[पुण्य सुवेदी]
‘सर, तलब निकासा कहिले हुन्छ ? कति महिनाको तलब आउँछ ?’ असोज महिना लागेदेखि अर्जुनधाराका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको मसँग साझा जिज्ञासा थियो यो ।
शिक्षक महासंघको अध्यक्ष भएको नाताले नगरपालिकासँग सम्पर्कमा रहनु मेरो कर्तव्य र दायित्व पनि हो । सोही कारणले तलब कहिले निकासा होला भन्ने जानकारी पक्कै मलाई हुन्छ भन्ने साथीहरुको अपेक्षा थियो । यही जिज्ञासाको समाधानको लागि मैले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र शिक्षा शाखा प्रमुखसँग भेटमा र टेलिफोनमा पटक–पटक सोेधेको पनि छु । यो सामग्री पाठकहरुको हातमा पुग्दा शिक्षकहरुले तीन महिनाको तलब र एक महिनाको तलब बराबरको दशैं खर्च आफ्नो बैंक खातामा प्राप्त गरिसकेका छन् । सामुदायिक विद्यालयहरुले चौमासिक रुपमा शिक्षकहरुको तलब निकासा प्राप्त गर्दथे । चालु आर्थिक वर्षदेखि त्रैमासिक निकासा हुने खबर छ । दशैं आर्थिक वर्षको पहिले चौमासिक अन्तर्गत पर्दछ । अघिल्ला वर्षहरुको तुलनामा यस पटक तलब निकासामा ढिलाइ भएको भने होइन तर अन्य चौमासिकमा तलब कहिले निकासा होला भन्ने चासो र चिन्ता कमै हुन्छ तर पहिलो चौमासिकमा तलब निकासाको बारेमा शिक्षकहरुले बढी नै जिज्ञासा राख्ने गर्छन् । किनकि दशैं मनाउनु छ ।
छरछिमेकी दशैंका लागि खुद्रा पैसा, नयाँ नोट, लत्ता कपडाको किनमेल, घर, आँगनको सरसफाइ र श्रृङ्गारपटार, शाकाहारी बाहेककाहरुले दशैंको खसी आदि जोरजाम गर्न थाल्छन् अनि शिक्षक अत्तालिदै सोध्छ, तलब कहिले आउँछ ?
हाम्रो देशमा शिक्षकहरुले निजामती कर्मचारीहरुको जस्तो मासिक रुपमा तलब पाउँदैनन् । दशैंको बजार शुरु भइसक्या हुन्छ, छरछिमेकमा दशैंको बन्दोबस्ती शुरु भइसक्छ अनि शिक्षक पनि दशैंको लागि सपिङ्ग लिष्ट तयार त गर्छ तर बैंक खाता रित्तो छ । छरछिमेकी दशैंका लागि खुद्रा पैसा, नयाँ नोट, लत्ता कपडाको किनमेल, घर, आँगनको सरसफाइ र श्रृङ्गारपटार, शाकाहारी बाहेककाहरुले दशैंको खसी आदि जोरजाम गर्न थाल्छन् अनि शिक्षक अत्तालिदै सोध्छ, तलब कहिले आउँछ ? निजी लगानीमा सञ्चालित विद्यालयहरुले दशैं अगाडि एउटा त्रैमासिक परीक्षा गर्छन् । यो परीक्षाको उद्देश्य विद्यार्थीहरुको उपलब्धी मूल्यांकन मात्रै होइन । परीक्षाको वाहनामा अभिभावकबाट मासिक शुल्क संकलन गरेर विद्यालयका सञ्चालक, शिक्षक र कर्मचारीहरुको दशैंको गर्जो टार्नु पनि हो । सामुदायिक विद्यालयको शिक्षकले निजी विद्यालयमा आफ्ना नानीहरु पढाउने कि नपढाउने भन्ने विषयमा यसै साप्ताहिकको अगाडिको अंकमा मैले एउटा बहस शुरु गरेको थिएँ । अहिले त्यो प्रसङ्गतिर नजाऔं तर निजी विद्यालयमा बच्चा पढाउने सामुदायिक विद्यालयको शिक्षक प्रिन्सिपललाई फोन गर्छ र भन्छ, सर, मेरो नानीलाई परीक्षामा बस्न चैं दिनुहोला तलब आउनासाथ म स्कुल आएर फी तिरिहाल्छु । किराना पसलको पूरानो उधारो तिरेकै छैन, दशैंको लागि महिनौंको त्यो उधारोभन्दा ठूलो रकम देखिने लिष्ट तयार छ । पूरानो नतिरी फेरि उधारो कसरी मागौं ? अनि सोध्छ, तलब कहिले आउँछ ?
हाम्रो देशमा शिक्षकको जागिर आधारभूत आवश्यकताहरु मात्र पूरा गर्न सकिने जागिर हो । समाजमा राम्रोसँग खानलाउन नपुग्नेहरु पनि हुन्छन् । तिनीहरुको तुलनामा शिक्षकको जीवन सुखी जीवन नै हो । बजारमा पसलेले महिनौंसम्म उधारो पत्याइदिने हैसियत जोसुकैको हुँदैन तर शिक्षकले त्यो हैसियत राख्दछ । खानलाउन पुगेकै कारण अपवाद बाहेक आम शिक्षकमा धेरै कमाउने, धनी बन्ने महत्वकांक्षा कमै पाइन्छ । जे छ त्यसैमा चित्त बुझाउँछ । बरु बढेको महङ्गीलाई सन्तुलन गर्न हरेक आर्थिक वर्षमा केही तलब बढिदिए हुन्थ्यो भनेर आश गर्छ । तलब बढे फुरुक्क पर्छ, नबढे खिन्न । भविष्यको लागि बचत, लगानी गर्न सक्दैन शिक्षकले । आफू वा परिवारको सदस्यको अलि महङ्गो स्वास्थ्योपचार, छोराछोरीको विवाह गर्नुपरे सञ्चयकोषमा सञ्चित रकम झिक्न तम्सिहाल्छ ।
फेरि दशैंकै प्रसङ्ग । मासिक तलबले घरखर्च मात्रै धान्दै आएको शिक्षकलाई दशैंमा अलि बढी खर्च गर्नका लागि सुविधा छ । किनकि उसले एक महिनाको तलब बराबरको चाडपर्व खर्च समेत पाउँछ । दशैंको तयारी, परिवारका सदस्यहरुको दशैं विशेष माग र चाहनाहरु अनुसारको सपिङ्ग लिष्ट बनाएर तलब कुरेर बसेको शिक्षक लगत्तै आउने तिहार, देउसेभैलेको लागि लाग्ने अनुमानित रकम छोडेर बाँकी रकमले दशैं धान्नका लागि सपिङ्ग लिष्ट काँटछाँट गर्न थाल्छ । परिवारका सदस्यहरुलाई सम्झाइबुझाइ गर्छ । कति दशैं आकांक्षाहरु अर्को वर्ष पूरा गरिदिने आश्वासन दिन्छ । बजार जाँदा दशैंकै कारण बढेको वा बढाइएको बजार मूल्यले उसको लिष्टलाई अझै दुब्लो, पातलो बनाइदिन्छ ।
संस्कृति, संस्कार, स्वभाव, लत, सङ्गत अनुसार दशैं मनाउने हाम्रा शैली र तरिकाहरु पनि अलग–अलग हुन्छन् । चाडपर्वमा बजारमा मासु र मदिराको अत्यधिक खपत हुन्छ । जुवातासका खालहरु अघिपछि भन्दा बढी नै जम्दछन् । यो संस्कृति नभएर संस्कृतिको वाहनामा निम्त्याइएको विकृति हो । समाजलाई सही बाटो देखाउने दायित्व र कर्तव्य बोकेको शिक्षकले दशैंलाई विकृति रहित ढङ्गले मनाउनुपर्छ । परिवार र समाजमा प्रेम, मिलन, सद्भाव, स्नेह, मेलमिलाप, भाइचारामा वृद्धि गर्नु नै हाम्रा सबै चाडपर्वहरुको मूल उद्देश्य, मर्म र महत्व हो । दैनन्दिन जीवनबाट हुने एकतमास, दिक्दार, तनाव आदि भुलेर आफन्त, इष्टमित्र, छरछिमेकीसँगै रमाइलो गर्ने र आफूलाई नयाँ उर्जा, हौसला, जाँगरले रिचार्ज गर्ने अवसर पनि हुन् हाम्रा चाडपर्वहरु । त्यसकारण दशैं सिद्धिदा पश्चाताप, झगडा, ऋण, तनाव थपिने अवस्था आउन दिनु हुँदैन । शिक्षकको दशैं समाजका अरुहरुले शिक्षा लिने किसिमको होस् भन्नेतर्फ शिक्षक सचेत हुनुपर्छ । आहारविहारमा आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गर्नुपर्छ ।
विद्यालयमा आधा महिना लामो दशैं बिदा दिने प्रचलन छ । दशैं बिदामा विद्यार्थीहरुको पढ्ने बानी नछुटोस् । पढेका पूराना पाठहरुको पूनरावृत्ति होस् र अधिक फुर्सदका कारण गलत क्रियाकलापमा नलागून् भनेर बिदा शुरु हुनु अघि दशैंको लागि गृहकार्य दिने चलन छ । चाडपर्वहरु साना नानीहरुका लागि बढी नै रमाइलो र महत्वपूर्ण हुन्छ भनिन्छ । साना नानीहरुका लागि दशैं होमवर्क दिने शिक्षकका लागि चैं दशैंमा होमवर्क जरुरी छ कि छैन ? पक्कै छ । त्यो होमवर्क अरु कसैले दिने नभएर बिदा शुरु हुनु अघि आफैंले दशैं बिदाको कसरी सदुपयोग गर्ने भनेर बनाउने योजना हो । दशैं बिदाको अवसरमा अध्ययन गरेर सिध्याउनका लागि केही उपयोगी पुस्तकहरुको सूचि तयार गरौं । कम्तिमा पुस्तक साहित्य, समाज, देश र विश्व सम्बन्धी होस् र अर्को चैं शिक्षण सिकाइमा नविन प्रवर्तन र अभ्यासहरु सम्बन्धी होस् । यस बाहेक आफ्नो रुचि अनुसार विभिन्न विधाका पुस्तकहरु छनौट गरी खरिद गर्न सकिन्छ । शिक्षण सिकाइमा प्रविधिको प्रयोग अनिवार्य र अभिन्न बन्न थालेको छ । स्रोत र अवसर मिलाउन सके प्रविधिमा थप पोख्त हुनका लागि विदाका केही दिनहरु छुट्याउन सकिन्छ ।
टीका थाप्न, भेटघाट गर्न र आशिर्वाद लिनकै लागि दशैंमा मानिसहरुको घुमघाम र आवतजावत बढ्ने गर्छ । आफूलाई वा परिवारका सदस्यहरुलाई घुम्न वा पुग्न मन लागेका कतिपय महत्वपूर्ण स्थलहरु घुम्ने अवसरका रुपमा पनि दशैं बिदाको उपयोग गर्न सकिन्छ । यसले महान् पर्वमा पारिवारिक प्रेम, खुशीलाई अझै बढाउँछ । १५ दिनको बिदाका केही दिनहरु क्षमता अनुसार नजिक वा टाढाका केही स्थानहरुको सपरिवार भ्रमण गर्ने योजना उपयुक्त हुन्छ । थुप्रै शिक्षकहरु स्थापित वा उदाउँदा सर्जकहरु समेत छन् । आफ्ना कला, प्रतिभा, सिर्जनाको क्षेत्रमा केही नयाँ र थप काम गर्नका लागि यो विदा र माहौल दुबैले साथ दिएको हुन्छ । लोप हुँदै गएका कतिपय दशैं संस्कृतिहरुको जगेर्ना गर्न समाजमा शिक्षकको भूमिका अपेक्षित हुन्छ ।
विद्यालय, कक्षाकोठा, परिवार, समाजमा आफ्नो व्यवहार, प्रस्तुति, आचरण, प्रभाव, भूमिकाको समिक्षा गर्ने, राम्रा पक्षहरुको प्रवद्र्धन गर्ने योजना बनाउने र कमजोर पक्षहरु सुधार गर्ने संकल्प गर्ने पर्वका रुपमा पनि दशैंलाई लिन सकिन्छ । आफ्नो व्यक्तित्वलाई अझै बढी स्वीकार्य, महत्वपूर्ण र प्रभावशाली कसरी बनाउने भन्नेतर्फ यतिवेला ध्यान पु¥याउन सकिन्छ ।
शिक्षकको दशैं निरस, खल्लो, पट्यारिलो पटक्कै तर धेरै खर्चिलो, भड्किलो र उत्ताउलो पनि हुनुहुन्न । दशैंपछि नयाँ उर्जा र हौसला सहित सामान्य दैनिकीमा फर्किन सक्नुपर्छ । दशैंले कसैलाई ऋण र रोगको भारी नबोकाओस् । सबैमा बडादशैं २०७५ को हार्दिक मङ्गलमय शुभकामना ।
(लेखक नेपाल शिक्षक महासंघ,
अर्जुनधाराका अध्यक्ष हुन् ।)