देश संघीयतामा गयो । संघीयताको विषय २००७ सालअघिदेखि नै उठ्दै आएको हो । उठान भएको विषय कायान्वयनमा पुग्न हाम्रो देशमा सत्तरी बर्ष लाग्यो । सरकारको केन्द्रित संरचनामा परिवर्तन नआएकाले चाहेर पनि नागरिकले संघीयताको अनुभूति गर्न सकेनन् ।
संघीयता भनेको कागजमा लेखिएका अक्षर होइन, जो लेखिदिएपछि स्वतः कार्यान्वयन होस् । हाम्रो देशमा ००७ सालपछि लगभग हरेक दश बर्षमा राजनीतिक आन्दोलन र उथलपुथलहरु भएका छन् । त्यस बखत उठान भएका केही विषयहरुको सम्वोधन सहित आन्दोलनहरु रोकिएका पनि छन् । त्यस अपूरो प्राप्तिका कारण देशमा कहिल्यै स्थिर शान्ति आएन ।
गाउँमा भएको चरम गरिबी र अविकसित परिस्थितिका कारण आफूलाई सक्षम ठान्नेहरु अवसरको खोजीमा कि त शहर पसे, कि त विदेश भासिए । गरिबीले पिल्सिएर केही कतै बसाइँ सर्न नसक्नेहरु साहुबाट ऋण काटेर रोजगारीका लागि अरब मुलुकतिर लागे । त्यसैले गाउँमा अधिकांश महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग सहित स्वाभिमानले कतै भाँसिन नसक्नेहरु मात्र बाँकी रहे ।
बौद्धिक जमातले गाउँ छाडेपछि नै हो, गाउँ अझै पछि परेको । त्यस्तो अवस्थामा गाउँमा चेतना भर्ने काम भनेको संचार माध्यम मात्र रह्यो । त्यसको लागि रेडियो सबैभन्दा सजिलो माध्यम थियो । किनभने हरेकको घरमा रेडियो हुने भएकाले सूचनाका लागि जोकोहीले जहींकहीं बसेर सुन्न सक्छ । तर रेडियोमा पनि एउटा समस्या रह्यो । सुनिसकेको समाचारलाई प्रमाणिकरणका लागि नसुन्नेलाई जस्ताको तस्तै पुनः सुनाउन नसकिने । त्यसैले त अभिलेखिकरणको लागि छापाको अपरिहार्यता अस्वीकार गर्न सकिदैन ।
सूचनाको विषयमा पछि परेको साविक शनिश्चरे, अर्जुनधारा र खुदुनाबारी गाविस, हालको अर्जुनधारा नगरपालिकाभित्र कुनै पनि पत्रपत्रिका, रेडियो स्टेशनहरु थिएन केही बर्षअघि । एउटा पनि सञ्चार माध्यम नहुनु यस क्षेत्रका लागि दुःखको विषय पनि थियो । त्यो नहुनुको मूख्य कारण भनेको यस क्षेत्र ग्रामीण भेगको रुपमा रहनु थियो । व्यापार, उद्योगहरु नहुन र सञ्चार माध्यम चल्नका लागि आवश्यक विज्ञापनहरु प्राप्त हुने आशा कम हुनु र लगानीकर्ताहरु यस क्षेत्रमा निरुत्साहित हुनुले पनि त्यो भएको थियो ।
यसलाई चिर्दै पत्रकार दिपीन राईले आफै सम्पादक, प्रकाशक भएर यलम्वर टाइम्स साप्ताहिकको पहिलो अंक निकाल्नु भयो दश बर्षअघि । बिर्तामोड केन्द्र बनेर निस्किएको पत्रिकालाई उहाँले शनिश्चरे सार्नुभयो । शनिश्चरेबाट प्रकाशन हुने गरी सार्नु भनेको ठूलो चुनौति थियो । पत्रिका निकाल्न आफैमा ठूलो चुनौति हो । समाचार संकलन, कम्प्युटर सेटिङ, प्रेस र पाठकको हात–हातमा पु¥याउँदासम्म लाग्ने शुल्क निकै ठूलो हुन्छ । त्यो सबै खर्चको चुनौति बोकेर आर्थिक रुपमा निम्न वर्गका रुपमा रहेका पत्रकार राईले यस क्षेत्रको पहिचानका लागि गरेको अठोट प्रशंसनीय छ ।
त्यो कार्यले संघीयताप्रतिको उनको लगाव झल्किन्छ । संघीयता घोषणा हुनुअघि नै त्यसको मर्म बुझेर उनी पत्रिका सहित गाउँ फर्किए । गाउँका हरेक व्यक्ति सुसूचित हुनुपर्छ मान्यता र गाउँघरका साना–ठूला घटनाहरुलाई सामाज र राज्य समक्ष प्रस्तुत गर्ने उनले जुन कार्यको थालनी गरे, त्यो ग्रामीण पत्रकारिता गर्ने आँट यसअघि यस क्षेत्रमा आफूलाई सक्षम, सबल र आर्थिक रुपमा माथिल्लो स्तर ठान्ने कसैले पनि गरेका थिएनन् ।
निरन्तर गाउँका समाचारहरुलाई प्रस्फुटन गर्न यलम्बर टाइम्स साप्ताहिकले जुन तत्परता देखाइ आएको छ । त्यसको निरन्तरताका लागि शुभकामना । पुस्ता हस्तान्तर सहित समय सापेक्ष प्रकाशन हुने गरी अर्जुनधारा नगरपालिकाको पहिलो साप्ताहिक पत्रिकाले शताब्दिऔंसम्म सूचना प्रसारित गर्न सकोस् कामना गर्दछु ।