गाउँ नै माईती भएको महशुस « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

गाउँ नै माईती भएको महशुस


यलम्वर टाइम्स
२४ भाद्र २०७५, आईतवार ०८:३२

अर्जुनधारा । घर परिवार र चेलीमाईतमा मात्र सीमित तीज पर्वलाई विभिन्न संघसंस्थाहरुले महत्वका साथ आ–आफ्नो तरिकाले मनाउँदै आएका छन् ।

संस्थाका सदस्यहरु बीच रकम संकलन गरी विभिन्न तीज गीतमा नाच्दै तडकभडकका साथ तीज मनाउने चलन समाजमा व्याप्त छ । तर, अर्जुनधारा–५ स्थित फूलबारीमा भने फरक शैलीमा तीज पर्वलाई मनाइएको छ ।

स्थानीय युवाहरुको सक्रियतामा यस ठाउँका महिला दिदीबहिनीहरुलाई चेली मानी सामूहिक रुपमा दर खुवाउँदै तीज मिलन कार्यक्रम मनाइएको हो ।

गाउँमै गाउँकै चेलीहरुलाई भेला गरी सामूहिक रुपमा तीज मनाउँदै दर खुवाउँदा खुशी लागेको स्थायनी टीका प्रसाई बताउँछिन् ।

‘अहिले चाड पर्वको नाममा विकृति फैलिएको छ,’ प्रसाई भन्छिन्, ‘त्यस्तो विकृतिको न्यूनिकरण र आपसी सम्बन्ध सुमधुर बनाउन यहाँका दाजुभाईहरुले खेलेको भूमिका प्रशंसनीय छ ।’

गाउँमै तीज मिलन कार्यक्रम गरी दुःख, सुख साटासाट गर्न पाउँदा गाउँनै माइती भएको प्रसाई बताउँछिन् ।

तीज चेलीमाईतीको सुख, दुःख साट्ने पर्व भएको स्थानीय अग्रज सरस्वती सिटौला बताउँछिन् ।
सिटौलाले अगाडि भनिन्, ‘टाढा माईती भएर तीज मनाउन नपाउने चेलीहरुका लागि माईती नजिकै भएको महशुस मिलेको छ ।’

तीज मिलन कार्यक्रमका संयोजक ताराप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती रहेका थिए । अध्यक्ष भारतीले तीज माईती र चेलीको भावनात्मक सम्बन्ध मजबुद पार्ने चाड भएको बताए ।

तीजको गीतमा नृत्य गर्दै उद्घाटन गरिएको कार्यक्रममा वडा सदस्य देवीमाया घिमिरे, मुखमेल धिमाल, सारदा खड्का, डम्बर घिमिरे, रामबहादुर कार्की, मनमाया गिरी, पुनम बराल लगायतको आतिथ्य रहेको थियो ।

सन्तोष कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत रामबहादुर कार्कीले गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश बिनोद बस्नेतले गरेका थिए ।

सोही दिन तीज गीतमा नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम सुलोचना बस्नेत, द्वितीय सुषमा गिरी, कमला बराइली र तृतीय सीता शिवा भएकी थिइन् ।