खाम र दाममै अल्झियो « Yalambar Times
८ मंसिर २०८१, शनिबार

खाम र दाममै अल्झियो


यलम्वर टाइम्स
५ माघ २०७५, शनिबार ०२:४२

झापा जिल्लाको पत्रकारिताको शुरुवात् मैले देख्न पाइनँ । तर सुनेको छु कि यहाँका पहिलो पत्रकार श्यामप्रसाद उपाध्यायले केटो पत्रिकाबाट शुरु गरेका हुन् । उनले शुरुवात् गरेको पत्रकारिता आज झाँगिएर धेरै माथि पुगिसकेको छ । असंख्य पत्रकार महासंघमा आवद्ध, अन्यत्र आवद्ध र स्वतन्त्र समेत जोड्ने हो भने आफूलाई पत्रकार भन्नेको संख्या हजार नाघिसक्यो होला । तर पत्रकारिताको पहिचान बोकी कलम र आवाज मात्र चलाएर खानेको संख्या भने दश प्रतिशत पनि नहुनसक्छ ।

मैले थाह पाउँदाको अवस्थामा पनि झापाली पत्रकारिता विशेषतः शिक्षण पेशासँग आवद्ध अग्रजहरुले थामिदिनु भएको थियो । अन्यत्रबाट भएको आम्दानीलाई उहाँहरु यस क्षेत्रमा ल्याएर खर्च गरेर झापाली पत्रकारिता जोगाएको इतिहास छर्लङ्ग छ । शिक्षकहरु भाषा जान्ने, बौद्धिक र लेखनशिल्पी भएकाले यस क्षेत्रलाई उहाँहरुले अंगाल्नु भएको हुनसक्छ । त्यतिखेर पत्रकारिता गर्नेहरुलाई हेर्ने हो भने पत्रकारिता नितान्त सेवामूलक थियो । अर्थात् आफ्नो गोजीको पैसा खर्च गरेर अरुलाई सुसूचित गर्नु ।

बिस्तारै बौद्धिकता बोकेका तर कतै कुनै पैसा नभएकाहरु समेत पत्रकारितातिर आकर्षित हुन थाले । ०४६ सालपछि प्रजातन्त्रले स्वतन्त्र पत्रकारिताको नीति अवलम्वन गरेपछि संचारगृहहरु धमाधम खुल्न थाले । जसले गर्दा यस क्षेत्रसँग नजिक हुन चाहानेहरुलाई अवसर जुर्न थाल्यो । अवसर त जु¥यो, तर विज्ञापनले चल्नु पर्ने संचारगृहहरुले आवश्यक मात्रामा स्रोतहरु पाउन भने सकेनन् । त्यसो हुनुको मूख्य कारण भनेको हाम्रो ग्रामीण परिवेश, आवश्यक मात्रामा टूेडहरु नहुनु, व्यावसायिकताको लागि विज्ञापन आवश्यक छ भन्ने बुझाइको कमी हुनु, अर्थात् पर्याप्त बजार नहुनु नै थियो ।

झापा जिल्लामा पनि पत्रकारहरुको संख्या बढ्यो । हरेक मान्छेलाई आफ्ना सूचनाहरु, समस्याहरु र आफ्नो नाम मिडियाहरुमा आउन् भन्ने चेतना बढ्यो । पत्रकारको आवश्यकता सबैले महसुस गरेर बोलाउन थाले । पत्रकार भएपछि जानै पर्छ भने जस्तो चेतना विकास हुन थाल्यो । आफ्नै खर्चमा पत्रकारहरु पुगिदिनु पर्ने, उर्जाशील समय खर्च गरिदिनु पर्ने, अनि आफ्नै खर्च लगाएर संचारगृहसम्म समाचार पठाउनु पर्ने, त्यति गरेर समाचार छापियो भने प्रतिफलको रुपमा आफू खुशी मात्र हुनुपर्ने, छाापिएन भने उल्टै अपजस पाइने । पत्रकारिता गर्नेहरुले पनि खानु पर्छ, उसका पनि परिवार हुन्छन्, उसकामा पनि पाहुना आउँछन्, उनीहरु पनि थाक्छन्, विरामी हुन्छन् भन्ने कुराको विकास हुन सकिरहेको थिएन । त्यो बुझेपछि विर्तामोडको डेनियल होटलमा नेपाल प्रेस युनियन,झापाले एउटा कार्यक्रमको आयोजना ग¥यो । त्यो कार्यक्रम समापन भएपछि कृष्ण धराबासीले सबैलाई एउटा(एउटा खाम वितरण गर्दै त्यसको औचित्य प्रष्ट्याउनु भयो । उहाँले त्यतिखेर खामभित्र नगद राखिएको छ, त्यो खाम तपाईहरुको समय हरण गरिदिएकोले प्रदान गरिएको हो भन्नु भयो । त्यस कार्यक्रममा जिल्ला प्रशासनदेखि लिएर ठूलै ओहोदाका व्यक्तिहरु उपस्थित थिए । उहाँले त्यतिखेर ‘अबदेखि उप्रान्त पत्रकारहरुलाई उसको समय लिए वापत पारिश्रमिक दिनुपर्छ’ भनेर घोषणा गर्नुभयो । त्यसपछि झापा जिल्लामा कुनै पत्रकारहरुलाई आफ्नो अनुकूल कार्यक्रममा बोलाउँदा आवात्जावत् भाडा वा तेलखर्च वापत भनेर नगद दिने परिपाटीको सुरुवात् भयो ।

मैले यो प्रसङ्ग जोडेको नेपाल पत्रकार महासंघ, झापाले केही समयअघि गरेको ‘खाम लिन–दिन नहुने’ भन्ने निर्णयका लागि हो ।

नेपाल पत्रकार महासंघ, झापासँग आवद्ध सदस्य संख्या तीन सय माथि छ । ती सबै सदस्यहरु सक्रिय पत्रकारिता पेशामा आवद्ध छन् ? वा, उनीहरुको जीविकोपार्जन के के गरेर चलेको छ ? त्यसको खोजी कहिल्यै महासंघले गरेको छ ? यो प्रश्न मेरो मनमा उब्जिन्छ ।

विशेषतः नेपाल पत्रकार महासंघ भनेको पत्रकारहरुको छाता संगठन नभएर दलहरुसँग आवद्ध पत्रकारहरुको चुनाव लड्ने संसद जस्तै मात्र हो भन्ने मेरो बुझाइ छ । आफ्ना पार्टीकाहरुले चुनाव जित्नु पर्ने भएकाले बहुदलीय सिद्धान्त अनुसार अधिक भन्दा अधिक सदस्यहरु सिर्जना गर्नुपर्ने भयो ।

जसको लागि राम्रोसँग कलम समाउन नसक्ने, अगाडि उभिएको मान्छेलाई राम्रोसँग सम्वोधन गर्न नसक्नेहरुलाई समेत सदस्यता वितरण गर्नुपर्ने वाध्यता बन्यो । त्यसका लागि दलीय पत्रकार संगठनहरुले अधिकभन्दा अधिकलाई आफ्नो सदस्यता वितरण गर्दै महासंघको सदस्यता पनि प्रदान गरियो । त्यो गर्नु भनेको उसको पत्रकारितालाई निखार्नका लागि नभएर हरेक चुनावमा संगठनले जित्नका लागि मात्र थियो ।

पत्रकारितामा लागेको जस्तो भएर सदस्यता लिनेहरु धेरैले पेशा परिवर्तन गरे । कोही वैदेशिक रोजगारमा गए । कोही पलायन भए । तर सदस्यता जस्ताको तस्तै रह्यो । किनकि अधिवेशनमा त्यो मत आवश्यक पर्छ ।

यसै बीचमा महासंघको केन्द्रबाट पनि एउटा प्रसङ्ग जोडदारसँग उठ्न थाल्यो । त्यो हो( व्यावसायिक पत्रकारिता । धेरै साथीहरुसँग मेरो विवाद चल्यो । मेरो तर्क छ( पत्रकारिता र राजनीति यी दुबै कुरा व्यावसायिक हुन सक्दैनन् । तर महासंघकै नेतृत्व गर्नेहरुको तर्क छ( पत्रकारिता व्यावसायिक नभइकन फष्टाउन सक्दैन ।

एक दिन पत्रकार भानुभक्त आचार्यले विर्तामोडको डेनियलमा भएको एउटा कार्यक्रममा भने( ‘क्यानडामा पत्रकारहरुको संगठन छ, तर आफ्नो भवन छैन । उनीहरु कसैबाट पनि पैसा लिंदैनन्, त्यसैले पत्रकारसँग सरकार पनि तर्सिन्छ । त्यत्रो ठूलो राज्यमा तीन सय पनि पत्रकार छैनन् ।’

त्यो सुनेपछि मलाई लाग्यो, हाम्रो त झापामा नै हजार बढी पत्रकार छन् । हाम्रा संगठनका नेताहरु त सबैसँग पैसा माग्छन् । घर बनाउन मात्र होइन, अधिवेशन गर्नुपर्ने भयो भने नून र रक्सी खाने पैसा समेत जोड्छन् । उनका कुराले सुनेपछि मलाई लाग्यो, मेरो तर्क ठीक रहेछ ।

व्यावसाय भनेपछि त्यसको अर्थ आम्दानीसँग जोडिन्छ, नाफा(घाटासँग जोडिन्छ । यदि पत्रकारिता व्यावसायिक हो भने उसलाई रकम बुझ्न दिनुपर्छ । यदि सेवामूलक हो भने पैसा नलेऊ भन्नु पर्छ । व्यावसायिक पत्रकारिता गरेको हो भने उसले आफूले लेखेको, समय दिएको वा बौद्धिकता खर्च गरे वापत पैसा माग्छ भने के गलत ग¥यो ? मेरो प्रश्न छ । यतिखेर आएर कुनै कार्यक्रममा सहभागी भए वापत् खाम लिन नहुने भनेर महासंघले उर्दी जारी ग¥यो । उसले जारी गरेको उर्दीमा खाम नलिनु भनेको छ, रकम नलिनु भनेको छैन । भाषागत रुपमा बडो अप्ठ्यारो बनाएको छ । त्यसो किन गरेको भन्ने तर्कमा नेतृत्वको उत्तर छ– मिडिया हाउसहरुलाई दह्रो बनायो भने मिडियाकर्मीहरु पनि दह्रो हुन्छन् ।

यो तर्क ठीक छ । तर मिडिया हाउस भनेका चाहिं कुन(कुन र कति छन् ? भन्ने प्रश्न उब्जिन्छ । अहिले झापामा हेर्ने हो भने नेतृत्व गर्ने पत्रकारहरु सबैले व्यक्तिगत अनलाइनहरु चलाएका छन् । अर्थात् अबको केही समयपछि एक पत्रकार, एक मिडिया हाउस हुने सम्भावना देखिएको छ । त्यसले के बुझिन्छ भने मिडिया हाउसका नाममा अन्य पत्रकारहरुको श्रम शोषण गरेर अनलाइन चलाउने पत्रकार ढाडिनका लागि पो त्यसो गरेको हो कि भन्ने लाग्छ । एउटाले श्रम, समय र चेतना खर्च गरिदिनु पर्ने अनि अर्कैले त्यसको उपलब्धि लिने । मिडिया हाउसलाई दह्रो बनाउने मालिक पत्रकाहरुले सम्पत्ति जोड्ने बाटो निर्माणका लागि गरेको निर्णय पो रहेछ त्यो । आफ्नो श्रमको मूल्य लिने धुनमा झापाली केही पत्रकारहरुले अलिक बढी सीमा नाघेका पनि छन् । जस्तो कि चाउचाउ वा अस्पतालले आफ्नो प्रचारका लागि पत्रकार बोलाउँदा खर्च लिनु त ठीक, कहिले काही ‘बचाऊ अभियान’मा समेत पुगेर रकम बुझ्ने गरेको भेटिन्छ । कसैले त समाचारका लागि पनि पैसा मागेको पनि भेटिएको छ ।

श्रम र समय कसैलाई दिए वापत मूल्य लिन पाइन्छ । तर त्यो मूल्य लिइरहँदा आफ्ना मूल्य(मान्यताहरुलाई धरौटी भने राख्नु हुँदैन कुनै पत्रकारहरुले । संसारका विकसित मुलुकहरुमा समेत पैसा नलिइकन कसैले आफ्नो एक मिनेट समय पनि कसैलाई दिंदैनन् । हाम्रोमा मात्र किन निःशुल्क लेख्नु पर्ने ? समाचार लेखनकै लागि कसैसँग रकम माग्नु हुँदैन । तर कसैले आफ्नो समाचार आओस् भन्ने ठानेर कसैलाई रकम प्रदान गर्छ भने त्यो त्याग्नु पनि हुँदैन । संचार गृहहरुलाई कस्ता समाचार संचार गर्ने, कस्ता नगर्ने भन्ने स्वतन्त्रता पनि छ । यदि गलत किसिमका समाचारहरु आएका छन् भने सम्पादकले नै त्यसलाई रोक्नु पर्छ । यी जे(जे कुरा भए पनि नेपाल पत्रकार महासंघ, झापाले गरेको निर्णयको विषयमा बहस हुन जरुरी छ । आफूलाई नेतृत्वदायी भूमिकामा राखेर नगरपालिका, सरकारी संस्था, व्यावसायिक घरानाहरुसँग ठूला रकमहरुको मोलमोलाइ गरेर एउटा समाचारका लागि दिन खर्चिने समाचारदातालाई अचानो बनाउनु हुँदैन । आफूलाई अग्रपंक्तिको पत्रकार ठान्नेहरु माथि छानविन गर्ने र गोप्य उजुरी माग्ने हो भने पत्रकारितामा झापा जिल्ला गन्हाएर बसिनसक्नु हुन्छ । पहिला आफूलाई सुद्धिकरण प्रक्रियाभित्र हालेर मात्र श्रमजीविहरुमाथि आक्रमण गर्न महासंघलाई म अनुरोध गर्दछु ।

त्यसका लागि धेरै काम गर्नुपर्छ भन्ने छैन, आगामी अधिवेशन र साधारणसभाहरु नेपाल पत्रकार महासंघले कसैसँग चन्दा र सहयोग नमागी सम्पन्न गरेर यसको थालनी गरोस् । मिडिया हाउस चलाउने पत्रकार पनि र मालिक पनि हुने दुई चरित्रकाहरुले पैसावाला देख्ने बित्तिकै मानसिक दवाव दिन छाडुन्, यसको पनि सुरुवात् होस् । चुनाव जित्नकै लागि अनावश्यक व्यक्तिहरुको झुण्ड नबडोस् । नेतृत्वमा बस्नेहरुले यी कुराहरुको थालनी गर्न थालेपछि सबैलाईलाई न्याय मिल्छ । चाँडै मिलोस् पनि, कामना छ ।
यो लेखकको निजी विचार हो ।