दक्षिणी पाँचथरमा खडेरी, घोगा नलाग्दै सुक्यो मकैको बोट « Yalambar Times
७ आश्विन २०८१, सोमबार

दक्षिणी पाँचथरमा खडेरी, घोगा नलाग्दै सुक्यो मकैको बोट


यलम्वर टाइम्स
३ भाद्र २०७५, आईतवार १०:५०

सन्देश सुब्बा

पाँचथर । दक्षिणी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाको तल्लो क्षेत्रमा खडेरीले घोगै नलागि मकैको बोट सुकेको छ ।

धान पछिको प्रमुख खाद्यान्ह बालिको रुपमा रहेको मकैको बोट सुकेपछि किसान चिन्तित बनेका छन् । यो वर्ष दुई गाउँपालिका सँगै तेह्रथुमको छथर गाउँपालिकाको तल्लो क्षेत्रमा मकैको उत्पादन शून्य हुने देखिएको छ ।

वर्षाको सिजनमा पनि पानी नपरेपछि किसानले लगाएको मकै फलै नदिइ सुकेको हो । लामो समयसम्म खडेरी लाग्दा वर्षामा पनि वस्तुभाउलाई खुवाउने घाँस समेत पलाउन नसकेको तुम्बेवा गाउँपालिका–१, डिहीगाउँका धर्मलाल कार्कीले बताए ।

वर्षाको सिजनमा पनि पानी नपरेपछि किसानले लगाएको मकै फलै नदिइ सुकेको हो ।

सोही ठाउँकी पदममाया दाहालले बर्खाको समयमा यस्तो खडेरी ३४ सालमा मात्र भोगेको बताइन् । उनले भनिन्– ‘नत्र ता बर्खामा यस्तो खडेरी कहिल्यै देखेको थिइन, मकैबारी आगो लाउदा डढेलो लाग्ने भएको छ ।’

समयले साथ दिंदा सो क्षेत्रका किसानले प्रशस्तै मकै उत्पादन गर्थे । तर यो वर्ष एक घोगा पनि मकै नहुने अवस्था रहेको तुम्बेवा–१, रातमाटेका सन्त तामाङले बताए ।

नेपाल सरकारले सुक्खाग्रष्ट क्षेत्र घोषणा गरेको कुम्मायक र तुम्बेवाको तल्लो क्षेत्रका किसान कसरी वर्ष टार्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । मकैको बिउ नै हराउने अवस्था आएको सोही ठाउँका इन्द्र बहादुर बुढाथोकिले बताए । 

खडेरीका कारण तुम्बेवा गाउँपालिकाको पनिआम्बोटे, चनौटे, आहाले, रातमाटे, चुवाडे, सोभारा, हाक्पारा, मेवा, खैरेनी कुम्मायक गाउँपालिकाको कात्तिके, ओखलढुंगा, लुम्देखा, होक्लुम्बा, आम्बोटे, भुल्के लगायतका गाउँमा मकैको बोट सुकेको हो ।

त्यस्तै तेह्रथुमको छथर गाउँपालिकाको ३, ४ र ५ नम्वर वडाका तल्लो क्षेत्रमा किसानले लगाएको मकै पूरै सुकेको हो ।

राहतको तयारी :

खडेरीले घोगा नलाग्दै मकैको बोट सुकेपछि स्थानीय तथा प्रदेश सरकारले किसानलाई राहत दिने तयारी गरेको छ ।

कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले खडेरी प्रभावित क्षेत्रका किसानको बारीमा अध्ययन, अवलोकन गर्नका लागि टोलि बनाउन लागेको बताए ।

टोलिले बुझाउने प्रतिवेदनका आधारमा किसानलाई राहत दिने तयारी भइरहेको चेम्जोङको भनाई छ । तुम्बेवा गाउँपालिकाले पनि राहतको तयारी थालेको छ ।

तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले पनि गाउँ कार्यपालिकाको बैठक बसेर खडेरी प्रभावित क्षेत्रका किसानलाई पालिकामा लाग्ने सम्पूर्ण कर मिनाहा गर्ने तयारी भइरहेको बताए ।

त्यस्तै प्रदेश–१ को प्रदेशसभामा पेश भएको विपद व्यवस्थापन प्रस्ताव पारित भएपछि खडेरी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेर राहत उपलब्ध राउँने प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । सो क्षेत्र मन्त्री आङ्बोको निर्बाचन क्षेत्र हो ।