देशभर मनाइयो चासोक « Yalambar Times
७ आश्विन २०८१, सोमबार

देशभर मनाइयो चासोक


यलम्वर टाइम्स
८ मंसिर २०७५, शनिबार ०६:३२

[लीला राई]

अर्जुनधारा । नेपालको पूर्वी भूभागमा अवस्थित लिम्बू समुदायले शुक्रबार चासोक तङ्नाम (न्वागी पूजा) धुमधामसाथ मनाएका छन् ।

चासोकका दिन चोखोनिधो गर्दै खोला तलाउमा गएर गालीश्राप बगाउनका साथै नयाँ अन्न पूजा गरि चढाउने चलन छ । त्यसपछि पुजारी गुरुबाट होमादी गर्दै आउने दिनमा दुःख, कष्ट आइनपरोस् भनी पूजापाठ गर्दै चासोक तङ्नाम सम्पन्न गर्ने गरिन्छ ।

चासोक पर्वको दिन ईष्टमित्र, कुलकुटुम्बहरुलाई बोलाई मीठो मसिनो खुवाउने चलन छ । पूजा पाठ गरिएको स्थलमा भने ईष्टमित्रहरुलाई बोलाई फलफलेदो र नयाँ परिकारका खाना खुवाइने प्रचलन रही आएको छ ।

यसरी नै किरात याक्थुम चुम्लुङ अर्जुनधाराले पनि नमूना सामुदायिक वन, सालबारीको किरातेश्वर माङ्हिममा चासोक तङ्नाम भव्यताका साथ मनाएको छ । केलाङ, माङ्लाङ नाचसहित पूजापाठ समेत गरिएको थियो ।

पूजापाठपछि चासोक तङ्नामको विषयमा एक अन्तरक्रिया गर्नका साथै आउने दिनमा चासोक तङ्नाम भव्य मनाउने विषयमा छलफल भएको थियो ।

चुम्लुङ अर्जुनधारा अध्यक्ष तिलसिंह माङ्मुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महागुरु फाल्गुनन्दका चेला समाजसेवी बलिराज इङ्नाम रहेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार दिपीन राई, चुम्लुङ झापाका संस्थापक सचिव कृष्णकुमार थेवे, नमूना सामुदायिक वनका अध्यक्ष भानु श्रेष्ठ, किर्तनमण्डलीका गुरु धरणीधर सापकोटा, क्या. कुबीर ध्वोज मावो लगायतले चासोक तङ्नामका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

किरात पुजारी रामकुमार इजमले स्वागत गरेको कार्यक्रममा उभौली पूजापाठ र गालीश्राप बहन कार्यक्रम समेत भएको सचिव भिमकुमारी चेम्जोङले बताइन् । कार्यक्रमको सञ्चालन भने रुपेश नेम्वाङले गरेका थिए ।

कार्यक्रम पश्चात् ईष्टमित्र, पाहुनाहरुलाई प्रसादी खुवाइएको चुम्लुङ प्रेमी पदम तेइङले जानकारी दिए । कार्यक्रममा कालिका बोर्डिङ स्कुलका प्रिन्सिपल मोहन सुब्बा, वडा सदस्य ऐतराज नेम्वाङ लगायतको आतिथ्य रहेको थियो ।