आत्मरक्षा तालिम सकियो « Yalambar Times
९ पुष २०८१, मंगलवार

आत्मरक्षा तालिम सकियो


यलम्वर टाइम्स
१४ आश्विन २०७५, आईतवार ०९:५३

बिर्तामोड । महिलालाई बलात्कार र हिंसाबाट बच्न झापाको बिर्तामोडमा सुरु भएको आत्मरक्षा सम्वन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ ।

वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे तालिम दिइएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा सहभागी झापाका १०० जना बालिका, बिशोरी तथा युवतीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षणका साथै अन्य धेरै विषयमा चेतना प्राप्त भएको सहभागीले बताएका छन् ।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइँएको सितोरियो कराँते–डो झापाका वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले बताए । 

तालिममा सहभागी बालिका, किशोरी र युवतीलाई विज्ञ टोलीले प्रशिक्षण दिएको थियो ।

तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीले बताए ।

धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । 

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको बताइएको छ ।

कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइएको बताइएको छ ।तालिमलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ ।

तालिममा अधिवक्ता कोपिला खड्का बस्नेत, कराते तर्फ वरिष्ठ प्रशिक्षक मदन उप्रेती,सार्क स्वर्ण पदक विजेता मिना पाठक उप्रेती, रजत पदक विजेता दुर्गाराज निरौला, राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दिपेश निरौला र अर्का प्रशिक्षक अशोक राईले सहभागीलाई प्रशिक्षण दिएका थिए ।