नदी प्रभावित क्षेत्रमा आम्दानीको ३० प्रतिशत लगानी गर्नेछौं : प्रमुख राना « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नदी प्रभावित क्षेत्रमा आम्दानीको ३० प्रतिशत लगानी गर्नेछौं : प्रमुख राना


यलम्वर टाइम्स
६ आश्विन २०७५, शनिबार ०४:३६

अर्जुनधारा । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले नदीजन्य सामाग्रीको व्यवस्थापन गरी त्यसबाट प्राप्त आम्दानी प्रभावित क्षेत्रमा लगानी गरिने बताएका छन् ।

नदीजन्य सामाग्री व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख रानाले विरिङ र टाङटिङ नदीबाट प्राप्त आम्दानीलाई प्रभावित क्षेत्रमा वृक्षारोपण र तटबन्धन र पैनी कुलेसोमा ३० प्रतिशत लगानी गरिने नीति तय गरिने बताएका छन् ।

त्यसको अतिरिक्त आवश्यकता हेरी ७० प्रतिशतबाट पनि उक्त क्षेत्रको विकासमा लगानी गर्न नगर तयार भएको बताए ।

प्रमुख रानाले भने, ‘नदीजन्य सामाग्रीको उत्खननबाट प्राप्त आम्दानी ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत स्थानीय सरकारको प्राकृतिक राजश्वमा रहने जाकारी प्राप्त भएकाले त्यही अनुरुप नै काम गरिने छ ।’

नदी उत्खनन गर्दा ट्रयाक छोडेको क्षेत्रलाई विशेष ध्यान दिन समेत उनले आग्रह गरे ।

‘नागरिकले हक, हित, इज्जत र अधिकार प्राप्त गरी सफलता प्राप्त गरी सकेका छन्’ रानाले भने, ‘आफ्नै कर्तव्य र उत्तरदायित्व बहन गर्दै समृद्ध र व्यवस्थित नगर निर्माणको अभियानमा शारीरिक र मानसिक श्रम लगानी गर्नुपर्ने अवस्था आएको छ ।’

नदीजन्य पदार्थको अनुगमन र मुल्याङ्कन जनप्रतिनिधिको तर्फबाट हुने बताउँदै नदी किरानका बस्तीहरुमा समेत जनचेतना र सचेतना अभियान सञ्चालन गरिने जानकारी दिए ।

विरिङ र टाङटिङमा भ्याट बाहेक २ करोड ७५ लाखमा ठेक्का लाग्ने नीति बनेको हुँदा आईईईको प्रतिवेदन अनुसार उत्खनन् गर्नुपर्ने बताए ।

अर्जुनधारा–७ स्थित स्थानीय पितृ भवनमा आयोजित नदीजन्य सामाग्री व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा भूगर्भविद् यदुनाथ तिम्सिनाले विरिङ र टाङटिङसँग जोडिने नदीहरु अर्जुनधारामा रहेको र यसलाई ७ वटा प्याकेज अन्तर्गत २२ स्थानबाट सामग्री उत्खनन् गर्न सकिने जानकारी दिए ।

‘विगतमा जहाँ पायौं त्यहीबाट उत्खनन् गर्ने गरिन्थ्यो’ भू–गर्भविद् तिम्सिनाले भने, ‘अब उत्खनन् गर्दाको असर र वातावरणीय प्रभावले पार्ने असरको बारे अध्ययन गरेर मात्र गर्नुपर्छ ।’

तिम्सिनले आफ्नो अध्ययन वैज्ञानिक भएको बताउँदै वातावरणीय विज्ञहरुले २२ स्थानबाट उत्खनन् गर्दा उपयुक्त हुने बताएको हुँदा सोही ठाउँलाई मध्यनजर गर्दै खोलाजन्य सामग्री निकाल्दा फरक नपर्ने बताए ।

वातावरण ऐन २०५३ र २०५४ सँग सम्बन्धित उपयोग, दीगो विकासमा आधारित रहेर खोलाको उत्खनन् भइरहेको छ ।

नदीको प्रभाव, बाढी पस्न सक्ने क्षेत्र, खोलाको सतह लगायतका विषयवस्तुलाई आधार मानेर वातावरणीय प्रतिवेदन तयार हुने भू–गर्भविद् यदुनाथ तिम्सिनाले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा जलाधारका अध्यक्ष छविलाल शिवाकोटी, टाङटिङका अध्यक्ष विदुर भट्टराई, वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, नविन ओली, कृष्ण श्रेष्ठ लगायतले जिज्ञासा समेत राखेका थिए ।

कार्यक्रम नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वरिष्ठ योजना अधिकृत हिमराज सेडाईले गरेका थिए ।