‘टक् टक् आवाज आउने प्लाष्टिकको बल खेल्थेँ, त्यो फुट्दा प्लाष्टिक नै खाँदेर खेल्थेँ’, नेपाली फुटबलका स्ट्राइकर नवयुग श्रेष्ठले भनिरहँदा काँकरभिट्टा खानेपानीको हल सुनसान बन्यो ।
त्यो समयमा खेलेको प्लाष्टिकको बललाई अहिले कति मिस गर्छन् नवयुगले त्यो भनेनन् । तर, १० रुपैयाँ पर्ने त्यो बल बुवा चन्द्रकृष्ण श्रेष्ठले गाउँदेखि बाहिर जाँदा ल्याइदिने गरेको चाहिँ स्मरण गरे ।
उनी त्यसै नेपाली फुटबलका स्ट्राइकर बनेका होइनन् रहेछ । त्यसभन्दा पहिले उनी नेपाली सेना बनेका थिएछन् । उनले आप्mनो खेल जीवन शब्दमा सुनाइरहँदा हलमा सहभागी छ जिल्लाका करिब ३० जना महिला, पुरुष खेलाडी चाखपूर्वक एकाग्र थिए ।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको फुटबल खेलमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसँग प्रदेश नम्बर १ का जुनियर खेलाडीको अन्तरक्रिया कार्यक्रम झापा जिल्ला खेलकुद विकास समितिले काँकरभिट्टामा बुधबार संयोजन गरेको थियो । कार्यक्रममा फुटबल खेलसँग सम्बन्धित प्रशिक्षकहरु पनि सामेल थिए ।
०६५ सालमा नेपाली सेनामा धनकुटाबाट भर्ती भएका नवयुगलाई उनको खेल जीवन सुनिसकेपछि जिज्ञासु सहभागीले एकपछि अर्को गर्दै प्रश्न राखे ।
शृंखलारुपमा सफलता चुमिरहेका उनलाई सुनसरीका विष्णु पराजुलीको प्रश्न थियो, ‘तपाईको सफलताको आधार के ?’ नवयुगले हसिलो मुद्रामा भने, ‘मेरो मिहेनत ।’ जुनियर खेलाडीलाई प्रोत्साहित गर्दै उनले भने, ‘कोचले हामीलाई २÷३ घण्टा सिकाउँछन्, त्यसलाई ध्यान दिएर सिक्ने अनि बाँकी समयमा आफैँले प्रयास गर्ने हो ।’
नवयुगका बुवा शिक्षक हुन् । उनैबाट फुटबल खेल्न प्रेरित गराएको दोहो¥याएका नवयुगले गाउँका दाजुहरुको बुट बोकेको, लुगा धोइदिएको र झोला बोकेर पछि पछि लागेको पनि स्मरण गरे ।
गाउँको त्रिवेणी क्लबबाट खेल जीवनमा प्रवेश गरेका नवयुगले बी र सी डिभिजन क्लबमा जाँदा ‘बेञ्च’मै बिताएको धेरै क्षण छन् ।
यसअघि उनले गाउँमा पढ्दा स्कुलबाट खेले । उमेर समूहबाट पनि खेले । कुनैमा छनौट भए, कुनैमा भएनन् । ‘मैले हिम्मत हारिनँ’, उनले भने, ‘संघर्ष गर्न छाडिनँ, कहिलेकाहीँ फ्रस्टेड भएँ तर खेल्न छाडिनँ ।’
उनले ए डिभिजनमा पनि डेब्यू गरे विभागीय टिम त्रिभुवन आर्मी क्लबबाट । उनको सौभाग्य थियो, आर्मीका मिडफिल्ड सन्तोष नेपाली मिसनमा जानु । अहिलेका स्ट्राइकर उनी पहिले मिडफिल्ड थिए ।
उनको संघर्ष र मिहेनतका चाङहरु धेरै छन् । बल्ल बल्ल विभागीय टोलीमा परेर राष्टिूय लिग त खेले तर संघर्ष गर्नु अझै बाँकी थियो ।
खेलमा राम्रो प्र्रदर्शन गरेपछि राष्ट्रिय टोलीका लागि बोलाइन्थ्यो । उनी जान्थे तर टोलीको सदस्य बन्न सकेनन् । ‘छ÷सात चोटी बोलाए’, उनले भने, ‘दुःख पनि लाग्यो, ढिलै भए पनि सेलेक्ट भएर छाडेँ ।’
पहिलो खेल खेल्दा कस्तो महसुस गरे होलान् ? झापाका अभिषेक श्रेष्ठको जिज्ञासा मेटाउँदै नवयुगले भने, ‘सपना पूरा भएजस्तो लाग्यो ।’
त्यहीबेला उनले आप्mनो जिम्मेवारी पनि थपिएको अनुभव सुनाए । झापाकै पुजन थापाले गेम हार्दा कस्तो महसुस गर्नुहुन्छ ? भनेर सोधे ।
अपेक्षाविपरीत रिजल्ट आउँदा के खेल्नु फुटबल भनेर सोच्दा रहेछन् नवयुग । फेरि आप्mनो गल्ती सुधारेर खेल्नुपर्छ भन्ने ढाडस आफैँले दिँदा पनि रहेछन् ।
एक जुनियर खेलाडीले नवयुगलाई हार्डवक कि ट्यालेन्टलाई रोज्ने भनेर सोधे । उनले हार्डवक गर्न सुझाव दिँदै हार्डवकले नै ट्यालेन्ट बढाउने बताए ।
परफेक्ट प्लयेर बन्न सबै पोजिसनमा खेल्नुपर्ने बताउँदै खेलमा साथीको गल्तीलाई कभर गरेर खेल्न उनले आप्mनो अनुभव साटे ।
खेलमा लागेर कोही कसैले पछुताउनुपर्ने अवस्था अब नरहेको अभिभावकलाई सम्बोधन गर्दै उनले पढ्दै खेल्न खेलाडीलाई पनि सुझाए ।
आप्mनो खेल जीवन सुनाउने पालो थियो, महिला राष्ट्रिय टोलीकी फरवार्ड अनु लामाको । सशस्त्र प्रहरीको एपीएफ टिम घोषणा हुँदा उनी रौतहटबाट छनौट भएकी थिइन् । उनको खेल जीवनका भोगाइ कम पीडादायी छैन ।
एउटी केटीले फुटबल खेल्न सिक्दा साथीभाइ र छरछिमेकले काट्ने कुराले अनुको घरभित्र पनि तनाव सिर्जना गथ्र्यो रे । ‘तर, आमाले मलाई जहिल्यै साथ दिनुभयो, अरुको कुरा सुन्नु भएन’, यति भनिसक्दा अनु केही भावुक देखिइन् ।
अनुको बुवाले त फुटबल नखेल्न भनेका रहेछन् । तर, ‘फुटबल’ आपूmलाई मनपर्ने खेल भनेर स्पष्ट कुरा राखेपछि उनका बुवाको पनि केही चलेनछ । ‘गाउँलेकै कुरा सुनेर बुवाले राम्रो नमान्नु भएको रहेछ’, उनले भनिन् ।
फुटबल सिक्दा उनले ग्राउण्डको झार उखेल्दा हातमा ठेला उठेको पनि सुनाइन् । जसोतसो ढिलै भए पनि स्कुलबाट पनि खेल्न थालिन् । पछि पढाइमा पनि असर गरेछ । ‘फस्ट हुन्थे पछि सेकेन्ड हुन थालेँ’, उनले भनिन् । तर, फुटबल खेल्न भने छाडिनन् । नियमित टेूनिङले खारिन थालेपछि बागमती क्लबबाट फुटबल खेल्न थालिन् ।
यसैबीच, यु १९ को महिला टिममा छनौट भइन् २०६२ मा । चीनमा भएको एसियन गेममा खेलिन्, धेरै गोलले हार्दा पनि अनु भने खुसी थिइन् ।
‘सिनियर दिदीहरुसँग खेल्न पाउँदा म त खुसी नै थिएँ’, उनले कारण खोलिन् । त्यसपछि उनी एपीएफमा गइन् । साउथ एसियन गेममा २०१० मा फाइनल पुगेर भारतसँग अनुको टिमले हारेको थियो ।
अनुले फुटबलमा करिअर बनाउन पहिले गोलकिपर खेल्ने सोचेकी थिइछन् । तर, उनलाई हेक्का रहेन कि गोलकिपरको कद अग्लो हुनुपर्छ भनेर ।
‘हाइट नभएरै किपर छाडेँ अनि फरवार्ड रोजेँ’, उनले हाँस्दै यसो भनिरहँदा सहभागी गललल हाँसे । महिला फुटबल टोलीको २ वर्षसम्म कप्तान बनेको उनीसँग अनुभव छ ।
छिमेकीले कुरा काटेजस्तै प्रश्न थियो, उदयपुरका अयुव राईको । केटीले खेलेर के हुन्छ भन्ने प्रश्नमा कसरी सामना गर्नुभयो ? गाउँमा भएको घटना फेरि स्मरण गरिन अनुले । अगाडि भनिन्, ‘दायाँबायाँको कुरा सुनिनँ, पछि केही गरेर देखाउँछु भन्ने लागेर आयो ।’ उदयपुरकी तुलसी श्रेष्ठको जिज्ञासा मेटाउँदै अनुले आमाले बाहिरको कुरा सुनेर गाली नगरी हौसला दिएको फेरि दोहो¥याइन् ।
पेनाल्टी मिस गर्दा कस्तो महसुस हुन्छ ? झापाका पुजनले भनिसक्दा अनुले टिमलाई हराएको महसुस हुने गरेको सुनाइन् । तर, आपूmले कहिले पनि पेनाल्टी मिस नगरेको बताइन् ।
झापाकी अमिशा र रितिका चौधरीले राष्ट्रिय खेलाडी बन्न अनि महिला र पुरुष खेलाडीबीच राज्यले गरेको भेदभाव गरेकोबारे प्रश्न गरेका थिए ।
खेलाडीले खेल जीवनबाट पैसाभन्दा पनि इज्जत, सम्मान पाइने नवयुग र अनुले सहभागीलाई सुनाएका थिए ।
मन्त्रालयले खेलाडीको के कस्ता कौशलले पदक जित्न सकिन्छ, पदक विजेता बनिनुअघि के कस्ता संघर्ष र बाधा व्यवधानको सामना गर्नुपर्छ भनेर जुनियर खेलाडीसँग अनुभव साट्न कार्यक्रम आयोजना गरिएको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।
खेलको विकासका लागि जुनियर खेलाडीलाई प्रेरणा मिलोस् भनेर सातै प्रदेशमा विभिन्न खेलको अन्तरक्रिया गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा स्वागत गर्दै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले मन्त्रालयको कार्यक्रम संयोजन गर्न झापालाई जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।
उनले यस्ता कार्यक्रमबाट जुनियर खेलाडीमा उत्साह मिल्दै प्रतिस्पर्धी, योग्य र क्षमतावान नागरिक बनाउन मद्दत मिल्ने बताए ।
१ नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका जुनियर खेलाडी सहभागी कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए भने प्रदेश सांसद श्रीप्रसाद मैनाली प्रमुख अतिथि थिए ।