शिक्षा दिवसमा सम्पादक राईसहित शिक्षकहरु सम्मानित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

शिक्षा दिवसमा सम्पादक राईसहित शिक्षकहरु सम्मानित


यलम्वर टाइम्स
२३ भाद्र २०७५, शनिबार ०२:२३

[भिम बराल]

अर्जुनधारा । अर्जुनधारा नगर शिक्षा तथा खेलकुद शाखाले पहिलो पटक शिक्षा पत्रकारिता पुरस्कार यस यलम्वर टाइम्स साप्ताहिक तथा यलम्वर टाइम्स अनलाईनका सम्पादक दिपीन राईलाई प्रदान गरेको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजनामा ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर उक्त पुरस्कार राईलाई प्रदान गरिएको हो ।

नगरमा सञ्चार गृह स्थापना गरेर नगरको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याएकोभन्दै कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि सोमनाथ पोर्तेलले राईलाई नगद ६ हजार ५ सय सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

यसरी नै उत्कृष्ट शिक्षकको रुपमा शनिश्चरे माविका सरोज काफ्ले र भानु माविका विद्यालय कर्मचारी गञ्जबहादुर बुढाथोकी र चिसापानी बालशिक्षाकी शिक्षिका मिना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष हरिकुमार रानाले दोसल्ला र सम्मानपत्रले अभिनन्दन गरेका थिए ।

यसरी नै अर्जुनधारा क्षेत्रबाट सेवा निवृत्त आधारभूत विद्यालय कञ्चनबारीका तारा प्रधान र कालिस्थान माविका दिलीप दाहाललाई प्रशंसा पत्र र दोसल्ला ओढाई नगर प्रमुख राना र प्रशासकीय अतिकृत राधाकृष्ण खतिवडाले सम्मान गरेका थिए ।

यसैगरी २०७५ सालको मावि शिक्षा परिक्षा कक्षा १० मा लक्ष्मी माविमा अध्ययनरत् भई ३.८५ जीपीए ल्याएर उत्तिर्ण हुने अंकितकुमार गुप्ता र भानु मावि कक्षा १२ मा अध्ययनरत् २.९९ अंक प्राप्त गर्ने नेहा तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रगति अंग्रेजी माविबाट ३.७५ जीपीए ल्याएर उत्तिर्ण हुने दिपीका राउतलाई समेत सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरुलाई नगद ५ हजार १ सयसहित प्रशंसापत्रले सम्मान गरिएको शिक्षा प्रमुख जानुका गुरागाईंले बताइन् ।

कार्यक्रममा बाल शिक्षा केन्द्रलाई सिकाई सामग्री वितरण समेत गरिएको थियो । गणेश मावि प्रगति बाल शिक्षा केन्द्र, भानु आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, आधारभूत विद्यालय कञ्चनबारी, बालकल्याण प्रावि, अरुणोदय आधारभूत विद्यालय, चन्द्रोदय प्रावि, प्राथमिक विद्यालय शनिश्चरे, महारानीगञ्ज मावि, सिंहदेवी मावि, अर्जुनधारा मावि, सिंहश्वरी प्राविलाई नगर प्रमुख हरिकुमार रानाले एलईडी टेलिभिजन प्रदान गरेका थिए ।

कार्यक्रममा स्थानीय शिक्षक महासंघ अध्यक्ष पुण्य सुवेदी, शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक तुलसीनारायण अधिकारी, स्थानीय नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, बाल क्लब सञ्जालका अध्यक्ष निशा कुईकेल, संस्थागत विद्यालयकातर्फबाट विद्यार्थी मेदनी घिमिरे लगायतले ३९ औं शिक्षा दिवसका विषयलाई लिएर आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरका विभिन्न विद्यालयहरुले सांस्कृति नृत्य प्रस्तुत गर्नुका साथै सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख गुरागाईंले गरेकी थिइन् ।