वन हेरालुलाई प्राविधिक तालिम « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

वन हेरालुलाई प्राविधिक तालिम


यलम्वर टाइम्स
१५ मंसिर २०७५, शनिबार ०३:३३

जुकेखाडी । अर्जुनधारा नगर वन महासंघको अगुवाईमा अर्जुनधारा क्षेत्रका ६ वटा सामुदायिक वनका वन हेरालुहरुलाई चोरी तस्करीबाट वनलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा एक दिवसीय प्राविधिक तालिम प्रदान गरिएको छ ।

शुक्रबार जुकेखाडी सामुदायिक वनको कार्यालयमा प्राविधिक ज्ञान प्रदान गर्नका साथै त्यसलाई प्रयोगात्मक गर्न जुकेखाडी वनभित्र लगिएको थियो ।

बढ्दो वन तस्करी र त्यसमा रोकथामका उपाय विषयमा वन हेरालुलाई तालिमसमेत प्रदान गरिएको थियो ।

वन तस्करले अगाडि–अगाडि सुराकी पठाउने बीचमा तस्करहरुलाई सामान बोकाउने भएको हुँदा त्यस्ता तस्करलाई एम्बुसमा पारेर चोरी भएका काठलाई संकलन गर्न सकिने, काठ तस्करहरु र त्यसका सुराकीहरुलाई पक्राउ गरि खान तलासीसँगै महत्वपूर्ण कागजसहित स्पष्ट खुल्ने गरि प्रतिवेदन तयार पार्न समेत हेरालुलाई सिकाइएको थियो ।

सबडिभिजन वन कार्यालय सुरुङ्गाको सुवेदार हरि विकले हेरालुलाई प्राविधिक ज्ञान प्रदान गरेका थिए भने खगेन्द्र तिम्सिना, कुमार सापकोटाले एम्बुसमा पारेर तस्करहरुलाई आफ्नो पक्षमा पार्ने कला प्रदान गरेका थिए ।

जुकेखाडी सामुदायिक वनकोबीचमा आयोजित प्रयोगात्मक तालिममा जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेल, सचिव सरीता भण्डारी, कोषाध्यक्ष लगायत कार्यसमितिका सदस्यहरुको बाक्लो उपस्थिति थियो भने शान्ति सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष रुपनारायण समाल लगायत वन नजिकका छिमेकीहरुको पनि उस्थिति रहेको थियो ।

उद्घाटन सुरुमा अध्यक्ष दिव्य कट्टेल, जुकेखाडी सावका उपाध्यक्ष नारायण पौडेल, हचुमासाका अध्यक्ष युवराज लोहार, हलुवागढका सदस्य डेगेन्द्र आचार्य, वन महासंघका उपाध्यक्ष नन्दलाल खनाल लगायतले शुभकामना मन्तव्य प्रदान गरेका थिए ।

वन महासंघका सचिव बिनिता थापाले सञ्चालन गरेको कार्यक्रममा शान्ति सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष रुपनारायण समालले स्वागत गरेका थिए ।

तालिममा जुकेखाडी, दहिझोडा, शान्ति सामुदायिक वन, हचुमासा सामुदायिक वन, हलुवागढ सामुदायिक वनका ४० भन्दा बढीको सहभागिता रहेको थियो ।

तालिम उपयोगी रहेको उपस्थित हेरालुहरुले प्रतिक्रिया दिएका थिए । दौडिदै हेरालुहरु जंगलतर्फ प्रवेश गरेपछि के भयो, कसो भयो भनी गाउँलेहरुले चासोको रुपमा नियालिरहेका देखिन्थे ।