सप्तकोशी नदीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सप्तकोशी नदीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक


यलम्वर टाइम्स
१२ भाद्र २०७५, मंगलवार ०७:५०

५ सय घर डुबानमा

सप्तरी । सप्तकोशी नदीमा आएको बाढीले आसपासका करिब पाँच सय घर डुबानमा परेका छन् ।

कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ र ४ का अधिकांश बस्ती डुबानमा परेको जनाएको छ ।

बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ । अहिले उनीहरुको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा राखिएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक चन्द्रसागर केरुङले जानकारी दिए ।

बाढीले झण्डै तीन सय बिघामा लगाइएको धान खेतीमा क्षति पुर्याएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् । हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ ।

सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको स्रोतले जनाएको छ ।