाकबिहीन देखाउँदै सहयोग मागेका थिए प्रअ मगरले । पोखरेलले पनि ‘हुन्छ’ भनेर सहयोग जुटाउने क्रममा संख्या बढेको रहेछ । उनले थप २० थान विद्यालय पोशाक उक्त विद्यालयमा वितरण गर्ने लक्ष्य राखेका छन् ।भर्खर स्वर्ण महोत्सव मनाएको विद्यालयमा कतिपय त विद्यार्थी भोकै आउने गरेको शिक्षकहरु सुनाउँछन् ।
‘कमसेकम आमाबुवाले खाना चैँ खुवाएर पठाउनुपर्छ नि !’, शिक्षिका खनालले दुःख व्यक्त गरिन्, ‘निन्याउरो अनुहार लगाएर बसेका हुन्छन्, सोध्यो भने मिस भात खा’को छुइँन भन्छन् ।’ यस्तो पीडादायी भनाइ सुनेपछि गुरुआमाहरुले चिउरा, बिस्कुट दिने गरेका रहेछन् । छात्रवृत्ति शीर्षकमा बर्सेनि ६० हजार रुपैयाँ विद्यार्थीका अभिभावकलाई प्रदान गरिँदै आएको छ ।
तर, अभिभावक जिम्मेवार नबन्दा समस्या उस्तै हुने गरेको अर्की शिक्षिका भिमकला पौडेल बताउँछिन् । ‘अभिभावकको जिम्मेवार कम, लापरबाही बढी भएकाले छात्रवृत्तिको रकम सदुपयोग भएन’, उनले भनिन् ।
२०५ जना विद्यार्थी संख्या रहेको यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । दरबन्दी निमावि तहसम्मको भए पनि प्राविका शिक्षकशिक्षिकाले पढाउनुपर्ने बाध्यता छ ।