यौन सचेतना अब घर र विद्यालयबाटै « Yalambar Times
७ आश्विन २०८१, सोमबार

यौन सचेतना अब घर र विद्यालयबाटै


यलम्वर टाइम्स
१९ भाद्र २०७५, मंगलवार ०८:५१

अर्जुनधारा । अर्जुनधारा क्षेत्रमा बढ्दौ यौन हिंसाले समाजलाई सताईरहेको बेला त्रिनेत्र बहुउद्देश्य सहकारी संस्थाले यस क्षेत्रका विद्यार्थीहरुलाई भेला गरेर यौन सचेतना सम्बन्धि ज्ञान प्रदान गरेको छ ।

आदिवासी भवनमा मंगलबार आयोजित कार्यक्रममा अधिवक्ता तथा समुन्नत नेपालका संस्थापक कोपिला बस्नेतले यौन सचेतनाका ज्ञान अब लाज नमानी आफ्ना सन्ततीहरुलाई प्रदान गरिनु पर्ने र विद्यालयमा पनि यौन हिंसाबाट हुने कष्ट र कानूनी प्रक्रियाबाट पाउने सजायका विषयमा शिक्षा दिनुपर्ने बताइन् ।

‘यौन हिंसा आफैमा समस्या भएको हुँदा छिमेकमा पर्यो भनेर चुप लाग्नु समाज दुर्गन्धित हुनु हो । त्यसैले देखिएका समस्यालाई न्यूनिकरणका बाटाहरुमा लानु तपाई हाम्रा कर्तव्य हो ।’ उनले अगाडि भनिन्, ‘प्रहरीलाई जानकारी दिएर हिंसामा संलग्नलाई पक्रनु र सजाय दिनु त्यो दोस्रो पाटो हो । पहिलो पाटोमा नै सेचत गराउन सके यस्ता घटना न्यूनिकरण भएर जानेछ ।’

समुन्नत नेपालका मेदा कार्कीले ‘हिंसा आफैमा घृणित शब्द भएको हुँदा त्यसलाई चिर्न गाउँ, समाज र सचेत राजनीतिक प्राणी स्पष्ट हुन जरुरी छ । कतिपय यौन हिंसा राजनीतिको आडमा थुमथुमिएको पाउँछौं । त्यो थुमथुमाई समाजको खिल हो ।’

नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख राना स्वयम् सचेतना कार्यक्रममा सहभागि भई कार्यक्रमको शोभा बढाई दिएका थिए ।

अन्त्यमा प्रमुख अतिथि रानाले नगरलाई यौन हिंसा न्यूनिकरण गराउँन सबैको उत्तिकै सहयोग आवश्यक भएको बताउँदै हिंसामा संलग्न जो कोही उम्कन नपाउने बताउँदै ढण्ड र सजाय कडा हुने जानकारी दिए ।

‘प्रहरीलाई जानकारी दिएर हिंसामा संलग्नलाई पक्रनु र सजाय दिनु त्यो दोस्रो पाटो हो । पहिलो पाटोमा नै सेचत गराउन सके यस्ता घटना न्यूनिकरण भएर जानेछ ।’

अर्जुनधारा नगरभरिका स्वस्तिका, सिंहदेवी, कालिका, प्रगति, भानु, जनता, अर्जुनधारा, शनिश्चरे, महारानीगञ्ज, एम्स, रुपरत्न, संस्कृत आर्दश लगायत दर्जन विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

त्रिनेत्र बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशवकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा जलेश्वर सिकाईका अध्यक्ष पुनम सुवेदी, वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, संस्थाका उपाध्यक्ष विजयकुमार राजवंशी, महिला नेतृ देवकला प्रसाई, टिकादेवी राय, संस्थाका दिपक खड्का, युवराज धिताल, महिला प्रमुख पवित्रा बास्तोला लगायतको आतिथ्य रहेको संस्थाका महासचिवले जानकारी दिए ।