[नरेश खाती]
स्थानीय स्तरमा भएका महत्वपूर्ण खबर गाउँघरमा पुर्याएर, ग्रामीण जनतालाई सुसूचित गराउने काम यलम्बर टाइम्सले गर्दै आएको छ । आजभन्दा एघार वर्षअघिदेखि साप्ताहिक रुपमा प्रकाशन हुन थालेको यो अखबारले, अरुको नजरमा सामान्य जस्तो लागे पनि ग्रामीण जनताको लागि उपयोगी खबर लिएर आउने गर्छ । विगत पाँच वर्षदेखि झापाको अर्जुनधारा नगरपालिकाको पुरानो बजार शनिश्चरेलाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।
नेपाल संघीय राज्यमा रुपान्तरण भएको छ । केन्द्रिकृत राज्य व्यवस्था विकेन्द्रीकृत भए पनि सूचनाको सम्बाहक मिडियाहरु बजार केन्द्रित हुने होडबाजीमै छन् । छिटफूट रुपमा साना बजार क्षेत्रमा मिडिया हाउस स्थापना गर्न शुरु गरिएको छ । तर आजभन्दा पाँच वर्ष अघि नै मुख्य सहरको मोहलाई तिलाञ्जली दिएर शनिश्चरेलाई आफ्नो कार्यक्षेत्र बनाएर जनताका घरदैलोमा सूचना सम्पे्रषण गर्नु कम चुनौतीको विषय होइन । यलम्बर टाइम्सको यो प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन ।
कुनै पनि काम गर्दा शुरुमै सबै पक्षलाई चित्त नबुझ्ने हुन सक्छ । काम गर्दै सिक्दै जाने हो । विगत वर्षलाई हेर्दा यलम्बर टाइम्सले पाठकमाझमा पस्किएका खुराकहरुको पूर्ण मुल्याङ्कन गर्न सकिदैन । तथापि आफ्नै नजरबाट यलम्बर टाइम्सको समीक्षा गर्ने प्रयास गरिएको छ । यलम्बर टाइम्स अर्जुनधारा नगरपालिकाको सेरोफेरोबाट माथि उठ्न नसकेको हो कि, आवाज विहिनको आवाज दिने कार्यमा महत्व दिन नसकिरहेको, समय समयमा हतारमा प्रकाशन गरिएको आभाष हुन्छ ।
पाठकमाझमा ल्याएको सामग्रीमा विविधता कम भएको हो कि, प्रत्येक बौद्धिक खुराक कम, राजनीकि, विकास निर्माणमा बढी केन्द्रित भएको, साहित्य सामग्री कम सामेल गरेको बुझाई छ ।
यलम्बर टाइम्सको गुणत्मक पक्षहरुमा यो अखबार स्थनीय क्षेत्रमा विश्वास जित्न सफल भएको छ । स्थानीय स्तरमा रहेका प्रतिभालाई स्थान दिई प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ । स्थानीयका गुनासा पोख्ने ठाउँ बनेको छ । अखबारको पृष्ठ ठूलो साइजमा आउनु, स्थानीय क्षेत्रमा भएका काम कार्वाही, घटनाको विश्वासीलो माध्यम बनेको छ यलम्बर टाइम्स । यलम्बर टाइम्सले आफ्ना गुणको रक्षा गर्दै, पाठक र समीक्षकको सुझावलाई मनन गरी जनताको विश्वास जित्न सफल होस् शुभकामना छ ।